मेलम्चीमा स्थानीय मजदूर र प्रहरीबीच झडप, ६ राउण्ड अश्रुग्यास प्रहार

भदौ १९, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनास्थलमा प्रहरी र आयोजनाबाट पीडित स्थानीय मजदूरबीच झडप भएको छ ।   

मेलम्चीको अम्बास्थानमा बुधबार देखि आन्दोलन गर्दै आएका आयोजनाका पीडितहरु प्रदर्शन गर्दै आयोजनास्थल प्रवेश गर्न लागेपछि रोक्ने क्रममा प्रहरी र उनीहरुबीच झडप भएको हो ।   

आन्दोलनको दोस्रो दिन बिहीबार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपका क्रममा प्रहरीले दुई राउण्ड हवाइ फायर र अश्रु ग्यास प्रहार गरेको छ ।   

झडपमा दुई प्रहरी र दुई आन्दोलनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधव काफ्लेले जानकारी दिए । प्रहरीमाथि ढुंगामुढा हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको उनको भनाइ छ ।   

मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला, लोकल कन्ट्रयाक्टर्सको भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *