अझै फेला परेनन् अक्कर भिरबाट खसेका ६ जना, खोजी कार्य जारी
असोज ४, संखुवासभा । पाँच दिनअघि अक्करको भिरबाट जीप खस्दा बेपत्ता भएका ६ जनाहरु अझै फेला पर्न सकेका छैनन् । उनीहरुको खोजी कार्य आज तेस्रो दिन पनि जारी छ ।
विपद् उद्धार गण काठमाडौंबाट आएका ४ जना गोताखोरको टोलीले बिहिबारदेखि उनीहरुको खोजी गरिरहेका छन् । बिहीबार र शुक्रबार दिनभर खोजी गरिए पनि हालसम्म पत्ता लाग्न सकेको छैन ।
घटनास्थलमा पानीको बहाव धेरै र गहिरो हुनुका साथै शुक्रबार वर्षा भएका कारण खोजीमा कठिनाई भएको खोजीमा संलग्नहरु बताउँछन् ।
दुई दिनको खोजी कार्य असफल भएपश्चात आवश्यक उपकरण प्रयोग गरि शनिबार पनि खोजी कार्य सुरु गरिएको प्रहरीले जानकारी दिएका छन् ।
जिप दुर्घटनामा परि खाँदबारी १ ढुङ्गे विसौनाका एकै परिवारका ३ जना, २४ वर्षिय संगम श्रेष्ठ, उनकी श्रीमती २२ वर्षिय सदीक्षा र २ महिनाका छोरा समिर बेपत्ता भएका थिए । त्यस्तै खाँदबारी ९ गैरिगाँउका प्रमिस थापामगर उनका भिनाजु खोटाङ घर भएका खवरमान मगर र जीपका चालक खाँदबारी १ का २६ वर्षिय सन्तोस विक पनि जिप दुर्घटनामा बेपत्ता छन् ।