यातायात ब्यवस्था कार्यालयको हरिविजोक कहिलेसम्म मन्त्रीज्यू !
माननीय रघुविर महासेठ ज्यू, मन्त्री
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबार काठमाडौं
विशेष कुरा यातायात क्षेत्रमा देखिएका समस्या समाधान गर्न यहाँले जे जसरी काम गरिरहनु भएको छ । आम नागरिकले मुल्याङकन गरिरहेकै होलान् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नो तर्फबाट सरकारमा भएका मन्त्रीहरुको कार्यशैली र मुल्याङकन गरिरहनु भएकै होला तसर्थ यो ध्यानाकर्षणमा म यहाँको कामको मुल्याङकन गरी आफु ठूलो हुन खोज्न गरिरहेको छैन । म यहाँलाई अवगत गराउन चाहन्छुु कि यहाँको मातहत रहेको यातायात ब्यवस्था कार्यालयले सवारी अनुमति पत्र, नविकरण गर्ने सिलसिलामा कसरी काम गर्दाे रहेछ ? यातायात ब्यवस्था कार्यालयमा विचौलियाले कसरी काम गर्छन् ? त्यहाँको सिष्टम कस्तो छ ? यो एउटा उदाहरण मात्र हो ।
माननीय मन्त्री ज्यू,
यो उदाहरण हो यातायात ब्यवस्था कार्यालय सुकेधाराको । सरकारले सवारी साधन अनुमतिपत्र लिने सेवाग्राहीको संख्या बढेसँगै यातायात ब्यवस्था कार्यालयको सेवा चुस्त दुरुस्त बनाउन काठमाडौंको एउटै स्थानमा रहेका सेवाहरुलाई विभिन्न्न क्षेत्रमा थप गरेको भएपनि सुकेधारा स्थित यातायात कार्यालयले भने सेवाग्राहीलाई सेवा भन्दा सास्ती धेरै दिएको छ । त्यसको एउटा प्रत्यक्षदर्शी म स्वयं हुुँ ।
मैले एक हप्ताअघि चारपाङ्ग्रे सवारीको लाइसेन्सका लागी यातायात ब्यवस्था कार्यालय सुकेधारामा आवेदन थिएँ । अनलाईन आवेदन दिएको केहि समयमै मलाई मोवाइलमा म्यासेज एलर्ट आयो २२ सेप्टेम्वर अर्थात हिजो आइतबार अफिस भिजिट गर्नु भनेर ।
विहान करिब ९ः१५ मा यातायात ब्यवस्था कार्यालय सुकेधारा पुगें । मलाई यसअघि मैले तालिम लिइरहेको ड्राइभिङ सेन्टरले विहान छिट्टै गए छिटो पालो पाइने भनेका थिए । सोहि अनुरुप ९ः१५ तिरै सुकेधारा कार्यालयमा पुगे । यातायात ब्यवस्था कार्यालय परिसर पुग्दै म भन्दा अगाडी सेवाग्राहीहरु लाईनमा बसिसकेका थिए । हतारहतार बाइक पार्किङ गरेर कार्यालयमा गए । मसँग अनलाईन आवेदन फारम भरेको प्रिन्टकपी थियो । त्यो देखाएर आफु कहाँ जाने ? सोधपुछ र सहयोगका लागि मैले हेल्प डेक्स खोजें ।
माननीय मन्त्री ज्यू ती सेवाग्राहीका भिडमा मैले सेतो सर्ट र निलो पाइन्ट लगाएका कर्मचारी भेट्टाउनै सकिन । नत त्यहाँ कुनै हेल्प डेक्स नै थियो । एक छिन अल्मलमा परें । त्यसपछि लाइनमा बसेका एक जना सेवाग्राहीहरुलाई सोधे ‘दाई गाडीको लाइसेन्स थप्नुपर्ने यो फर्म कहाँ बुझाउनु पर्ने होला ? ति सेवाग्राहीले आफुलाई पनि केहि थाहा नभएको जवाफ दिए । पुनः अर्को सेवाग्राहीलाई सोधेपछि उनले मेरो कागजात हेर्दै पहिला १२ नं. कोठामा जानु भने ।
सेवाग्राहीले भने अनुसार १२ नं. कोठामा जानका लागि त्यहाँ स्थित पूर्व तर्फको भवनको पहिलो तल्ला पहिल्याउँदै गएँ । सायद कार्यालय समय अघि आएकोले होला मैले कर्मचारी पाउन सकिन । घडी हेरे ९ः५० भइसकेछ । अन्य सेवाग्राही जस्तै भर्याङमै बसे । मेरो एउटा हातमा हेल्मेट छ, अर्को हातमा त्यहि प्रिन्ट गरेर रु १० को हुुलाक टिकट टाँस गरेको फारम । स्मरण रहोस मन्त्री ज्यू, यातायात ब्यवस्था कार्यालय परिसरमा खोलिएका लेखापढी सेन्टरले रु १० को हुलाक टिकटलाई रु १५ मा विक्रि गरिरहेका छन् । मैले सुनेको थिएँ, हुलाक टिकटको महत्व पैसा जत्तिकै हो । जती मुल्यको हो त्यत्ति नै पैसा तिर्नुपर्दछ । गोस्वारा हुलाक कार्यालयबाट हुलाक टिकट लिँदा एक रुपैयापनि बढि शुल्क तिर्नुपर्दैन । तर, यातायात ब्यवस्था कार्यालयमा खुलेआम रु १० को टिकट १५ मा विक्रि हुन्छ । यदी त्यहाँ नजिकै गोस्वारा हुलाक कार्यालयको सेवा विस्तार गरिदिए कम्तिमा हुलाक टिकटमा त जनता ठगिन पाउने थिएनन् ।
भर्याङमा बसेको लगभग २० मिनेटपछि केहि ब्यक्तिहरु आए । उनीहरु कार्यालयका कर्मचारी हुन् कि होइनन् थाहा भएन किनकी उनीहरुले कार्यालयको ड्रेस लगाएका थिएनन् । घाँटीमा कार्यालयले प्रदान गर्ने परीचय पत्रपनि थिएन । कोही मुखभरी जर्दा पान चपाउँदै हात्ति लम्के जसरी आउँदै थिए । उनीहरु आफ्नो कुर्सीमा गएर कम्प्युटर खोलेपछि म लगायत अन्य सेवाग्राहीले कर्मचारी यीनै रहेछन् भनेर विस्वास गर्दै आ–आफ्नो फारम दियौं ।
त्यो फोटो खिचाउने ठाउँ रहेछ । दुई जना कर्मचारी एकापसमा घरायसी कुरा गर्दै कम्प्युटर खोल्दै थिए । कम्प्युटर खोल्न टाइम लाग्यो । कार्यालय भित्र धुलैधुलो, mायलहरु असरल्ल । अघिल्लो दिन शनिबार, शुक्रबार कार्यालय पश्चात कार्यालय सफा गर्न विर्सिएछन् क्यारे, ती कर्मचारीको बुढी औलाको छापले काम गरेन । सर्भर कनेक्सन गर्न सकेनन् । पुनः दुई तीन पल्ट प्रयास गरेपछि सर्भर खुल्यो । म अगाडी लगभग चार पाँच जना थिए । उनीहरुले फायल दिएपछि केहिको फोटो खिच्ने काम भयो केहिले अगाडी नै स्मार्ट कार्डको आवेदन दिएकोले फोेटो खिच्न परेन । ती कर्मचारीले मैले दिएको फायलमा कोड नं. दिए । ‘सर अब कहाँ जाने ?’ आदरभावले ती कर्मचारीलाई सोधें, ‘त्यत्तिपनि थाहा छैन, पढ्नु भएको छैन ? अब मेडिकलका लागि तल ३ नं. कोठामा जाने ।’
ती कर्मचारीले आफ्नै नोकरलाई हकारेर काम लगाए जसरी मलाई हकारे । काम गराउनु थियो किन बेकारमा लफडा बेर्होने ! म सुरुसुरु तल ओर्लिएँ ।
कार्यालयको आँगनमा सेवाग्राहीको भिड थामी नसक्नु भइसकेको थियो । मेडिकल गर्नका लागि रु ५५ लाग्दो रहेछ । यहाँ भने मेले लाइन बस्नु परेन । मसँग रु १०० को नोट थियो । ‘खुद्रा छैन, खुद्रा ल्याउने’ सरिद काट्नेले आदेशात्मक जवाफ दियो । हतारहतार बाहिर आएर रु १०० को नोट साटेर गएँ । एउटा कर्मचारी हो कि विचौलिया (कर्मचारी भए कार्यालयको ड्रेस लगाउथे होला !) ले ५५ रुपैंयाको नाम साम केहि नलेखी रसिद च्यातेर दियो । त्यसमा गोलो धर्काभित्र हातले लेखिएको थियो ६५ । म पुनः त्यहि भिडमा मेडिकल गर्ने ठाउँ खोज्न थालेँ । छेउमै रहेछ । म भन्दा अगाडी १५, २० जना लाइनमा रहेछन् । घडि हेरें ११ बजि सकेछ । १५ मिनेट जती लाइन बस्दा मेरो पालो आउन लाग्यो त्यहाँ आँखा जाँचिदो रहेछ । ढोका बाहिर उभिएका सेवाग्राहीलाई कोठाभित्र रहेका एक दारी जुँगा पालेका ब्यक्तिले एक हातले आँखा छोप्न र अर्को हातले भित्तामा लेखेको अक्षर पढ्न लगाए । उल्टो सुल्टो, दायाँ बायाँ, मिलाउनेलाई कोठा भित्र बोलाउँदै थिए । नमिलाउनेलाई एक पल्ट मुख धोएर आउन भन्दै थिए । मेरो पालो आयो मैले पनि उनकै निर्देशन अनुसार दायाँ बायाँ आँखा छोपेर अक्षरहरु चिने । त्यहाँ अक्षर हैन अङ्ग्रेजी अक्षरको भ् लाई उल्टो सुल्टो, दायाँ बायाँ फर्काइएको छ । मैले सजिलै ती अक्षर पहिल्याएपछि उनले भित्र बोलाए ।
म भित्र जाँदा जाँदै उनले त्यहाँ जम्मा भएका ८, १० जनालाई एउटा रंगीविरगी कागजमा रहेको अंक हेर्न लगाए । मैले सजिलै अंक भनेपछि उनले नजिकै कम्प्युटरमा बसेका एक जना कर्मचारी होकी डाक्टर खुट्याउन सकिन तीनका अगाडी उभिन भने । म सोहि निर्देशन अनुसार उभिएँ । म जानुपनि त्यहाँको सर्भर डाउन हुनु एकै पल्ट पर्यो । यातायात ब्यवस्था कार्यालय अनलाइन सिष्टममा गएकोले मेरो विवरण पनि अनलाईनबाटै हेर्नुपर्ने थियो । ती डाक्टरले सर्भर खोल्ने प्रयत्न गरे । सिष्टम डाउन भएकोले खुल्न सकेन । दुई चार पल्ट कोशिष गरे भएन । सर्भर नै नखुलेपछि उनी ‘अब एकछिनमा खुल्छ बस्दै गर्नुस’ भन्दै कार्यकक्षबाट बाहिरिए ।
हामी लगभग त्यो कोठामा २० जना जति भेला भइसकेका थियौं । छेउमा आँखाको टेस्ट गर्नेपनि ‘अब एक दुई घण्टा लाग्छ खाना खाएर आउँछु’ भनेर बाहिरिए । कर्मचारी नै निस्किएपछि हामी सेवाग्राही के गर्ने ! बस्ने कि जाने अलमलमा पर्यौं । कार्यालय भित्र नत बस्ने कुर्सी छ नत अडेस लाग्ने केही । ठिङग उभिइरहँदा ढाढ दुख्न थाल्यो । लगभग ३० मिनेट भयो कुनै कर्मचारी आएनन् । हामी सेवाग्राही नेपालको सिस्टमलाई गाली गर्दै उभिइरहेका थियौं, एउटा १८,२० वर्षको केटो आएर कम्प्युटर चेक गर्यो । सर्भर आएको थिएन । उभिदाँ–उभिँदा पट्यास लागेकोले त्यो भाइलाई सोधे ‘भाइ के भएको ?’ उसले यातायात ब्यवस्था काार्यालयकै सर्भर डाउन भएकोले देशभरको सिष्टम डाउन भएको भन्दै सर्भर नआइकन काम नहुने तर, कसैलाई हतार भए भोली विहान आउन सुझाए । एकाध दुइले सरकारलाई सराप्दै आफ्नो काजगात फिर्ता लिएर निस्किए । मलाई पनि हतार त कहाँ नभएको होर ? बल्लबल्ल कार्यालय छुट्टी लिएर आएकोले त्यत्तिकै जान मन लागेन । मलाई धेरैबेर उभिन हुँदैन । ढाढको समस्याले सताउन थाल्यो । लाइनमा भएकोले छाड्न मन लागेन । १ घण्टा वित्यो सर्भर आएन । ती भाइ मोवाइलमा क्याण्डिक्रस खेल्न थाले । अब सर्भर नै नभएपछि विचराले के काम गर्नु र ? यसैविच अघि खाना खान गएका कर्मचारी आए उनले पुनः कम्प्युटर चलाए सर्भर आएकै थिएन । १ घण्टा वितिसक्दा पनि काम नहुँदा लाइन बसेकाहरु होहल्ला गर्न थाले ।
म झोत्राउँदै बसे । एक छिनमा सर्भर आयो । आयो भन्नु की नभन्नु । सिस्टम खुल्ने छाँटकाँटै देखाएन । सुरुमै मेरो पालो थियो । सिस्टम खुल्यो तर, ती डाक्टर हुन की कर्मचारीले मेरो कागजात इन्ट्री गरेनन् । उनले साथमा ल्याएको कागजको इन्ट्री पहिला गरे । मलाई बोल्न मन लागेन । चुपचाप रहेँ । त्यसपछि मेरो इन्ट्री गरिदिए । ‘सर, अब कहाँ जाने ? मैले सोधे । ‘भित्तामा हेर्नुहोस लेख्या छ’ मतिर नहेर्दै उनले कर्कसे स्वरमा जवाफ दिए । वहस गर्नु उचित थिएन । आफ्नो काम जो फत्ते गर्नुछ । मेरोे ७ नं. कोठामा जानु रहेछ ।
पश्चिम तिरको भवनमा असरल्ल मान्छे थिए । ७, ८, ९ सायद यहि कोठा होलान् । भिड छिचोल्दै हेर्दै हेर्दै ७ नं. झ्यालमा गएँ । त्यहाँ एक पौढ महिला रहिछिन् । ‘दिदि कारको राजस्व यहिँ हो ?’ उनले लाइनमा बस्न भनिन् ।
मलाई वित्यास यहाँ पर्यो कि त्यहाँ लाइन नै थिएन । भनौ सबैजना असरल्ल बसेका थिए । खुट्टा टेक्ने ठाउँ थिएन । महिला पुरुष एकै ठाउँमा ठेलमठेल गर्दै थिए । हिजो देखी मलाई भाइरलले सताएको थियो । धुलोबाट एलर्जी हुन थाल्यो । बल्लतल्ल लाइन फेला पारे । लाइन आँगन छेउमा पुगेको रहेछ ।
उफ्, कस्तो हैरान ! चारैतिर धुलो बस्ने ठाउँ छैन, मान्छेको चाप । दिक्क लाग्यो । यस्तो भिडभाडमा पाकेटमारहरुको विगविगीपनि हुन्छ । पाइन्टको पर्स छामेँ । रहेछ । एक हातले हेलमेट, अर्को हातमा कागजात लिएर लाइनमा बसे ।
मान्छेहरु पुनः होहल्ला गर्न थाले । सर्भर गएछ । केहि यस्तैबेला अरुको पालो मिच्न ‘बिच्च बिच्च’मा छिर्दै थिए । कोहि लाईनमा बस्न आग्रह गर्दै थिए । सबैले काम धन्धा छाडेर आएका थिए । सबैको मुहारमा उभिनु पर्दाको दिक्दारी थियो भने त्यो भन्दा बढि दिक्दारी सर्भर गएर काम नहुँदाको । यस्तोमा लाइनको बिच्च विच्चमा छिर्नेहरुले ९ बजेदेखि नै उभिएकाहरुको कन्पारो तात्तिएको थियो । धेरैले सरकारलाई गाली गर्न थाले । केहिले कर्मचारीले नै विगारेका होला सम्म भने । सबैले आक्रोस पोखिरहेको अवस्थामा एक जना आएर आधा घण्टा लाग्ने जनाउ दिए ।
‘आयो’ एक जना सेवाग्राही कुर्लिँदा बाहिर बसेकाहरु हतारहतार भित्र छिरे । लाइन विग्रियो । को कता कसैले भेउ पाएन । झन होहल्ला बढ्यो । यस्तैमा दुई तीन जनाले राजस्व बुझाउँदा बुझाउँदै फेरी सर्भर डाउन भयो । पुनः होहल्ला ।
१५ मिनेटपछि सर्भर चालू भयो । यो विचमा घडीले १ बजाउनै लागी सकेछ । सेवाग्राहीहरु नियाउरो भइसकेका थिए । म भन्दा पछाडी अफिसबाट २ घण्टाको छुट्टी मिलाएर राजस्व बुझाउन आएका एक अधवैशे कुर्लिए ‘मु….. गतिलो सर्भर राख्न सक्दैनन् जनतालाई जहिल्लै हैरानी थुक्क’ उनले केपी ओली, प्रचण्ड, बाबुराम सबैलाई गाली गर्न भ्याए ।
७ नं. झ्यालको अगाडी पट्टी एउटा झ्याल खाली थियो । त्यहाँ एक जना कर्मचारी आए, उनले चाहिँ ड्रेस लगाएका रहेछन् । मलाई सारै सकस भएको थियो । विन्ती गरे । ‘सर, ढाढ दुखिसक्यो । अफिस पनि जानुपर्ने केहि जनाको यताबाट काटिदिनुस ।’ उनी सुरुमा तर्किएपनि हामीसँगै लाइनमा बसेका महिलाहरुको राजस्व बुझ्न भने तयार भएर कम्प्युटर अन गरे । सायद महिला दिदिवहिनीहरु लक्की हुनुपर्दछ त्यो कम्प्युटर छिट्टै खुल्यो । उनले १० मिनेटको हाराहारीमा १३, १४ जना महिलाको राजस्व लिए । अब उनी खाली भए । ‘हाम्रोपनि इन्ट्री गर्न मिल्छ भने गरिदिनुस !’ मैले विन्ती विसाए । ‘अहँ मिल्दैन !’ उनी मोवाइल खेलाउन बसे । यता हाम्रो तिरको लाइन सर्दै सरेको थिएन । ‘कार्यालय समयमा मोवाइल खेलाएर समय कटाउनु भन्दा काम गरिदिँदा जनताले राहत पाउथे नी !’ अति भएपछि मुखै खोलें । ‘यो कम्प्युटरमा हुँदैन !’ ती दाह्रीजुँगा पालेका कर्मचारी झर्किए । मेरो पछिल्तिरका दाईलाई पनी रिस उठेछ । ‘कम्प्युटरले महिलाको मात्र काम गर्नुपर्छ भन्छ र ?’
उनी झर्किएपछि ती कर्मचारी हच्किँदै ५ जना आउन आग्रह गरे । सबैलाई हतार थियो बसेको लाइन समेत विगार्दै सबै झ्याल तिर झुम्मिए । ‘तपाईहरु यस्तै गर्नुहुन्छ र पो काम गर्न मन लाग्दैन !’ कुर्सीबाट निस्कुँला झै गर्दै ति कर्मचारीले कड्किए ।
म पुनः आफ्नै लाइनमा आएँ ।
२ घण्टापछि मेरो पालो आयो । हतारहतार झ्यालबाट काजगात दिँदै गर्दा मेरो पछाडीका दाईले पनि प्वालमा हात छिराए । ‘दिमाग छैन, प्रिन्टर छुने ?’ ७ नं. झ्यालमा राजस्व बुझ्न बसेकी महिला कर्मचारी एक्कासी कुर्लिइन् ‘यो प्रिन्टर विग्रिए कसले बनाइ दिन्छ ?’ मलाई अब चैं झनक्क रिस उठ्यो । ‘हैन तपाईको प्रिन्टर कसले छोयो र ? कागजपत्र छिराएको मात्र हैन ? किन झर्कनु हुन्छ ? कर तिर्न आएको तपाईसँग भिक माग्न आएको हो ?’ मैले दायाँबायाँ सोच्नै सकिन । ती कर्मचारी झन कराइन् । ‘यसरी हात छिराउन पाइदैन ।’ म पनि जंगिए, ‘यसरी हामीलाई थर्काउन पनि पाइँदैन । सर्भर तिमीहरुको विग्रने दुखः हामीले पाउने ?’ ‘भैहाल्यो छाड्दिनुस यस्तै हो’ पछाडीका दाईले भने ।
म चुप लागे ।
राजस्व बुझेपछि विल दिने बेलामा ती कर्मचारीले आँखा तर्काएर हेरिन् मानौ मैले उनको ठूलो बेइज्यत गरे । आफुलाई हतार थियो । ‘यो कहाँ बुझाउने ?’ ‘बाहिर त्यतै होला हेर्नु’ फेरी झर्किइन ।
कुनी कता फर्किएर थुक्दा आफैंलाई पर्छ जस्तो लाग्यो, चुपचाप बाहिरिएँ ।
कोठा नं. ६ मा रसिद बुझाएर लाइसेन्स परीक्षाका लागि प्रवेशपत्र लिनुपर्दो रहेछ । यसो हेरें लाइन गेट छेउतिरै पुगेछ । हतार हतार लाइनमा बस्न गएँ ।
यतिञ्जेल करिब साँढे एक बजिसकेको थियो । म भन्दा अगाडी करिब सय जना थिए होलान् । भोली मेरो ट्रायल थियो प्रवेशपत्र नलिइ जानुको विकल्प थिएन । पुनः लाइनमा बसे । लगभग १ घण्टा पछि ढोकामा पुगें । हामी ढोकाको एक साइटमा उभिइरहेका थियौं दुईचार जना मान्छे हतारहतार छिरे । एकछिनमा प्रवेशपत्र लिएर आए । उनीहरुका साथमा त्यहाँका कर्मचारी पनि थिए ।
‘उफ् जहाँ पनि आफन्त र सोर्सफोर्स नै चाहिँदो रहेछ ।’ मनमै गमें । विचौलियालाई दुई चार सय खर्च गर्ने, कर्मचारी चिनेकाले लाइन बस्नै नपर्ने । हामी सोझासाझा जनतालाई भने जतापनि सास्ती !
मेरो पालो आउन लाग्दा फेरी त्यसरी नै एक अधवैंसे आएर प्रवेशपत्र दिँदै गरेकी कर्मचारीलाई चिट दिए । मलाई मन परेन । ‘ओ दाई देख्नु भएन, लाइन ? लाज लाग्दैन ?’ ती अधवैंसे हच्किए । महिला कर्मचारी मुसुमुसु हासिन् । उनको मोवाइल बज्यो । उनले फोन उठाइन् । उनका कुरा गराई सुन्दा उताबाट प्रवेशपत्र लिन नम्बर टिपाउन खोजिएको रहेछ । संयोगवस उनीसँग डटपेन भएन । ‘एक छिन डटपेन दिनुस न’ भिडलाई हेर्दै भनिन । एउटाले डटपेन दिए । ‘फोनमा यसरी नम्बर टिपाएरै प्रवेशपत्र आउँछभने हामी यो तातोघाममा सारा कामकाज छाडेर उभिएको के अर्थ ? बन्द गर्नुस फोन हामीलाई अबेर भो ।’ म कड्किएँ । ती महिला कर्मचारीले मलाई हेर्दै ‘याँ.. मलाई फुर्सद छैन भरे गर्नु’ भन्दै फोन काटिन् । यत्तिकैमा कम्प्युटर र प्रिन्टरलेपनि धोका दियो । रि–स्टार्ट गर्न थालिन् । बल्लतल्ल कम्प्युटर खुल्यो, काम गर्दै थिइन् । अर्का एक अधवैंसेले ती कर्मचारीलाई पछाडीबाट चिट दिए । म ती अधवैसेलाई अगाडी देखि नियाली रहेको थिँए । ‘एक छिन दाई ! के गरेको ? लाइनमा आउने, म हेरिरहेको छु तपाईको चर्तिकला ।’ उनी हच्किए । मेरा पछाडीका सेवाग्राहीपनि ‘हुँदैन हुँदैन’ भनेर कराउन थाले । ती अधवैंसे नियाउरो मुख लगाएर बाहिरिए ।
कार्यालयको शौचालय छिरि नसक्नुको छ । दुर्गन्ध कार्यालय प्रमुखका कार्यकक्षमा समेत आइपुग्छ तर, उनलाई शौचालय सफा गराउने फुर्सद छैन । सेवाग्राहीको भिड कन्ट्रोल गर्न कर्मचारी र हाकिमको ध्यान जाँदैन । उनीहरु बरु भिड छिचोलेर १० मिनेट लगाएर कार्यालय छिर्न तयार हुन्छन् भिडलाई ब्यवस्थित गर्न उनीहरुको सोच जाँदैन ।
माननीय मन्त्री ज्यू, यो कुनै बनावटी कुरा हैन । मैले भोगेको यथार्थ हो । यातायात ब्यवस्था कार्यालय भित्रको वेथिति हो ।
हामी आम जनताले सरकारबाट चाहेको सिस्टम हो । यातायात क्षेत्रमा धेरै विक्रितिहरु छन् । कर्मचारीका विक्रिति छन्, सिस्टमका विक्रिति छन्, विचौलियाको रजगज छ । म त्यहाँ लाइन बस्दैगर्दा सुन्दै थिए, त्यहाँका हाकीम र माथिल्ला कर्मचारीलाई दिनहुँ मासु चिउरा खाजा आउँछ रे ! साँझ चावहिलको तासघरमा वाइन र विदेशी रम फोडिन्छ रे !
कर्मचारी र विचौलियाले यातायात ब्यवस्था कार्यालयलाई ‘ससुराली घर’ बनाएका छन् । हामी सर्वसाधारण टण्टलापुर घामपानीमा उभिइरहँदा उनीहरु झ्यालबाट रमिता हेरिरहन्छन् । विहान ८ बजेदेखि लाइन लाग्यो १२ बजे पालो आउँछ, त्यो पनि सर्भरले धोका दिन्छ । २ बजेसम्म कुर्यो बल्लतल्ल पालो आउँछ त्योपनि कर्मचारीको हप्की दप्कि सहनु पर्छ । आखिर कहिले सम्म मन्त्री ज्यू !
के हामी सामान्य नागरिक यो देशका दोस्रो दर्जामा नागरिक हौं ? के हामीले यहि समस्या भोग्न तपाईहरुलाई भोट दिएर सत्तामा पुर्याएका हौं ? यसको जवाफ तपाईले दिनै पर्छ । यसो भनिरहँदा हामी नागरिक पनि कम्तीका छैनौं है, आफुलाई हतार छ, लाइन बस्ने जाँगर छैन भने, हुलमुलमा बिच्च बिच्चमा छिर्ने, कर्मचारीलाई घुस खुवाउने, फकाउने । हामीले पनि आफ्नो बानी सुधार्न पर्छ ।
हामीलाई थाहा छ मुलुक समृद्ध बन्न एकैपल्ट सक्दैन । हाम्रो अर्थतन्त्र अझैपनि विदेशी दाताको भरमा छ । स्वदेशी उद्योग कलकारखाना ध्वस्त भएर लाउने लुगादेखि खाने नुनतेलसम्म विदेशबाट ल्याउनु परेको छ । तर, त्यसो भन्दैमा देशलाई आत्मनिर्भर बनाउन र जनताका आधारभूत आवश्यक्ता पुरा गर्न तपाईहरु किन चाहनुहुन्न ? सार्वजनिक कार्यालयमा भएको ढिलासुस्ती हटाउन, विचौलियालाई घोक्रेठ्याक लगाएर गेट बाहिर निकाल्न, कार्यालयभित्र ‘क्याण्डीक्रस’ खेलेर दिन विताउने कर्मचारीलाई गलहत्याएर निकाल्न तपाईलाई कुन कानुन र संविधानले रोकेको छ ?
माननीयज्यू,
सार्वजनिक कार्यालयमा देखिएका विक्रिति विसंगतिका बारेमा जतिसुकै लेखेपनि कम हुन्छ । यसलाई सुधार्न लाग्नुस । यो देश तपाईहरुको पनि हो । भोली तपाईका सन्तती यहि देशमै बस्ने वातावरण हुनुपर्छ । आज आफ्ना छोराछोरीलाई विदेशी विश्वविद्यालयमा महंगो कलेजमा पढाइरहनु भएको होला । पिआर लिएका होलान्, उनीहरुलाई यहाँको सिस्टम र वेथितिले छुँदैन । तर, तर, तपाई त यहि माटोमै मर्नु हुन्छ नी हैन र ? तपाईपनि सधैं कुर्सीमा रहनुहुन्न । कुनै दिन तपाई त्यहि कार्यालयमा हामी जस्तै सर्वसाधारण भएर आउनु पर्दा के गर्नुहुन्छ ? एक पटक विचार गर्नुस त !
आज देशमा युवा जनशक्ति हराउँदै गएका छन् । पढेका अलिअलि सम्पत्ति भएकाहरु अमेरिका अष्ट्रेलिया गैसके । थोरै पढेकाहरु ४५ डिग्रीको तातोघाममा कतार, मलेसिया, साउदीमा बेल्चा चलाउँदैछन् । बचेका बुढाबुढी र बालबच्चामा देश विकासमा टेवा पुर्याउने शक्ति छैन । यदी तपाईहरुले जनताका आधारभूत आवश्यक्ता पुरा गराउन र सार्वजनिक संस्थानमा देखिएका विक्रिति हटाउन जाँगर चलाए विदेशीएका दक्ष जनशक्ति नेपालमा फर्किएर काम गर्ने वातावरण बन्थ्यो कि !
अन्तमा, माननीय मन्त्री ज्यू,
यातायात क्षेत्र देश विकासको मेरुदण्ड हो, यो क्षेत्रमा देखिएका विक्रिति विसंगति हटाउन ठोस कदम चाल्नुस । तपाई सयौं वर्षसम्म जनताका मनमस्तिष्कमा बस्नु हुन्छ । नत्र भने, लोकतन्त्रमा जनता नै सर्वशक्तिमान हुन । आज कुर्सीमा हुनुहुन्छ, झण्डा फरहराएर बाटो खाली गराउँदै हुईंकिनु हुन्छ । तर, भोली फेरी जनताले सडकमा ल्याएदिए के गर्नुहुन्छ ?