सरकार किने माफियाले, संविधान बचाउने कसले ?

तस्वीरः शशीविक्रम कार्की 

असोज ४, काठमाडौं । ‘सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलाइन्स’ ले निजी मेडिकल कलेजहरुले लिएको बढि शुल्क फिर्ताको माग गर्दै राजधानीमा प्रर्दशन गरेको छ ।  सरकारले तोकेकोभन्दा बढी शुल्क उठाउने मेडिकल कलेजहरूलाई कारबाहीको माग राख्दै माइतीघर मण्डलमा शान्तिपूर्ण प्रर्दशन गरिएको हो । प्रर्दशनमा डा. गोविन्द केसी समेत सहभागी भए ।   

चितवन मेडिकल कलेजलगायतमा मेडिकल माफियाले नियम भन्दा धेरै शुल्क लिएकोमा कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गर्दै अलायन्सले प्रर्दशन गरेको हो । 

उनीहरूले ‘ओली ज्यू स्वास्थ्य उपचारको महत्व तपाईंले जति कसले बुझ्ला ? तर विद्यार्थी लुट्ने मेडिकल माफियाहरू प्रति तपाईं सधैं मौन ?, विद्यार्थीसँग अवैध शुल्क उठाउने मेडिकल कलेजहरू लाई कारबाही गर, सरकार किने माफियाले संविधान बचाउने कसले ? लगायत नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका छन् ।   

मेडिकल शिक्षाको शुल्कसँग पैसा तिर्ने अभिभावक र पढ्ने विद्यार्थीहरु सँग मात्र नभएर आमनागरिकहरुले बिरामी हुँदा खानुपर्ने सिटामोलसँग पनि सम्बन्धित रहेको  प्रर्दशनकारीको भनाई छ । विद्यार्थीको अगुवाइमा भइराखेको लुटतन्त्र विरुद्धको आन्दोलनमा सहभागी हुन पनि उनीहरूले आग्रह गरेका छन् । चितवन मेडिकल कलेज, गण्डकी मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएपछि विद्यार्थीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *