दाजुलाई खुकरी प्रहार गरी भाईले किन गरे आत्महत्या ?
असोज ६, फिक्कल । आइतबार इलाममा एक भाईले दाजुलाई खुकुरी प्रहार गरी घाइते बनाई रुखमा झुण्डिएर आफूले आत्महत्या गरेका छन् ।
इलाम सन्दकपुर गाउँपालिका–१ झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरि घाइते बनाई आफूले रुखमा झुण्डिए आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट गम्भिर घाइते भएका बिष्णुको इलाममा उपचार सम्भव नभएपछी उनलाई झापा लगिएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिएका छन् ।
घाइते विष्णुको बाँया आँखाको माथि कञ्चटमा काटिएको र दाहिने कानको छेउमा बाहिरी चोट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आफ्नै घर नजिक घाँस काटिरहेका बिष्णुलाई उनको भाई बुद्धवीरले एक्कासि खुकुरी प्रहार गरेको हो ।
दाईलाई खुकुरी प्रहार गरी फरार भएका उनलाई खोज तलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३०० मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।