चीनले नेपाललाई सि विचारधाराको प्रचार थलोको प्रारम्भको रुपमा प्रयोग गरेको छः केसी

असोज ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको ६ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उभिनुले उक्त सहमति नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच मात्रै नभएर नेपाल र चीन सरकारबीच भएको जस्तो देखिएको बताएका छन् ।   

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले प्रशिक्षण कार्यक्रममा नेकपाका नेताहरुले चिनियाँ नेताहरुबाट गायत्री मन्त्र सुनेको ढंगले कुरा सुनेको टिप्पणी गरे ।   

उनले भने, ‘मेरो सबैभन्दा ठूलो आपत्ति के छ भने–जुन ६ बुँदो सम्झौता भयो, त्यो कार्यक्रममा माधव नेपाल  हुनुमा आपत्ति होईन, उहाँ त विदेश विभाग प्रमुख हो । प्रचण्ड हुनुमा पनि कुनै आपत्ति छैन । उहाँ पनि पार्टीको नेता हो । तर, प्रधानमन्त्री नै उभिनुलाई मैँले गम्भिर रुपमा लिएको छु । प्रधानमन्त्री उभिनुको अर्थ यो चाहीँ दुई राष्ट्रबीचको सम्झौताजस्तो देखिन्छ ।’ 

उनले पार्टी–पार्टीबीचमा भाईचारा सम्बन्ध राख्नु स्वभाविक भएको सुनाए । ‘पार्टी–पार्टीबीच भाईचारा सम्बन्ध स्थापित हुनुलाई हामीले साधारण रुपमै लिएका छौँ’, उनले अघि थपे, ‘चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाली कांग्रेसको पनि भाईचारा सम्बन्ध छ । हामी त्यो सम्बन्धलाई जहिलेपनि उच्चतम रुपबाट सम्मान गर्छौं । तर, कुरा अहिले के आईरहेको छ भने सि जिनपिङ विचाराधाराको प्रवेश जसरी नेपालमा भएको छ, त्यो प्रवेश स्वयममा आश्चर्यजनक रुपमबाट भएको छ । ६ बुँदे सम्झौता जुन भयो । त्यहाँ प्रधानमन्त्री पनि हुनुहुन्थ्यो । यसकारण त्यो हस्ताक्षर चीन र नेपालबचिको हस्ताक्षरजस्तो देखियो ।’ 

उनले नेपालमा नेकपाले शासन÷सत्ता पाएको बहुदलीय प्रतिष्पर्धात्मक कम्युनिष्ट भएर पाएको केसीले सुनाए । उनले भने, ‘त्यो कुरा उनीहरुले सम्झिनुपर्ने आवश्यकता छ । तर, केही नेकपाका युवा नेताले यो बिआरईसँग सम्बन्धित भनेर टिप्पणी गरेको पनि मैले सुनें । बिआरई भौतिक पूर्वाधार र विकाससँगमात्रै सम्बन्धित्  । यो विचारसँग सम्बन्धित होइन । यसमा सि जिनपिङ विचार जोड्न मिल्दैन ।’   

उनले आफूहरु अहिले आफ्नो आन्तरिक व्यवस्थापनमा केन्द्रित रहेको सुनाए । उनले भने, ‘नेपाल कम्युनिष्ट पार्टीको यही अलोकतान्त्रिक धारबाट जसरी गैरहेको छ । अहिलेको जुन परिस्थिति छ । त्यो परिस्थितिले कांग्रेसलाई बाध्य भएर सोच्न विवश बनाएको छ । हामीले जसरी नेपालको इतिहामा तीन वटा क्रान्तिको नेतृत्व गर्यौँ । अब चौँथो क्रान्ति कम्युनिष्टको विरोधमा गर्नुपर्ने आवश्यकत्तातर्फ समयले घचघचाएको छ ।’ 

नेता केसीले कांग्रेसले भर्खरै दोस्रो चरणको जागरण अभियान सफलतापूर्वक सम्पन्न गरेको सुनाए । उनले जागरण अभियानको मुख्य उद्देश्य भनेको नै आन्तरिक सुसुप्ततालाई चेतनातर्फ डोर्याउनु रहेको पनि स्पष्ट पारे । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *