प्रदेश प्रमुख तुम्वाहाङद्धारा संविधान दिवसको शुभकामना
असोज २, विराटनगर । प्रदेश न. १ को प्रदेश प्रमुख डा. गोबिन्द बहादुर तुम्वाहाङले संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् । नेपाल एकीकरण पश्चातको राणातन्त्र र निर्दलीय पञ्चायती व्यवस्थाले नेपालको धार्मिक, सांस्कृतिक र राजनैतिक विविधतालाई बुझ्न नसकेको प्रदेश १ का प्रमुख प्राचार्य डा.गोबिन्द बहादुर तुम्वाहाङले बताएका छन् ।
संविधान दिवसको पूर्वसन्ध्यामा विहीबार संविधान दिवस २०७६ को उपलक्ष्यमा प्रदेश प्रमुखको कार्यलयद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख तुम्वाहाङले विविध कारणले गर्दा नेपाली समाज, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक र लैङ्गीक विभेदको शिकार बन्न पुगेको धारणा व्यक्त गरेका छन् ।
यस्ता सबै प्रकारका विभेदहरु निर्मुल पार्नु, छुवाछुतको अन्त्य गर्न आपसी सद्भाव र सहिष्णुतालाई बढाउन, आर्थिक समानता र समृद्धि बढाउन नेपाली जनताका प्रतिनिधिहरुबाट २०७२ आश्विन ३ गते उनीहरुको चाहाना अनुरुपको संविधान प्रदान गरिएको प्रष्ट पारेका छन् ।
नेपालको संविधानले अपनाएका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अन्तर्गत नागरिक स्वतन्त्रतामा, मौलिक अधिकार, मानाव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका लगायतका विषयहरु मुख्य बुँदाका रुपमा रहेको जानकारी दिए ।