तीन दिने चिनियाँ चलचित्र महाेत्सव हुँदै
भाद्र २९ काठमाडौं । यहि भाद्र ३१ देखि असोज २ सम्म राजधानीमा चिनियाँ चलचित्र महोत्सव हुने भएको छ । बुधबार प्रेस विज्ञप्तिमार्फत राजधानीमा आयोजना हुने महोत्सवमा जानकारी दिइएको छ ।
नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रको आयोजनामा हुन गइरहेको चिनियाँ चलचित्र महोत्सवमा ६ वटा चलचित्र प्रर्दशन हुनेछ । जमलस्थित राष्ट्रिय नाचघरमा हुने महोत्सवमा चिनियाँ संस्कृति, विकास र रहनसहन समेटिएका कथामा आधारित फिल्म प्रदर्शन हुने बताइएको छ ।
महोत्सवमा निर्देशक वङ्गकार वाईको ‘द ग्राण्डमास्टर’, दाँते लामको ‘अपरेसन मेकङ’, जँ ज्याक्युज अनौदको ‘वुल्फ टोटेम’, लेस्त चेनको ‘ब्याटल अफ मेमोरिज’, हान यानको ‘गो अवे मिस्टर ट्युमर’ र हाइ चोङको ‘रनिङ लाईक विन्ड’ फिल्म प्रदर्शन गरिने कार्यक्रम संयोजक राजेन्द्र रिमालले बताए । तीन दिन चल्ने महोत्सवअन्तर्गत हरेक दिन दुई वटा फिल्म प्रदर्शन गरिनेछ।
महोत्सवले नेपाली चलचित्रकर्मीहरुलाई चिनियाँ कला र चलचित्रको बारेमा बुझ्न सजिलो हुने र चलचित्रका माध्यमबाट दुई देशबीचको नागरिकलाई एकआपसको संस्कृतिको बारेमा जानकारी दिएर सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने बताइएको छ ।