असोज १० देखि नयाँ नोट साटिने, नोटमा केरमेट नगर्न आग्रह


असाेज ३, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नोटमा केरमेट नगर्न आग्रह गर्दै असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने जानकारी गराएको छ ।
त्यस्ता नोट चलनचल्तीमा आउन नसक्ने भएकाले नोटमा केरमेट नगर्न आग्रह गर्दै असोज १० गतेदेखि नयाँ नोट उपलब्ध गराउने जानकारी दिएको हो ।
बैंकले नयाँ वा सुकिलो नोटको सुरक्षा गर्न भन्दै टीका लगाई दक्षिण दिँदा, पूजाआजा गर्दा वा अन्य कुनै धार्मिक वा सांस्कृतिक कार्य गर्दा रङ्ग लागेका वा मैलिएका हातले नोट नछुन बैंकले सबैलाई आग्रह गरेको हो ।
दशैँमा विशेष गरी साना दरका नयाँ सुकिलो नोटको माग उच्च हुने भएकोले विभिन्न बैंक तथा वित्तीय संस्थामा नयाँ नोट उपलब्ध हुने जनाईएको छ ।
केन्द्रीय बैंकले आफ्नै मुद्रा व्यवस्थापन विभाग, बालुवाटार र विराटनगर, जनकपुर, विरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयमा नयाँ नोट उपलब्ध गराउने भएको छ ।
राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार नेपाल बैंकका नयाँ सडक, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखामा नयाँ नोट उपलब्ध गराईनेछ ।
यस्तै राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार शाखा, टेकु, नयाँ बानेश्वर, सानोथिमि, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखा तथा कृषि विकास बैंकका गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट दिने व्यवस्था मिलाइएको उनले जानकारी दिएका छन् ।
