जिल्ला सभापति माथि आक्रमण गर्ने वडाध्यक्षविरुद्ध कांग्रेसले दियो किटानी जाहेरी दर्ता

भाद्र ३०, काठमाडौं । नेपाली कांग्रेस बाँके जिल्ला सभापति माथि आक्रमण गर्ने वडाध्यक्ष विरुद्ध कांग्रेसले किटानी जाहेरी दिएको छ । पार्टीको बाँके जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरेको आरोपमा खजुरा गाउँपालिका–१ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध दिएको किटानी जाहेरी दर्ता भएको हो । वडाध्यक्ष विरुद्ध किटानी जाहेरीपछि नेपाली कांग्रेसले संसद अवरुद्ध नगर्ने भएको छ ।   

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार संसद बैठक अवरुद्ध नगर्ने भएको छ । आजको संसद बैठक अवरुद्ध नगर्ने सचेतक पुष्पा भुसालले बताइन् । आइतबार साझ बाँके प्रहरीले वडाध्यक्षलगायत विरुद्ध दिएको किटानी जाहेरी दर्ता गरेकोले आजको संसद बैठक काँग्रेसले अवरोध नगर्ने भएको हो ।   

काँग्रेस सांसदहरुले सरकारमाथि तथ्यलाई तोडमोड गरेर अपराधीलाई छुट दिन किटानी जाहेरी दिएका व्यक्ति पक्राउ नगर्ने षडयन्त्र गरेको आरोप लगाएका थिए  । आइतबार काँग्रेसले घटनाका दोषीमाथि तत्काल कारबाहीको माग गर्दै प्रतिनिधि र राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको थियो । 

काँग्रेसले अवरोध जारी राखेपछि सभामुख कृष्णबहादुर महराले आज दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । गत बिहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा जिल्ला सभापति कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता आक्रमण भएको थियो । 

उक्त घटनामा कांग्रेस जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने अन्य केही सामान्य घाइते भएका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *