गैरीधारामा इसुजुको नयाँ सोरुम सञ्चालनमा
असोज १०, काठमाडौं । राजधानीको गैरीधारामा जापानी गाडी इसुजुको नयाँ सोरुम खुलेको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सञ्चालनमा ल्याएको उक्त सोरुमको उद्घाटन नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शुक्रबार गरे ।
यो नेपालमा इसुजुको ११ औं सोरुम हो । उद्घाटन समारोहमा इसुजु इन्डियाका डेपुटी म्यानेजिङ डाइरेक्टर केन ताकासिमाको पनि उपस्थिति थियो ।
सोरुम उद्घाटन गर्दै कन्टिनेन्टलका चेयरम्यान सुहृदराज घिमिरेले उक्त कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल भित्र्याएको जानकारी गराए । इसुजुका ग्राहकलाई गाडी बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन कम्पनीले देशभरीमा १५ वटा वितरण तथा सर्भिस नेटवर्क विस्तार गरिसकेको पनि घिमिरेले बताए ।
वितरण र सर्भिस नेटवर्क अझै विस्तार गर्दै जाने कम्पनीको योजना छ । इसुजुका गाडीहरु निकै बलिया मानिन्छन् । सन् २०१७ यता कम्पनीले नेपालमा हजारभन्दा बढी गाडी बेचिसकेको र ग्राहकहरु निकै सन्तुष्ट रहेको पाइएको छ । कन्टिनेन्टलले नेपालमा इसुजुका दुई हजार गाडी बेच्ने लक्ष्य राखेको छ । त्यसका लागि देशभर सर्भिस सेन्टर खोल्ने र नयाँ मोडलका गाडीहरु ल्याउने कम्पनीको योजना छ ।
हाल नेपालमा उपलब्ध इसुजुका गाडीमा सुरुआती मूल्य २४ लाख ९० हजार तोकिएको सिंगल क्याब, ४४ लाख ९० हजार पर्ने एस क्याब, ६८ लाख ९० हजार पर्ने भी–क्रस २.५ र जिप भेरिएन्टको एसयुभी मक्स गाडी छन् । मक्सको मूल्य एक करोड ४४ लाख ९० हजार तोकिएको छ ।
इसुजु नेपालमा सबैभन्दा बढी वारेन्टी दिने ब्रान्डमा पर्छ । इसुजुका सबै मोडलमा तीन वर्ष वा एक लाख किलोमिटरको वारेन्टी छ । डिजेल इन्जिनमा इसुजु विश्वविख्यात कम्पनी हो । यसका डिजल इन्जिनहरु असाध्यै बलिया मानिन्छन् ।
ग्राहकको सन्तुष्टिलाई उच्च प्राथमिकता दिएर कारोबार गर्ने कम्पनीको प्रतिबद्धता छ । इसुजुको भारत र थाइल्यान्ड प्लान्टमा एसेम्बिङ भएका गाडी कन्टिनेन्टलले नेपालमा बिक्री–वितरण गर्छ । कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो वर्षभित्रै सर्भिस नेटवर्क १९ बनाउने र अर्को वर्षसम्ममा प्रत्येक ५० देखि १०० किलोमिटरको दुरीमा एउटा सर्भिस प्वाइन्ट खोल्ने व्यवस्था मिलाइरहेको छ ।
इसुजु मोटर्स लिमिटेड जापानी कमर्सियल भेइकल र डिजेल इन्जिन निर्माता कम्पनी हो । एक सय तीन वर्ष पुरानो यो कम्पनीले इसुजु ब्रान्डमा कमर्सियल भेइकल र डिजेल इन्जिन उत्पादन र मार्केटिङ गर्छ । यसका भेइकल उत्पादन प्लान्ट विश्वका विभिन्न २८ देशमा देशमा छन् । एक शताब्दीको अवधिमा इसुजुले दुई करोड ८० लाख थान डिजेल इन्जिन उत्पादन गरिसकेको छ ।
कम्पनीले झण्डै आठ दशक डिजेल इन्जिनको अध्ययन, अनुसन्धान र उत्पादनमा बिताएको छ । जसले गर्दा यसलाई डिजेल इन्जिनको प्राविधिक नविनतामा विश्वकै अग्रणी कम्पनी मानिन्छ ।