कहिले बन्ला झमकको घर, कहिले आउलिन् काठमान्डू !

भाद्र २४, काठमाडौं । वि.सं. २०७२ सालको अन्तिमतिर तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलसँगको भेटमा साहित्यकार झमक कुमारी घिमिरेले आफ्ना लागि आवास (घर) बनाइदिन आग्रह गरिन् । आवास भए सिर्जना कोर्न सहज हुने उनको भनाइ थियो ।   

झमकको आग्रह लगत्तै मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कुरो चुहाए । औपचारिक शिक्षाविनै खुट्टाको तीन औंलाका सहायताले उत्कृष्ट रचना गर्ने साहित्यकार झमकबाट प्रभावित प्रधानमन्त्री ओली पनि पोखरेलको कुरामा राजी भए । अनि पोखरेलले पशुपति क्षेत्र विकास कोषको बैठक डाके । बैठकले  प्रधानमन्त्री ओलीको कुरा स्विकार्यो । र, आवास निर्माणका लागि काठमाडौं गोठाटारमा रहेको आफ्नो १२ आना जग्गा उपलब्ध गराउने निर्णय गर्यो । 

सरकारी निर्णय, काम र थालनी भनेपछि अलिकति ढिलो त भइ नै हाल्छ । २०७५ जेठमा ज्ञान ज्योति विल्डर्सले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटारमा कोषको नाममा रहेको १२ आना जग्गामा झमक घिमिरेको नयाँ घर बनाउने जिम्मा पायो । भाद्रबाटै काम सुरु भयो । अहिले घरको ७५ प्रतिशत काम सकिएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगिसकेको छ ।   

अबको केही महिनामा झमक धनकुटाको विकट गाउँबाट त्यहाँ बसाइँ सर्नेछिन् । उनलाई भेट्न चाहने उनका शुभचिन्तकलाई पनि सहज हुनेछ । 

कहिले सकिन्छ काम ? यसो भन्छन् ठेकेदार 

२०७५ जेठमा हामीले ठेक्का पाएका हौँ । भदौबाट काम सुरु गरेका थियौँ । दुई वर्षको सम्झौता हो । २०७७ साल जेठ १४ गतेभित्र हामीले काम सकेर सम्बन्धित पक्षलाई बुझाउनु पर्नेछ । यही असोजभित्र घर निर्माण सम्पन्न गरिसक्ने हाम्रो टार्गेट थियो । तर, सम्भव नै देखिएन । सरकारी काम भनेजस्तो नहुँदो रहेछ । एक त निर्णय नै समयमा नहुने । एउटा निर्णय हुनै तीन दिन लाग्दो रहेछ । यस्तो भएपछि कामदार पनि बस्दैनन् । अन्तै काम गर्न गइहाल्छन् ।  काम रोकिएपछि उनीहरुलाई त्यत्तिकै कुराएर राख्ने कुरा पनि भएन । हामीले मात्रै छिट्टै सकाउन चाहेर नहुँदो रहेछ ।   

अर्को कुरा झमकजीको घर अपांगमैत्री हो । झमकजीलाई चाहिने ट्वाइलेटहरु त्यही अनुसारको (अपांगमैत्री) बनाउनुपर्यो । सामानहरु पनि त्यही अनुसारको आवश्यक पर्छ । यहाँ पाइँदैन । दिल्लीबाट मगाउनुपर्छ होला । अपांगमैत्री बनाउनुपर्ने भएका कारण त्यसका लागि पनि समय लाग्ने भयो ।   

विभिन्न प्राविधिक कारण, त्यहाँको डेकोरेशन, फिनिसिङले गर्दा अलिकति बढी समय लाग्यो । भरपर्दो सामानहरु भन्ने बित्तिकै पाइएन । समयसापेक्ष अनुसारको बजेट निकासा पनि भएन । त्यसै कारणले ढिलो भयो ।   

हामीले १ करोड ८० लाखमा ठेक्का लिएका हौं । तर हाम्रो काम २ करोडभन्दा माथि जान्छ । हामी घाटामा हुन्छौं । फाइदा हुँदैन । सरकारले क्षतिपूर्ति दिँदैन । त्यो हामीले नै व्यहोर्नुपर्छ । सरकारी ढिलाइका कारण यस्तो भएको हो । हामीलाई इस्टिमेटमा दिएको भन्दा बढी काम थपिएको छ । 

मौसमले गर्दा पनि काम रोकियो । बाहिर काम गर्नै पाएका थिएनौं । अहिले काम द्रुत गतिमा अगाडी बढेको छ । बाहिर टायल टाँस्ने काम अघि बढेको छ । फल्स सिलिङ, वाल पुटिङ, भुइँमा टायल बिछ्याउने काम भइरहेको छ । घरको फिनिसिङको आइटम बढी छ । त्यसैले समय लाग्छ । तर, मंसीरसम्ममा काम सकाउने हाम्रो टार्गेट छ । समय भन्दा अघि नै घर निर्माण सम्पन्न गर्नेछौं ।  (ठेकेदार दिपक पराजुलीकाे भनाइ) 

कस्तो बन्दैछ घर ?   

साढे तीन तलाको घर । लिभिङ रुमसहित पहिलो तल्लामा ४, दोस्रो तल्लामा ५ र तेस्रो तल्लामा ३ कोठा छन् । झमक हिँड्डुल गर्न सक्दिनन् । त्यसैले कोठा, ट्वाइलेट सबै अपांगमैत्री छ । विद्युतिय लिफ्ट छ । सबै तल्लामा झमक लिफ्टमार्फत् सजिलै आवतजावत गर्न सक्छिन् ।   

पहिलो तल्लामा भव्य पुस्तकालय, अध्ययन कक्ष, भेटघाट कक्ष र झमकको सयन कक्ष हुनेछ । दोस्रो तल्लामा झमकको रेखदेख गर्न उनको परिवार बस्नेछन् । तेस्रो तल्लामा भने ठुलो सभाहल हुनेछ । साहित्यिक कार्यक्रम, कवि गोष्ठी एवम् बैठक गर्ने गरी यही तल्लामा सभाकक्ष बनाइएको हो । झमक प्रतिष्ठानको कार्यालय पनि त्यहीँ हुनेछ ।  

घरवरिपरि सुन्दर बगैँचा पनि हुनेछ । उनको घरको तेस्रो तल्लाबाट बौद्ध मन्दिर पनि देख्न सकिन्छ । वरपर निकै शान्त छ । घरको पछाडीपट्टी ठुलो चौरजस्तै छ । उनको कौशीबाट पारी–पारीसम्मका हरियाली युक्त दृश्य निकै सुन्दर देखिन्छन् । नजिकै कृष्ण मन्दिर पनि छ ।   

को हुन् झमक कुमारी घिमिरे ?   

  

सन् १९८० मा धनकुटाको कचिडेमा जन्मिएकी झमक कुमारी घिमिरे एक प्रतिभावान नेपाली महिला स्रष्टा (साहित्यकार) हुन् । सेलेब्राल पालसी नामक रोगबाट ग्रसित उनी जन्मेदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने थिइन् । उनी उक्त रोगबाट पीडित विश्वकै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन् ।   

बोल्न नसकेपनि उनी बुझ्न भने सक्छिन् । उनको खुट्टाको ३ औँला मात्रै चल्छन् । औपचारिक शिक्षा नलिएकी उनले तीनै ३ औंलाको सहायताले धेरै रचना प्रकाशित गरिसकेकी छिन् । ०७३ सालमा सरकारका तर्फबाट उनलाई मासिक २५ हजार उपलब्ध गराउने निर्णय समेत भएको थियो ।   

झमकले दर्जनौं पुरस्कार एवम् सम्मान प्राप्त गरिसकेकी छिन् । ‘जीवन काँडा कि फुल’ उनको चर्चित पुस्तक हो । यो कृतिमाथि फिल्म समेत निर्माण भइसकेको छ । यसै कृतिबाट उनले मदन पुरस्कार समेत पाएकी छिन् । योसँगै उनको ‘संकल्प’, ‘आफ्नै चिता अग्नि शिखातिर’, ‘मान्छेभित्रका योद्धाहरु’, ‘झमक घिमिरेका कविताहरु’, ‘क्वाँटी संग्रह’ लगायतका कृतिहरु प्रकाशित छन् ।   

अहिले उनी खुट्टाले नै मोबाइल चलाउन सक्छिन् । चलाइरहेकी छिन् । फेसबुक स्टाटस राख्छिन् । आफ्ना शुभचिन्तकहरुसँग च्याट गर्छिन् । हँसिली देखिन्छिन् । आफ्नै घर बन्दा खुशी पनि होलिन् सायद ।   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *