एक आमाको रोदनः ‘न्याय नपाए म मर्न तयार छु’

असोज ५, काठमाडौं । गत असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको हत्या गरिएको घट्नालाई लिएर उनको परिवारले दोषीलाई कारवाहीको माग गदै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेका छन् । सही छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुत हुने पीडित पक्षको चेतावनी छ ।   

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले यस्तो माग गरेको हो । मृतकका भाई हरिकृष्ण पौडेलले आफ्नो दाईको हत्या भएको तीन महिना बितिसक्दापनि राष्ट्रिय मानव अधिकार आयोगले घट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेकोमा गुनासो पोखे ।   

उनले आफ्ना दाई कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्वासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पको लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आरोप लगाए । उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटला गरेको र सुकुम्बासीको जग्गामा कम्यसनिष्ट पार्टीहरु मिलेर २१ करोडको जग्गा अतिक्रमण गरी कब्जा गरेको सुनाए ।   

आफ्नो दाईलाई मार्नको लागि बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, श्याम परदेशी र सागरनाथ वन परियोजनाको मिलेमतो रहेको उनले दाबी गरे । दाईको हत्या गर्नको लागि उनीहरुले १० करोड खर्च गरेको पनि पौडेलको आरोप छ । दाईलाई हत्या गरेर मार्नुपर्छ भनेर सरकारसामू डेलिगेशन आउनेमा भरतकुमार थापा, श्याम परदेशी, सागरनाथ परियोजनाका प्रतिनिधि, प्रदेश सांसद डिल्ली उप्रेती, बसन्तराज भट्टराई, कमल बुढाथोकी र ढाचा वाग्ले रहेको पनि उनको दाबी थियो ।   

उनले आफ्नो दाईको दोहोरो भिडन्तमा नभई सरकारले खासगरी गृह मन्त्रालयले सुनियोजित ढंगले हत्या गरेको आरोप लगाए । उनले भने, ‘यदि दोहोरो भिडन्तमा मारिएको थियो भने मेरो दाईको शरिरमा गोली लागेको हुनुपर्नेथियो, तर उहाँले लगाएको वस्त्रमा गोली लागेको थिएन । नांगो शरिरमा गोली ढोकेर पछि टिसर्ट लगाईएको थियो ।’ त्यस्तै, उनले दाईलाई हत्या गरेको हो भन्ने कुराको अर्को प्रमाण सुताएर पैतालाबाट गोली हानी घुँडाबाट निकालिएको पनि सुनाए ।   

उनले भने, ‘हामीलाई दाईको लास जवरजस्ती जिम्मा लगाइयो, राष्ट्रिय मानव अधिकार आयोगले कुनै पनि न्याय दिलाउन सकेन, न्याय माग्न आयोगको ढोकामा जाँदा अपमानित भयौँ ।’   

आफूहरुलाई न्याय दिन नसक्नुमा वर्तमान सरकार गृह मन्त्रालय नै बढि जिम्मेवारी रहेको सुनाउँदै उनले भने, ‘यदि छानविन गर्न सक्दैन भने किन जिम्मेवारी लिन्छ ? गृहमन्त्री राम बहादुर थापा (बादल), आइजीपी, सिडिओ, एसपी, बागमती नगरपालिकका मेयर भरत बहादुर थापा, प्रदेश सांसद दिल्ली उप्रेती, सागरनाथ वन परियोजना, वसन्त भट्टराई, कमल बुढाथोकी, दाताराम वाग्ले र श्याम परदेशीलाई कारवाही गर्नुपर्छ ।’ 

कार्यक्रममा मृतककी श्रीमती कला पौडेलले सरकारले आफ्नो श्रीमान्को हत्यालाई दोहोरो भीडन्त भनेपनि वास्तवमा त्यो दोहोरो भिडन्त नभएर गैरन्यायिक हत्या भएको दाबी गरिन् । उनले आफ्नो श्रीमानलाई इन्काउन्टरमा नभएर कुटपिट तथा शरीर थिलथिलो बनाएर नियन्त्रित बनाई हत्या गरेको बताइन् ।   

कार्यक्रममा मृतककी आमा दुर्गादेवी पौडेलले रुदैँ भनिन्– ‘तीन छोरी पछिको एक मात्र छोरा थियो त्यसलाई पनि सरकारले योजनाका साथ मारिदियो मेरो बाँच्ने साहारा खोस्यो ।’ छोराको हत्या भएको समयमा १३ हजार मलामी देख्दा मेरो एक मात्र छोरा होइन रहेछ, मेरा छोराहरु त धेरै रहेछन् जस्तो लागेको थियो किनकी त्यत्तिबेला सबैले हत्यारा पत्ता लगाउन हामी सहयोग गछौँ भनेर आशा देखाएका थिए । तर, आज ती कुनैपनि छोराहरुले मलाई यो न्यायको लडाइमा साथ दिन आएनन् ।’ 

छोराको हत्या भपछि सयौँ पत्रकार र मानवअधिकार पुगेको सुनाउँदै उनले तर आज यतिका दिनसम्मपनि न्याय नपाएकोमा गुनासो पोखिन् । उनले भनिन्, ‘म ७० वर्षको बृद्ध कहाँ जाऔँ ? को सँग न्याय मागौँ ? आज म न्यायका लागि न्यायको भीख माग्दै यहाँसम्म आएको छु । मलाई न्याय चाहियो ।’ उनले न्याय नपाए आफू राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा गएर मर्न तयार भएको जनाइन् ।   

उनले रुँदै भनिन्–‘१५ बर्षको नातीले एसएसपीलाई मेरो बाबालाई पैसा खाएर मार्यौ यदि मेरो बाबाको हत्यारा पत्ता नलगाए र हामीलाई न्याय नदिए मेरो कलम समाउने हातले बन्दुक समाउने छ भन्छ, त्यो बालकले यस्तो भन्दा बालकको मस्तिष्कमा समेत यस्तो छाप बसेको हुँदा न्यायका लागि सम्पूर्ण मिडियाकर्मी संघसस्थालाई समेत सहयोग गरिदिन आग्रह गर्छु ।’   

कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले लोकतन्त्र र गणतन्त्रको व्यवस्था गरेपनि संविधानलाई ध्वस्त पारेको आरोप लगाए । उनले सरकारले नागरिकको हत्या गदै गएको गम्भिर आरोप लगाए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *