राजदूत होउ यान्छी भन्छिन्– चीनले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन

असोज ९, काठमाडौं । नेपालमा सी चिङफिङ विचारधाराबारे बहस भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्नो देश (चीन) ले कहिल्यै पनि विचार निर्यात नगर्ने स्पष्ट पारेकी छिन् ।   

चीन अध्ययन केन्द्रले सी जिनपिङ विचारधाराबारे बिहीबार काठमाडौंमा आयोजना गरेको ‘सी चिङफिङ थटः बिल्डिङ अ कम्युनिटी विद अ सेयर फ्युचर फर मेनकाइन्ड’ विषयक कार्यक्रममा बोल्दै राजदूत होउ यान्छीले यस्तो बताएकी हुन् ।   

उनले भनिन्, ‘सी विचारधारा पहिल्यै अन्तर्राष्ट्रियकरण भइसकेको छ । चीनले न पहिले अन्य देशमा विचार निर्यात गर्यो, न अब नै गर्नेछ । चीनले विचार निर्यात गर्दैन र कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप पनि गर्दैन।’ 

कार्यक्रममा यान्छीले दुई कम्युनिष्ट पार्टीबीच भएको वैचारिक बहसलाई अन्यथा नबुझ्न आग्रह समेत गरिन् । साथै उनले नेपाल र चीनबीच घनिष्ट सम्बन्ध भएका मित्रराष्ट्र भएको स्पष्ट पार्दै दुई देशबीचका छलफलहरु आर्थिक र सामाजिक विकासको विषयमा केन्द्रित रहेको उल्लेख गरिन्। 

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच केही दिनअघि काठमाडौंमा सी चिनफिङ विचारधारमाथि दुई दिने छलफल आयोजना गरिएको थियो । त्यसपश्चात् एकातर्फ चीनले नेकपा मार्फत् नेपालमा सी विचारधारा लाद्न खोजेको चर्चा भइरहेको छ भने अर्कोतर्फ चीनले फेरि विचार निर्यात गर्न लागेको भन्दै प्रश्न उठिरहेको छ ।   

उक्त छलफलमा सत्तारुढ दुई कम्युनिष्ट पार्टीबीच ६ बुँदे सम्झौता समेत भएपछि नेपाली कांग्रेस पनि झस्किएको देखिन्छ । विपक्षी कांग्रेस पार्टीले उक्त सम्झौतामा आपत्ति जनाएका छन् ।   

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *