नाफामा पाएको जिन्दगी सम्झँदै राधा भन्छिन्–‘मृत्युसँग हारेको मानसिकता सार्है विघटनकारी हुँदोरहेछ’
प्रिय पाठकहरु !
यो पत्र पढेपछि तपाईहरुको मनको तलाउमा पनि ज्वारभाटा उठ्ने छ । भावनाका उत्ताल छालहरू छचल्किने छन् । शब्दमा भए पनि आज म तपाईहरुसँग बेस्सरी पोखिन चाहन्छु । म चाहन्छु, मेरा शब्दहरूले झन् सकस नथपोस् । तपाइहरुका लागि मेरा शब्दहरू आगोका झिल्का नबनून्, शीतका शीतल थोपा बनून् !
मैले यहाँ राजनीतिको कुरा गर्न लागेकी होइन । आज कुरा गर्न लागेकी आफुले जिवन जिउने क्रममा छिचोलेका कुइनाटा र घुम्तिहरुमा मृत्युमाथि कसरी विजय प्राप्त गरेकी हुँ भनेर ।
लाग्थ्यो, मृत्युलाई जितेपछि सबै कुरा जितिन्छ, तर सत्य चाँहि यति मात्रै होइन रहेछ ! हुन त चाणक्यले भन्छ, आयु, भाग्य, सम्पत्ति, विध्या र मृत्यु यी पाँच कुरा मानिस गर्भमा रहँदा नै र्निधारण गरिएका हुन्छन् । जन्मेपछि जतिसुकै बल गरे पनि यी कुरा पाइँदैनन् ।
कुरा सुरूवात गर्छु है त ।
पाँचौ महिना अर्थात भदौ २२ गते परेको रहेछ म जन्मदा परेको दिन । जुन दिन हिन्दु नारीहरुले तिजको वर्त बसेर आफ्नो सौभाग्य एवं दिघार्युको कामना गर्ने दिन थियो । त्यहि दिनमा त्यहि सौभाग्यवति पत्नि अर्थात मेरि आमा हेमादेवि पोखरेल र आमाले जस्को लागि ब्रत बस्ने गर्नुहुन्थ्यो अर्थात मेरो पीता भवनाथ पोखरेलको पाँचौ सन्तानको रुपमा मैले यस धर्तिमा पर्दापण गरेकि रहेछु । परिवारकी कान्छी सदस्य मेरो नाम जुरेछ
‘राधा’
घरमा स्यानी भएकोले सवैको लाडप्यारमा हुर्कदै गरेकि म हजुरीको निधन हुँदा सार्है रोएको थिए रे, सँगै जान्छु नि भनेर ढिपी पनि गरेको थिए रे । मेरो बाबा र काकाहरु सँग रुष्ट पनि थिएँ ! नजलाइदिएको भए मेरो हजुरी बिउँझिनु पो हुन्थ्यो कि भनेर १
आफुलाई असाध्यै माया गर्ने हजुरी बित्नु भएपछि म पनि बिरामी बन्न पुगेछु । र, थला नै परेपछी सामाजिक रुढिवादी परम्परा र अन्धविश्वासका कारण सातो गएको हो भनि झारफुक गर्ने तिर सबै जना सहमत हुनुभएछ ! त्यहि झारफुकले पनि निको भए जस्तो भएछ क्यारे त्यत्तिकैमा ठिक भएछ मेरो रोग ।
त्यसपछि मलाई नजिकैको स्कुलमा भर्ना गरियो । र, मन लगाएर पढ्न लागे । अरुलाई प्रथम हुने अवसर नै नदिइ अबल विद्यार्थी भई गुरु र गुरुमाहरुको प्रिय बन्दै थिए ।
यसै दौरानमा फेरी मलाई उहि पुरानै रोगले च्यापेछ ।
त्यसपछि बाबाले मलाई स्वास्थ केन्द्रमा लगेर जचाउनु भयो । त्यहाँ स्वास्थ्य केन्द्रका डाक्टरले के के भने मलाई त्यो त सम्झना छैन तर ५ वटा इन्जेक्सन लाउन खोज्दा मैले सहन नसके पछि २ वटा लाएर छाडिदिए । त्यसले २ वर्ष सम्म त काम गर्यो त्यसपछि रोग फेरी बल्झियो । रोग बल्झिए पछि आमाले मलाई रातभर नसुती मेरो हेरचाह गरेको याद छ मलाई र बाबाले उपचारको लागि कैयौं ठाँउ दौडाउनु भएको पनि थाहा छ मलाई ।
साच्चै नै आफ्नो सन्तानको पिडामा आमा बाबा कति चिन्तित हुँदा रहेछन कति कष्ट झेलेर पनि सन्तानलाई सुखी पार्न अग्रसर बन्दारहेछन मैले त्यसैवेला देखि थाहा पाए कि यदि जन्माउनु मात्र आफ्नो कर्तव्य र दायित्व हो भनि आमा बाबाले ठानिदिने हो भने, के कुनै सन्तानले जिवनको अर्थ पहिल्याउन सक्छ होला र रु अँह पक्कै सक्दैनन !
जनकपुर सिन्धुली जता जता भौतारिए पनि रोगले आफ्नो स्वरुप देखाउन नसकेपछि मलाई कान्तिबाल अस्पतालमा भर्ना गरियो । १८ दिन सम्म वस्दा पनि यहि रोग हो भनि पत्ता नलागेपछि डाक्टरले नुन बिनाको अलिनो तरकारी खानु र इन्जेक्सन लाइराख्नु भनेर डिस्चार्ज गरिदिएछन ! नुन बिनाको खाना २५ दिन सम्म त खाईन, तर कहाँ रुच्थ्यौँ र १ त्यसपछि त हिँडडुल गर्न नै असक्षम भएछु ।
यसैबिच गंगालाल हस्पिटलमा केहि भइहाल्छ कि भनेर झिनो आशा सहित पुगियो र चेकअपको दौरानमा डा. दिवाकर शर्माले जे भन्नुभयो त्यो वेला म छाँगाबाट खस्न पुगेँ ! एकछिन त मेरो कान मात्रै होइन सासै बन्द भयो । पृथ्वी भासिए जस्तै भयो मलाई त्यसबेला । भाउन्न छुट्यो । आँखाबाट आँसु थामिएन !
यतिका दिनसम्म पत्ता नलागेको मेरो रोग उहाँले पत्ता त लाइदिनु भएको त थियो तर रोग यस्तो थियो कि म १२ बर्षे वालिका पनि त्रसित बन्न पुगेकि थिएँ । डा. को भनाइ अनुसार मेरो मुटुको दुईवटा भल्व खराब भएका रहेछन । साथै उपचारमा धेरै ढिलाई भएर मुटु सुन्नि सकेको र धड्कन धेरै नै बढिरहेको भन्दै सम्पुर्ण चेकअप पछि १० दिन भित्रमा अप्रेसन गर्नैपर्छ, नगरे राधाको जिवन रहने छैन भनेर एैलान समेत गरिदिनु भयो ।
मैले मृत्युवरण गर्न सिवाय अर्को विकल्प नरहेपछि सास छउन्जेल आस भन्दै सर्जरीको तयारीमा लागियो । र, अस्पतालमा भर्ना भए । अस्पतालको बसाइ मेरो लागि निकै कष्टकर थियो । विभिन्न खाले परीक्षणको क्रममा नर्सहरुले मेरो रगत निकाल्न सुई घोच्थे । तर, रगत एक थोपा आउन पनि मुस्किल पर्थ्यो । मानौँ म एक अस्थिँपञ्जर थिँए । मेरो रगतहरु सबै सुकिसकेको थियो । रगत विनाको शरिर लिएर म जिवन जिउने कला सिकिरहेको थिँए । मैले मृत्युलाई नजिकबाट नियाली रहेको थिँए ।
जब सर्जरी गर्ने दिन नजिकिँदै जान्थ्यौ कतै म बाँच्दिन कि ! या बाँचिहाले पनि अपाङगता भएर बाँच्नु पर्ने हो कि ! यस्तै यस्तै शंकाले मनमा डेरा जमाउँदै गैइरहेको थियो । मृत्युसँग हारेको मानसिकता सार्है विघटनकारी हुँदोरहेछ । विरामीको मानसिकता बदल्नु भनेको मुर्दामा प्राण सञ्चार गर्नुजस्तै हुनेरहेछ । म पलपल मृत्युको सामु निरिह बन्दै गइरहेकी थिएँ !
यस्तैमा अपरेसनको अघिल्लो दिन हस्पिटलले मेरो बाबालाई एउटा पत्रमा हस्ताक्षर गर्न लगायो जस्मा लेखिएको थियो, छोरीको बाँच्ने आधार थोरै मात्र रहेको छ । अप्रेसन गर्दाको बखत छोरीको मृत्यू नै भएपनि मेरो स्विकार्य छ १ भनेर लेखिएको थियो । बाबाले आँशु चुहाउदै हस्ताक्षर गरिदिनु भयो मेरो सम्भावित मृत्युको पन्नामा १ त्यो पत्र जतिपटक र्हेयो, त्यतिपटक झनझन आँखाका खोंचहरू आँसुले भरिएर आए । मनभित्र आँधी मात्र होइन, सुनामी नै चल्यो । गिदी उम्लिएर टाउको पड्कनै लागेको बम जस्तै भयो ।
भोलिपल्ट सर्जरीको लागि तयारी गर्दै मलाई परिवारसँग भेट गर्न सबैको सामु ल्याइयो । मेरो मुटुमा १० रेक्टरको भूकम्पको कम्पन पैदा भइरहेको थियो । कसैको मुख हेर्न सक्ने अबस्थामा थिइन । सबै जना अनुत्तरित प्रश्न लिएर मलाई हेर्दै हुनुहुन्थ्यो । सायद उहाँहरु यहि अन्तिम भेट हुने हो कि भनेर सशंकित पनि हुनुहुन्थ्यो । कलिलो ममतामय हृदयले मेरो पिडा हेर्न नसक्ने भएर होला यतिन्जेल सम्म आमा आउनु भएको थिएन ।
म आमा सँग भेटै नभइ जाने भए भनेर रुन्थेँ । बाबा मेरो मुख हेर्दै आँखामा आएको आँशु पुछ्न अर्को तिर मुख फेर्नु हुन्थ्यो ।
उफ ! कस्तो परिवन्द ! कस्तो परिदृष्य ! बाबालाई मलाई के होला भन्ने आशंका मलाई आमासँग भेट नहोला भन्ने पीर !
सबैलाई थाहा छ, मृत्यु शास्वत सत्य हो । यो पनि सबैलाई थाहा छ कि, मृत्यु स्वीकार गर्न साह्रै कठीन हुन्छ । अझ आमाबाबुको निम्ति सन्तानको मृत्यु भयानक असैह्य हुन्छ । तर, स्वीकार गर्नुको विकल्प पनि त हुँदैन ।
त्यसपछि ३ बजेतिर मलाई सर्जरी टेबुलमा पुर्याइयो र क्रमशः मेरो होस गुम हुँदै गइरहेको थियो, त्यसपछि मलाई केहि थाहा छैन । लामो समय पछी होसमा आँउदा मुखमा असह्य पिडा भएकोले ‘आमा पानी’ भनि उठ्न खोजे तर, उठ्न सकिन । शरीर पसिनाले लपक्क भिजेको थियो । म आँखा खोल्न सक्ने अवस्थामा थिइनँ । गहिरो निन्द्राबाट उठे जस्तो मात्र लागिरहेको थियो । तैपनि बिस्तार बिस्तार जबर्जस्ती आँखा खोलें । जिरो वाटको बल्वले कोठामा मधुरो प्रकाश छरिरहेको थियो ।
‘नानु तिम्रो सर्जरी भैसक्यो’ नजिकै बाट यहि ध्वनि गुन्जिरहेको थियो । यो आवाज सँगै म मा खुसीको सीमै रहेन । हत्त न पत्त हात खुट्टा चलाउन पुगेछु र थाहै नपाई खुशीका आँशुहरु झर्न पुगेछन् । वास्तवमा त्यतिखेर मेरो जन्म भएको थियो । मृत्यु सँग संघर्ष गरेर म पुनः जन्मिएकी थिए । हो त्यतिवेला नै मैले मृत्युमाथि विजय प्राप्त गरेकि थिँए । आखिरीमा मृत्युको हार भयो, र जित मेरै भयो १
चाणक्यले भनेजस्तै ‘रोगी हुँदा, दुःख पर्दा, अनिकालमा र शत्रुबाट खतरा आइपर्दा जस्ले साथ छोड्दैन उ नै भाइ–बन्धु भने जस्तै मलाई जन्माई हुर्काई हरेक पिडामा सँधै मलम बनिदिने श्रद्धेय आमा बाबा, दिदी भिनाजुहरु, दादा भाउजु, आदरणीय आफन्तजनहरु, मलाई असाध्यै माया गरेर मलाई बचाउन अहोरात्र लागीपर्ने दाई दीदीहरु, मेरा साथी संगी, र विशेष गरी मृत्युबाट पुनः जिवन प्रदान गरिदिनु हुने डाक्टर र नर्स धन्यवादको पात्र हुनुहुन्छ मेरो लागि ।
यो घटनालाई जीवन–यात्राको एक अमूल्य सम्पत्तिको रुपमा लिएको छु मैले । निश्चय नै शारीरिक रुपमा केही परिवर्तन आएको छ, तर मानसिक रुपमा म अझ स्पातिलो भएको छु !
म पनि यही समाजमा जन्मी–हुर्की गरेकी एउटी सामान्य केटी हुँ । नेपाली समाजमा सामान्य केटीहरूमा जे सपना हुन्छ, म भित्र पनि त्यो सपना थियो । तर, अहिले मेरो सपना अलि फरक छ । मेरो शारीरिक कारणले गर्दा बिस्तारै म मानसिक रूपमा अर्कै ठाउँमा पुग्दै छु ।
प्रिय पाठकहरु नढाँटी भन्नुपर्दा नाफामा प्राप्त यो जिन्दगीलाई स्वतन्त्रतापूर्वक भरपूर आनन्दी मनले समाजसेवा गर्न चाहन्छु । बन्धनयुक्त वैराग्यपूर्ण जिन्दगी स्वीकार्य छैन मलाई । यसको मतलब भिक्षुणी मेरो आदर्श पनि होइन । म स्वतन्त्रताको आकाशमा संघर्षको पखेटा फट्फटाएर निर्बन्ध कावा खान चाहन्छु ।