कांग्रेसका भातृ संगठनमा रुवावासी, भन्छन्–‘देउवाको घर घेर्छौं, राजीनामा दिन बाध्य बनाउँछाै’

भाद्र २४, काठमाडौं । लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान सुरु गरिरहँदा उसका भातृ संस्थाहरु आफ्नै पार्टीभित्र लोकतन्त्र खोजिरहेका छन् । उनीहरु न पार्टी नेतृत्वबाट सन्तुष्ट छन्, न जागरण अभियानबाट । उनीहरु माउ पार्टीले थिचोमिचो गरेको, बेवास्ता गरेको, निष्कृय पारेको निष्कर्षमा पुगिसकेका छन् ।   

नेपाली राजनीतिमा लामो इतिहास बोकेको, लोकतन्त्रका लागि संघर्ष गरेको, मुलुकको जेठो पार्टी नेपाली कांग्रेसले भातृ संस्थालाई कोमामा पुर्याएको भन्दै आज महाधिवेशनका पक्षधर विद्यार्थीहरु हारगुहार गर्न बाध्य भएका छन् ।   

हुन त पहिलो चरणको जागरण अभियानका क्रममा भातृ संस्थाका सबै विद्यार्थीहरु एकजुट भएकै हुन् । सबै मिलेर गाउँगाउँ, जिल्ला जिल्लामा गइ आफ्ना पार्टीको बढाइँचढाइँका बिगुल फुकेकै हुन् । यति हुँदाहुँदै पनि पार्टीले आफ्नो नर्सरीलाई जोगाउन र बढाउन सकेको देखिँदैन ।   

समयमै महाधिवेशन हुन नसक्दा पार्टी तथा भातृ संस्थाका सबै नेता कार्यकर्ता सभापति देउवामाथि खनिन थालेका छन् । सभापतिको चालढाल त्यति चित्त बुझ्दो छैन उनीहरुका लागि । विद्यार्थीहरु आक्रोशित छन् । अझ आफ्नो संगठनले पूर्णता नपाउँदा उनीहरुमा बेचैनी बढेको छ । आफ्नै पार्टीको कार्यशैलीप्रति निराश छन् ।   

भातृ संस्थाहरुलाई असरल्ल पारेर कसरी पार्टी सुदृढीकरण हुन्छ ? भन्ने उनीहरुको प्रश्न छ । समयमै महाधिवेशन नहुँदा नेतृत्व समक्ष प्रश्न हुनु पनि स्वभाविक हो । भातृ संस्था भनेका कांग्रेसका हाँगाविगा, जरा हुन् । त्यो नै निष्क्रिय भयो भने कांग्रेस कसरी बलियो हुन्छ त ?   

जागरण अभियान भन्दा पहिला पदाधिकारीविहिन रहेका नेविसंघ, तरुण दल, लगायतका भातृ संस्थाहरुमा पदपूर्ति गरी अघि बढे मात्रै कांग्रेस अघि बढ्ने देखिन्छ । यी यावत् विषयमा कांग्रेसको भातृ संगठन नेविसंघका महाधिवेशन पक्षधरहरुले कडा प्रतिक्रिया दिएका छन् । 

नेपाली कांग्रेस नाजुक अवस्थामा पुगेको छः मोतीलाल भण्डारी, पूर्व केन्द्रिय सदस्य, नेविसंघ  

नेपाली कांग्रेसका खाली रहेका भातृ संस्थाहरु पुरा गरेर मात्रै जागरण अभियानमा जानको लागि हामीले पटक पटक पार्टी सभापतिसँग आग्रह गरेका थियौँ । तर, उहाँले हाम्रो आग्रहलाई स्वीकार्नु भएन । यसैकारण हामी आफ्नै पार्टीको जागरण अभियानको विरोध गर्न बाध्य भएका छौँ । भातृ संस्थालाई असरल्ल छोडेर जागरण अभियान गर्नुको औचित्य के छ ?   

कांग्रेस जस्तो गौरवमय पार्टी हाँक्ने नेताहरुले पार्टीलाई अघि बढाउन ठोस कार्यदिशा नबनाएसम्म पार्टी बलियो हुँदैन । पार्टी झन् झन् कमजोर बन्दैछ । त्यसैले हामी घच्घच्याउन आएका छौँ ।   

गणतन्त्र स्थापनादेखि संविधान निर्माणसम्म लिएर नेपाली कांग्रेसकै नेतृत्वमा नेपाली कांग्रेसले जनताका मुद्दाहरु उठाउने, जनजिविकाको सरोकारको विषयमा बोल्ने गर्दै आएको थियो । तर अहिले त्यो कार्य ठप्प भएको छ । गतिहिन भएको छ । यसले भोलिका दिनमा नेपाली कांग्रेस पूर्व राप्रपा जस्तो बन्ने होइन भन्ने पनि शंका उब्जाएको छ । नेपाली कांग्रेस सुधार नभइकन मुलुक सुधार हुँदैन भन्ने कुरा हाम्रो निष्कर्ष हो । 

आज केपी ओली सरकारले एकपछि अर्को गरी अनेक जनविरोधी कदमहरु चालेर कम्युनिष्ट पार्टीको अधिनमा देशलाई व्यापार गर्ने थलो बनाउन खोज्दैछ । यस विषयमा कांग्रेस किन जाग्न सक्दैन ? किन बोल्न सक्दैन ? कतै कमिसनको चक्करमा कांग्रेसको नेतृत्व पनि समाहित भएको त छैन ? भन्ने पनि आशंका उब्जिएको अवस्था छ ।   

नाटकिय ढंगबाट जागरण अभियान गर्न खोजिएको छ । मुल नेतृत्वले भातृ संगठनहरुलाई अस्तव्यस्त बनाएर, लथालिंग बनाएर नेपाली कांग्रेस बलियो हुन सक्दैन भन्ने कुरा बुझ्न सकिरहेको छैन । लाखौँ विद्यार्थीहरुमाथि नयाँ अभियान चलाएर नेपाली कांग्रेसमा आकर्षण बढाउनुपर्ने अवस्थामा नेविसंघलाई विघटनको संघारमा पुर्याइएको छ । अधिवेशन मार्फत् नेतृत्व हस्तान्तरण गर्ने परिपाटीको अन्त्य भएको छ । 

तरुण दल ४ जनाको भरमा सिमित छ । महिला संघको अधिवेशन गर्ने बेला भएको छ । अन्य भातृ संगठनहरु ८–१० वर्ष अघिदेखि अधिवेशन नभएर कोमामा गएका छन् । नेपाली कांग्रेस नाजुक अवस्थामा पुगेको छ । विधानअनुसार फागुनमा पार्टीको महाधिवेशन हुनुपथ्र्यो । तर यो पनि भएन । छलछाम गरी टारीयो । कतै केपी शर्मा ओलीसँग मिलेर पार्टीको मुल नेतृत्वले फेरी महाधिवेशन २–३ वर्ष सार्ने त होइन ? हामी शसंकित छौँ ।   

जागरण अभियान औचित्यहिन छः लोकेन्द्र शाही, निवर्तमान केन्द्रिय सदस्य, नेविसंघ   

आजबाट नेपाली कांग्रेसको दोस्रो चरणको जागरण अभियान सुरु भएको छ । यो जागरण अभियान औचित्यहिन छ । धेरै भातृ संस्थाहरुको म्याद सकिएका छन् । आफ्नो भातृ संस्थालाई शसक्त बनाउन नसक्ने कांग्रेसको के उपलब्धि होला ? म नेपाली कांग्रेसका केन्द्रिय नेताहरुलाई भन्न चाहन्छु, तपाईँहरुले छिटोभन्दा छिटो भातृ संस्थाहरुलाई पूर्णता दिनुस् । भातृ संस्थालाई पूर्णता दिनुभयो भने मात्रै जागरणको अर्थ हुन्छ । पहिले आफ्नो पार्टीभित्रको भातृ संस्थालाई सुधार्नुस् ।   

आज जागरण अभियानका प्रतिनिधिका नाममा आफ्नो चुनाव क्षेत्रमा लज्जास्पद हार व्यहोरेका नेताहरुलाई पठाइएको छ । जो आफ्नो चुनाव क्षेत्रमा आफ्नो हैसियत बनाउन सकेका छैनन् । अत्याधिक मतले चुनाव हारेका छन् । तीनीहरुलाई नै अर्को जिल्लामा केन्द्रिय प्रतिनिधिको रुपमा पठाइएको छ । यसले नेपाली कांग्रेसलाई फाइदा गर्छ ? ठुलाठुला नेताहरुले आफ्ना स्वार्थका लागि मात्रै जागरण अभियान गरेको महसुस भएको छ ।   

जागरण अभियानको नौटंकीः प्रेमिका रानामगर, निवर्तमान केन्द्रिय सदस्य, नेविसंघ 

वास्तवमै आज नेपाली कांग्रेस पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, गाउँगाउँसम्म पुगेर जागरण अभियानको नौटंकी रचिरहेको छ । पार्टीकै भातृसंस्थाले जागरण अभियानको विरोध गर्नुपरेको छ । नेपाली कांग्रेसले आज भातृ संस्थालाई बिर्सिएको अवस्था छ ।   

आज नेपाली कांग्रेस जुन अवस्थामा छ, नेपाली कांग्रेसका भातृ संगठन चलायमान नभएको कारणले गर्दा आज नेपाली कांग्रेसले सडकसम्म आवाज उठाउन सकिरहेको छैन । किन यो अवस्था आयो ? यो पार्टी नेतृत्वले बुझ्नु जरुरी छ ।   

सभापतिज्यू, तपाईँको घर घेर्नेवाला छौँः शिव रिमाल, निवर्तमान कोषाध्यक्ष, नेविसंघ   

गौरवशाली इतिहास बोकेको, यो देशको हरेक परिवर्तनको संवाहक नेपाली कांग्रेसभित्र हामी भातृ संस्थाले लोकतन्त्र खोज्नु परेको छ । यसरी भातृ संस्थालाई कोमामा पुर्याउने नेतृत्वलाई हामी देशभरीका लाखौँ विद्यार्थीले छोड्ने वाला छैनौँ । सभापतिज्यू, तपाईँको घर घेर्नेवाला छौँ । हामी गरेर देखाउनेछौँ ।   

अब पनि हाम्रा कुरालाई पार्टी नेतृत्वले टेर्दैन भने देशभरका लाखौँ विद्यार्थी विद्यार्थीहरु एकजुट भएर खाली रहेको नेविसंघलाई हामी आफैँ गठन गर्नेछौँ । यो हाम्रो अन्तिम लडाईँ हो । र तपाईँ सभापतिलाई पार्टीबाट, पार्टीको नेतृत्वबाट राजीनामा गर्न बाध्य बनाउँछौँ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *