समृद्ध नेपालका यी कर्णधारको अवस्था के होला ?
आज बिश्व बाल दिवस, सम्पुर्ण बिश्वभर रहेका सम्पुर्ण बालबालिकालाई उनीहरुको बिशेषतः आधारभुत आवश्यकता गाँस, बास, कपास सहित अधिकार मिलोस । शिक्षा, स्वास्थ्य सहितको बाल अधिकार सुरक्षित होस । सम्पुर्ण बालबालिकालाई बाल दिवसको हार्दिक हार्दिक शुभकामना ।
यति लेख्दै गर्दा केहि पुराना यादहरु मानसपटलमा घोत्लिन पुग्छ । सन्दर्भ २ बर्ष अगाडिको हो । ०७४ सालको असार साउनमा पूर्वीतराईका अधिकांश जिल्लामा अविरल वर्षापछि आएको बाढि पहिरोले ताण्डव मच्चाइरहेको थियो । तराईका १८ भन्दा बढि जिल्ला डुवानमा पर्दा सप्तरी जिल्लाका जनता सबैभन्दा बढि पिडामा थिए । त्यसमा पनि बालबालिकाहरुको अवस्था अत्यन्त दयनीय थियो । बाढिपहिरोको कहर आएको एक साता वित्न लाग्दा पनि राज्यको उपस्थिति पुग्न सकेको थिएन ।
यस्तोमा शुलभ मिडिया प्रालिको संयोजनमा हामीले अन्य केहि संस्था र सञ्चारमाध्यमसँग मिलेर सप्तरीको तिलाठी र कोइलाठी क्षेत्रमा राहत लैजाने योजना अनुरु म सप्तरी जिल्ला गएको थिए । त्यस दौरान म र मेरो टीमले त्यहाँका जनताको पिडादायी अवस्था देखेको थियो । त्यो बाढिपहिरोको कहरबाट अभिभावक त पिडामा परे नै सबैभन्दा बढि त्यहाँका बालबालिका परेका थिए । बाढिको वितण्डा यतिसम्म थियो कि, दुई महिनाको नवजात शिशुदेखि १२ वर्षका किशोरका आङमा एकसरो कपडा थिएन । मुखमा लगाउने अन्न थिएन । घरमा राखेका अन्नपात मात्र हैन, गोठमा बाधिएका पशु समेत सकिएका थिए ।
चारैतिरको वातावरण जलैजल थियो । सडक किनारामा आफ्ना स–साना लालाबालासँग केहि सहयोगी हातबाट पाएका फुका चिउरा र चाउचाउको भरमा अडिएकाहरुका आँखामा जिउने झिनो आशा थियो । यस्तोमा हामीले विभिन्न संस्थाबाट संकलन गरेका त्रिपाल, लत्ताकपडा र खाद्यान्न अमृत समान भयो । हामीले सप्तरीको तिलाठी र कोइलाडी जो सबैभन्दा बढि बाढि प्रभावित क्षेत्र थियो त्यहाँ गएर नै राहत वितरण गर्ने अठोट गरेका थियौं । त्यहाँ पुगेर त्यस क्षेत्रको अवस्था हेर्दा बाढिको प्रकोप आएको चारदिन वितिसक्दा समेत कुनै राहत आएको रहेनछ । हामीले संकलन गरेको राहतले त्यहाँ अलपत्र परेका स्थानीय जनता तथा तिनका बालबालिकालाई ठूलो राहत पुग्यो । हामीले स्थानीय युवा तथा प्रहरी प्रशासनको सहयोगमा ती क्षेत्रमा राहत वितरण गर्यौं ।
तस्बिर हेरेर नझुक्किनुहोला यो कुनै अफ्रिकन मुलुकको होइन यी तस्वीरहरु सप्तरीको तिलाठी गाउपालिकामा बाढिपिडित बालबालिकाकै हो । सप्तकोशीको कहरबाट त्रसिद अभिभावक मात्र थिएनन् बालबालिका पनि थिए । उनीहरुको आँखामा कोशीको त्रास थियो । अनुहारमा निराशा थिए ।
दुई दिनसम्म लगाएर उक्त क्षेत्रमा राहत वितरण गरेर फर्कँदा मलाई ती क्षेत्रका बालबालिकाको अवस्थाले विचलित बनाएको थियो । बालबालिकाले बाँच्न पाउने आधारभूत आवश्यक्ता नपाएका, विद्यालयको मुखपनि देख्न नपाएका बालबालिकालाई भविष्यमा केहि सहयोग जुटाउने मनस्थिति बनाएको थिए । हुन त आजसम्म मैले ती बालबालिकाका लागि केहि गर्न सकिरहेको छैन । कसैलाई सहयोग गर्न सर्वप्रथम आफुमा पनि क्षमता हुनुपर्दोरहेछ । विविध कारणले आज दुई वर्ष पुगिसक्दा पनि ती बालबालिकालाई केहि गर्ने आँट पुर्याउन सकिरहेको छैन । यसको मूल कारण त्यो क्षेत्रको अवस्था यति भयावह थियो कि, एक जनाले मात्रै केहि गर्न सक्ने अवस्था थिएन । राज्यले चाहेको थियो भने, सबै थोक गर्न सक्थ्यो । तर, त्यत्तीबेला सामान्य राहत समेत बाँड्न नसकेको राज्यले अहिलेसम्म के नै पो गर्न सक्यो होला र ?
आवश्यकता धेरै थियो आवश्यकताको अगाडि हाम्रो सहयोग नगन्य । तथापि, त्यहाँका युवाहरुले हामीले लिएर गएको राहतलाई यसरी वितरण गरेकि कम्तिमा त्यहाँका पिडितलाई एक एक सातासम्म राज्यको उपस्थिति नहुँदा पनि बाच्ने आधार बन्यो । हामी दुई चार जना सहयोगीको सहयोगले त्यहाँका जनतालाई ठूलो सहयोग पुग्यो । राज्य नै लागेर उद्दार राहत दिएको भए धेरै हुने थियो ।
तराईको मूल समस्या भनेको अशिक्षा रहेछ । अधिकांश ती क्षेत्रका बालबालिकाहरु विद्यालय जानबाट बञ्चित रहेछन् । अझ भनू त्यहाँका अभिभावकलाई आफ्ना छोराछोरीलाई पढाउनु पर्छ, लेखाउनुपर्छ भन्ने ज्ञान नै थिएन । राहत वितरण गरेर फर्किइरहँदा मेरो मात्र हैन हामी सबैको मनमा खड्किएको विषय थियो ।
भनिन्छ बालबालिका नै भविष्यका कर्णदार हुन् । राष्ट्र निर्माणमा यिनिहरुको ठुलो हात हुन्छ । तर, हाम्रो देशका ग्रामिण क्षेत्रमा रहेका बालबालिकाहरुले देश निर्माणको सपना त पर जावोस आफ्नै विकासको लागि समेत पढ्न सकिरहेका छैनन् । बिचरा यी कोपिला फक्रिन नपाउँदै टुट्ने त हैनन् भन्ने प्रश्नले मलाई अझैसम्म सताईरहेको छ । समृद्ध नेपालका कर्णधारको अवस्था के होला ? मन भस्किइरहन्छ ।
मेरो सरकार प्रति हार्दिक अनुरोध, ती बाढिपिडित बालबालिकाको पढ्न पाउने र बाँच्न पाउने अधिकार सुनिश्चित गरियोस । यी बालबालिकाहरुलाई राज्यले शिक्षा, स्वास्थ्य, गाँस बास र कपोसको ब्यवस्था गर्न सके यीनले भोली आफ्नो समाज र राष्ट्रको विकासमा ठूलो योगदान गर्न सक्छन् । राज्यले यी बालबालिकाको लागि अभियान चाल्दा हामी नागरिक पनि आफ्नो क्षेत्रबाट राज्यसँग सहकार्य गरी अगाडी बढ्न तयार छौं ।
हामी समृद्ध नेपालको कल्पना गरीरहेका छौं । हामी २१ औं शताब्दीको विकासको पथमा लम्किन लागिरहेका छौं । तर, २१ औं शताब्दीका लागि चाहिने दक्ष जनशक्ति तयार गर्न चुकिरहेका छौं । यी बालबालिकालाई २१ औं शताब्दीका लागि योग्य नागरिक बनाउने हो भने राज्यले आवश्यक लगानी गर्न आवश्यक छ । राज्यले यीनीहरुको लालन पालन शिक्षा दिक्षाको जिम्मा लिन आवश्यक छ ।
अन्तमा यी हरफहरु बालबालिकामा समर्पित
जुन थियो त्यो दिन
जुन थियो त्यो दिन
जुन अत्यन्तै आनन्दित थियो
न कुनै सम्बन्ध थियो दुखः सँग
न कुनै सम्बन्ध थियो क्रोध सँग
न कुनै सम्बन्ध थियो ईष्र्या सँग
न कुनै सम्बन्ध थियो डाहा सँग
न कुनै सम्बन्ध थियो घमण्ड सँग
आवश्यकता थोरै थिए
संसारका भिड सँग अनविज्ञ थिए
पिडा बाट टाढा थिए
सम्बन्ध थियो त मात्र प्रेम सँग
जिवन अत्यन्तै खुशियालि थियो
त्यो समय थियो मेरो बालकपन
यस्तै सम्बन्ध संसारका सबै बालहरुको होस्
बाल दिवसको हार्दिक हार्दिक शुभकामना ।