पशुपतिनाथ मन्दिर त सुरक्षित छैन भने बालुवाटार कसरी हुन सक्छ ?

असोज ४, काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले यस्तो चेतावनी दिएको हो ।   

समितिले संविधान दिवसको अवसरमा हिजो (शुक्रबार) मा पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घट्नाप्रति पनि भत्र्सना गरेको छ ।   

ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध जनाएको छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायतका धार्मिक अभियन्ताहरुलाई राजनीतिक प्रतिशोध साँधेर सरकारले जबरजस्ती पक्राउ गरेको समितिको आरोप छ ।   

पक्राउ परेकाहरुलाई आगामी ४८ घण्टाभित्र रिहाई नगरिए देशव्यापी रुपमा आन्दोलन गर्ने समितिका अध्यक्ष सागर थापाले चेतावनी दिए ।   

समितिका महासचिव रोशनजंग बस्नेत र विश्व हिन्दू महासंघ नेपालका उपत्यका संयोजक दिनेश कुमार सिजापतिको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेतलगायत समस्त हिन्दु धार्मिक अभियान्ताहरुलाई ४८ घण्टाभित्र रिहाइ नगरिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ 

सरकारले वर्तमान संविधान र प्रचलित अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य, मान्यता र ऐन कानुनविपरित नागरिकले विरोध प्रदर्शन गरेकै आधारमा पक्राउ गरि नागरिकको मानव अधिकारजस्तो मौलिक हक, वाक स्वतन्त्रता, विरोध गर्न पाउने अधिकारलाई समेत बन्देज लगाउने कार्य नरोकिए केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपालस्थित् संयुक्त राष्ट्रसंघको कार्यालयमासमेत मानवअधिकार हननको उजुरी दिने पनि चेतावनी दिइएको छ ।   

पत्रकारहरुसँग कुरा गर्दै बैंकटेश्वर पिठाधिश स्वामी पद्यमधराचार्यले पशुपतिनाथ मन्दिर परिसरभित्र भएको बम आतंक सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न सरकारसँग माग गर्दै धार्मिक अभियन्ताहरुलाई बिना शर्त रिहाई गर्न आग्रह गरे ।   

त्यस्तै, सनातन हिन्दू धर्म शिरोमणि स्वामी राम बाबाले पशुपतिनाथजस्तो पवित्र क्षेत्रमा भक्तजनलाई त्रसित तुल्याउन बम आतंक सिर्जना गरिएको भन्दै सरकारले दोषी पत्ता लगाएर कडा कारबाही गर्नुपर्ने माग गरे ।   

कार्यक्रममा हिन्दू जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्यायले मेचीदेखि महाकालीसम्म आम हिन्दूहरु जाग्नुपर्ने बेला आएको सुनाए । उनले भने, ‘संसारकै हिन्दूहरुको आस्थाको धरोहरको रुपमा रहेको पशुपतिनाथ क्षेत्रभित्र बम राख्नेले तपाईँको घरमा पनि बम राख्न सक्छन् । त्यो भनेको बालुवाटार र सिंहदरबारपनि सुरक्षित छैन ।’ 

त्यस्तै शिवसेना नेपालका केन्द्रिय उपाध्यक्ष दिनेश कँडेलले आफ्नो संगठनका अध्यक्ष अनिल बस्नेतलगायत पक्राउ परेकाहरुलाई तत्काल रिहाई नगरे देशभरि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *