नेपालका कारागार विदेशी कैदिबन्दीले भरिँदै, वार्षिक ७ कराेड सरकारी ढुकुटी विदेशी कैदिबन्दी पाल्न खर्च

भाद्र २५, काठमाडौं । बिकिनी किलरका नामले चिनिएका कुख्यात फ्रान्सेली अपराधी चाल्स शोभराज यति बेला नेपालमा जेल जीवन बिताइरहेका छन् । उमेरले ७० बर्ष नाघेका उनलाई १२ जना विदेशी नागरिक हत्याको अभियोग छ । अर्का विदेशी नागरिक हुन् पिटर जोन ड्यालग्लिस । 

युएनको विशिष्ट पदमा काम गरिसकेका क्यानेडियन नागरिक ड्यालग्लिस हाइप्रोफाईल व्यक्ति मानिन्छन् । तर, तीनै हाइप्रोफाइल व्यक्ति २०७४ चैतमा मण्डन देउपुर काभ्रेबाट बाल यौन दुराचारीको आरोपमा समातिए । अहिले उनी काभ्रे जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । चाल्स शोभराज र पिटर जोन ड्यालग्लिस मात्र होइन, २०७५ माघ ५ गते बेलायती नागरिक इयान रोवट कोल पनि बालयौन दुराचारको आरोपमा समातिए । अहिले उनी पनि जेल भित्रै छन् । 

यी त प्रतिनिधिमुलक उदाहारण मात्र हुन् । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, अहिले नेपालका कारागारमा १ हजार १ सय ९५ जना विदेशी कैदीबन्दी छन् ।देशभरका ७४ वटा कारागार र तीन वटा बाल सुधार गृहमा गरी जम्मा कैदीबन्दीको संख्या २३ हजार ९५ छ । 

विभागका महानिर्देशक बासुदेव घिमिरेका अनुसार, सवै भन्दा बढी २ सय ११ जना विदेशी पर्सा जिल्ला कारागारमा छन् । त्यसैगरी काठमाडौंको सुनधाराको जगन्नाथदेव कारागार, झापा, मोरङ, सुनसरी, ललितपुर, कैलालीलगायत कारागारमा विदेशी कैदीबन्दी छन् । 

विभागका महानिर्देशक घिमिरेका अनुसार, विदेशी कैदीहरु मध्ये सवैभन्दा बढी भारतीय र चिनियाँ छन् । कारागारका अधिकांश पाकिस्तानी भारतीय जालीनोट, कीर्ते राहदानी तथा लागुऔषध ओसारपसारमा संलग्न अभियुक्त हुन् । यस्तै अफ्रिकी र युरोपेली मूलका कैदीहरू लागुऔषध कारोबार तथा कीर्ते राहदानीमा समेत मुछिएका छन् । 

विदेशी कैदीबन्दीका नाममा वार्षीक ७ करोड खर्च 

अहिले सरकारले कैदी वन्दीलाई दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ पैसा दिंदै आएको छ । यस बाहेक दशैं खर्च, सुत्केरी खर्च, लत्ताकपडा, औषधी उपचार लगाएतमा पनि खर्च हुन्छ । कारागार व्यवस्थापन विभागका अनुसार, एकजना कैदीबन्दी बापद् सरदर मासिक ५ हजार रुपैयाँ खर्च हुन्छ । यसलाई हेर्दा १ हजार १ सय ९५ कैदीबन्दीका लागि मासिक ५९ लाख ७५ हजार रुपैयाँ खर्च हुन्छ । यही रकमलाई एक बर्षको हिसाब गर्दा ७ करोड १७ लाख भन्दा बढी रकम विदेशी कैदीबन्दीका नाममा मात्र खर्च भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *