दुई तिहाई सरकार निकम्मा भएको देउवा, सिंह र थापाको आरोप

असोज ११, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा एकतन्त्रीय निरंकुश शासन लाद्न खोजे कम्युनिस्टहरुका लागि दुर्भाग्य हुने चेतावनी दिएका छन् ।कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ ले शनिबार नक्सालमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले नेपाली जनताले निरंकुश र एकतन्त्रीय शासनको प्रतिवाद गर्ने चेतावनी दिए । 

पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले कम्युनिस्टहरु प्रजातन्त्र विरोधी भएको प्रमाणित भएको टिप्पणी गरे । उनले प्रजातन्त्रको विकल्प अरु हुन नसक्ने औंल्याए । उनले जनताको अधिकार रक्षाका लागि चाडबाडलगत्तै आन्दोलन गर्नुपर्ने भएकाले तयारी गर्न नेता कार्यकर्तालाई पनि निर्देशन दिए ।  

उनले कर, भ्रष्टाचार र महँगीको पर्याय वर्तमान ओली सरकार भएको भन्दै जनताको ढाड सेक्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाए । देउवाले ओली सरकारबाट जनताले मुक्ति चाहेको भन्दै सरकार आफैं पतनको बाटोमा गएको जिकिर गरे ।   

कार्यक्रममा बोल्दै अर्का कांग्रेस नेता  प्रकाशमान सिंहले  नौबिसे–नागढुंगाको सवारी जाम पनि खुलाउन नसक्ने सरकारबाट केहि आश गर्न नसकिने बताए ।  जाममा परेर विरामीको मृत्यु हुँदासम्म पनि दुई तिहाइ बहुमतको सरकारले सहजरुपमा यात्रा गर्ने वातावरण बनाउन नसकेको भन्दै नेता सिंहले आलोचना गर्दै सरकारबाट जनताले केहि आशा गर्ने अवस्था नरहेको जिकिर गरे ।  

नेता सिंहले जनजीवन अस्तव्यस्त हुँदापनि सरकार चूप लागेको भन्दै भने–‘चाडवाडका बेला मात्र हैन अन्य बेलामा पनि बजार भाउ अनियन्त्रित छ, जनजीवन अस्तब्यस्त छ, यस्तो अवस्थामा सरकारको कुनै उपस्थिति नदेखिनु दुःखद हो ।’  उनले भने–‘यो सरकारले सडकको जामसमेत खोल्न सकेको छैन । जनताको न्युनतम चाहना पनि पूरा गर्न सकेको छैन, हरेक ठाउँमा असफल भएको छ ।’ नागढुंगा नौविसे जाममा घण्टौंसम्म बस्दा बिरामीको मृत्यु हुँदासमेत बाटो खुलाउन सरकारले ध्यान नदिनु लाजमर्दो भएको सिंहको भनाई थियो । 

उनले सरकार चाडबाडको समय नागरिकलाई सहज वातावरण बनाइदिनुको सट्टा चिनियाँ राष्ट्रपति सी जिनफिङ बिचारको पछि लागेको भन्दै सरकारको आलोचना गरे । साथै उनले चिनियाँ मोडलको व्यवस्था नेपालमा भित्राउन खोजेमा दुर्भाग्य हुने समेत बताए । पूर्व उपप्रधानमन्त्री सिंहले सरकारलाई संविधान विपरीत काम गरेको समेत आरोप लगाएका छन् । “सरकारलाई संविधानको मूल्य र मान्यताविपरीतका काम गर्न अधिकार छैन”, उनको भनाई रहेको छ । 

कार्यक्रममा बोल्दै कांग्रेसका नेता गगन कुमार थापाले आफूलाई सिंहको उपमा दिने कम्युनिस्ट पार्टी विरुद्ध कांग्रेसले सिकार गर्ने घोषणा गरेका छन् । पूर्वमन्त्री थापाले कम्युनिस्ट पार्टीले जनताको विरुद्ध कानुन ल्याउन खोजेको भन्दै त्यसको सदन र सडक दुवै ठाउँबाट प्रतिवाद गरिने बताए । 

कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ, तरुण दलका अध्यक्ष जीतजंग बस्नेतलगायतले पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेसमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *