पक्राउ परेका गृहमन्त्रीका भाइको अदालतमा बयान हुँदै

भाद्र २६, काठमाडौं । ठेकेदार धम्क्याएको आरोपमा पक्राउ परी हिरासतमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का भाइ नरेशकुमार थापासहित ८ जना प्रतिवादीमाथि काठमाडौं जिल्ला अदालतले अहिले बयान लिइरहेको छ । 

मंगलबार सरकारी वकिल कार्यालयले मुद्दा बुझाएपछि बुधबारबाट प्रतिवादीहरूको बयान थालिएको अदालतले जनाएको छ । जिल्ला अदालतको चार नम्बर इजलासमा न्यायाधीश मेदिनीप्रसाद पौडेलले प्रतिवादीहरूको बयान भइरहेको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । 

अवैध असुलीका एक प्रतिवादी फरार छन् । प्रहरीले थापासहित ९ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । पक्राउ परेकामध्ये थापासहितका ८ प्रतिवादीलाई बयान लिने काम भइरहेको तर सबैको सकिएको भने छैन ।   

‘नरेशबहादुर भनिने नरेशकुमार थापासमेत ८ जना प्रतिवादीको बयान जारी छ, थापासँग लिइसकिएको छैन,’ श्रेस्तेदार श्रेष्ठले भने । अदालतमा बिहीबार पनि प्रतिवादीको बयान चल्नेछ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्यामा जेलमा रहेका गुन्डा नाइके समीरमानसिंह बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापा अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले मुद्दा अघि बढाएपछि थापा आफैं प्रहरीको सम्पर्कमा आएका हुन् । 

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार नरेशले निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने गरेका थिए । ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले थापामाथि आपराधिक लाभ लिने प्रयास गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको बताए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *