प्रहरीमा ३० वर्षे सेवा अवधि भयाे घाँडाे, आइजिपीको कार्यकाल १४१ दिन, ठाकुर ज्ञवालीको पाँच महिना चार दिन

  

असोज १, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको कार्यकाल अब १४१ दिन बाँकी रहेको छ । आजबाट उनको कार्यकाल १४१ दिन बाँकी रहेको हो । २०४६ साल माघ २९ गते प्रहरी सेवामा प्रहरी निरीक्षकका रूपमा प्रवेश गरेका आइजिपी खनाल ३० वर्षे सेवा अवधिका कारण १५१ दिनपछि अवकाशमा पर्ने भएका हुन् । त्यसो त आइजिपी खनालमात्रै होइन उनका व्याजीहरू पनि सोही दिन अवकाशमा पर्नेछन् ।  

एआइजीहरू पुष्कर कार्की, ठूले राई, धिरु बस्नेत, डिआइजीहरू राजेन्द्रमान श्रेष्ठ (उनी असक्त अवस्थामा छन्), केदार रिजाल, दिनेश अमात्य, शेरबहादुर बस्नेत, दीपक थापा, मनोज न्यौपाने, सुरेशविक्रम शाह, महेशविक्रम शाह, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, महेन्द्रकुमार पोखरेल, नारायणसिंह खड्का, कमल जिटी, दानसिंह बोहरा, पीताम्बर अधिकारी, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ र हरिभक्त प्रजापति पनि सोही दिन अवकाश हुनेछन् अर्थात् उनीहरू आगामी माघ २८ गतेदेखि अवकाशमा पर्नेछन् । 

१४६ दिन जागिर बाँकी रहेको अवस्थामा आइजिपी खनालसमेतको समूह ३० वर्षे सेवा अवधि हटाउन क्रियाशील छन् । त्यसो त ३० वर्षे हटाउने खेल यसअघि पनि बारम्बार नभएका होइनन् । विगतमा ३० प्लस २ को प्रावधानका कारण प्रहरीमा म्याद थप गर्ने ठूलो चलखेल हुँदै आएको थियो । तत्कालीन गृहमन्त्री भीम रावलका पालामा प्लस २ को व्यवस्था हटाएर ३० वर्षे सेवा अवधि कायम गरिएपछि आइजिपी र उनको समूह जहिले पनि ३० वर्षे हटाउने अभियानमा सक्रिय रहँदै आएको छ भने त्योभन्दा पछिल्लो र त्यसपछिको समूह ३० वर्षे हटाउनु हुँदैन भनी लबिङ गर्दै आइरहेका छन् ।   

अहिले पनि आइजिपी खनाल र उनको समूह दैनिकरूपमा नै १४१ दिन जागिर बाँकी रहेका अवस्थामा ३० वर्षे हटाउने अभियानमा सक्रिय हुनु अस्वाभाविक पक्कै होइन । तर, हिजो आफू आइजी वा एआइजी र डिआइजी बन्न नपाइने भइयो भन्दै ३० वर्षे हटाउन हुँदैन भनेर लबिङ गर्नेहरू नै अहिले ३० वर्षे हटाउन सक्रिय हुँदा त्यसको पछाडि ती अधिकृतहरूको स्वार्थ जोडिएको छ भन्ने कुरा प्रधानमन्त्रीदेखि गृहमन्त्री र सत्तारुढ दलका शीर्ष नेतालाई थाहा नभएको पनि होइन ।   

यस अर्थमा पनि ३० वर्षे सेवा अवधि सहजै हट्ने अवस्था देखिँदैन । त्यसमाथि वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आइजिपी बनाउँदादेखि नै प्रधानमन्त्री केपी ओलीसँगको चीसो सम्बन्धका कारण पनि त्यति सहज देखिँदैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहालको विशेष पहल र जोडबलमा आइजिपी बनेका खनाललाई प्रधानमन्त्री ओलीले बाध्य भएर स्वीकार्नु परेको तथ्य एकातर्फ छँदैछ अर्कोतर्फ प्रधानमन्त्री ओलीले नेपाल प्रहरीजस्तो अग्रपंक्तिमा रहेको फौजी संगठनको प्रमुखलाई सुरक्षाका रिपोर्टिङहरूमा समेत समय नदिनुले सम्बन्ध राम्रो छैन भन्ने कुरा पुष्टि हुन्छ ।   

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, गृहमन्त्री रामबहादुर थापा र नेकपा अध्यक्ष पुष्पकमल दाहालसँग नजिकको सम्बन्धका कारण नै आइजिपी खनाल टिकिरहन सफल भएका छन् । बीच बीचमा सरकारले आइजिपी खनाललाई हटाउँदै छ भन्ने जस्ता चर्चाहरू पनि सञ्चारमाध्यमहरूमा नआएका होइनन् तर आइजिपी खनाललाई जोगाउने काम यिनै पात्रहरूले गरेका कारण चर्चाका बीच नै खनालले लामो समय बिताइसकेका छन् । 

१५१ दिनपछि अहिलेकै ३० वर्षे सेवा अवधि रहिरहेको खण्डमा डिआइजी ठाकुर ज्ञवाली नेपाल प्रहरीको आइजिपी बन्ने झण्डै निश्चित छ । हाल १ नम्बर प्रदेशको सुरक्षा कमाण्डर रहेका ज्ञवाली नेपाल प्रहरीभित्र स्वच्छ र इमान्दार प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । उनलाई सत्तारुढ दल नेकपाका शीर्ष नेताहरूसँगको नजिकको सामीप्य र सम्बन्धका कारणले पनि आइजिपी बन्न सहज हुने देखिन्छ । किनकि उनको प्रतिस्पर्धी रहेका हाल ७ नम्बर प्रदेशमा कार्यरत डिआइजी तारणी लम्साल राजनीतिकरूपमा काँग्रेस नजिक भनेर चिनिन्छन् । त्यसैले पनि उनी अहिले ७ नम्बर प्रदेश पुगेका छन् । ठाकुर ज्ञवाली पनि आइजिपी खनालकै व्याजी हुन् तर उनी वैकल्पिक उम्मेदवारका रूपमा ५ महिना ४ दिन पछाडि प्रहरी सेवामा प्रवेश गरेका कारणले पनि उनलाई नेपाल प्रहरीको आइजिपी बन्ने भाग्योदय जुरेको देखिन्छ । 

आइजिपी खनालको वैकल्पिकका रूपमा ज्ञवालीका अलावा तारणी लम्साल, सूर्यप्रसाद उपाध्याय र वीरेन्द्र श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरेका थिए । यदि ज्ञवाली आइजिपी भएको खण्डमा उनी २०७७ असार २४ गते ३० वर्षे सेवा अवधिकै कारण अवकाशमा पर्नेछन् । १५१ दिन वर्तमान आइजिपीकै कार्यकालको समयावधि रहेका कारण ३० वर्षे हटाउने अभियान पनि चलिरहेको कारण अनेकन जोडघटाउहरू प्रहरी संगठनभित्र भइरहेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *