चीनजानकै व्यक्तिले चोरे गहना, चोरीमा संलग्न २ जना पक्राउ
भदौ २८, धरान । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ५ स्थित देउराली नरवती राईको घरमा चोरी भएको छ ।
राई छिमेकीकोमा गएका मौका छोपी चीनजानकै दुई युवाले घरमा भएको सुन र चाँदीका गरगहना चोरी गरेका हुन् । चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नरवती राई घरमा छोरा सुताएर घरको ढोका खुल्लै राखेर छिमेकीकोमा गएको समयमा दुई युवा घरभित्र छिरेर अढाई लाख रुपैयाँ मूल्य बराबरको सुनचाँदीका गहना चोरी गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
प्रहरीका अनुसार छिमेकबाट फर्किँदा चिनेका दुई युवकहरु आफ्नो घरबाट निस्केको देखेको र पछि आफ्नो गरगहना चोरी भएको थाहा पाएपछि राईले प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीकै आधारमा प्रहरीले सोही ठाउँका ३६ वर्षीय सूर्यबहादुर विश्वकर्मा र ३३ वर्षीय भक्तबहादुर बिश्वकर्मालाई पक्राउ गरेको हो ।
null
प्रहरीले उनीहरुको साथबाट चोरी भएका गरगहनासमेत बरामद गरेको छ ।
चोरी भएका गहनाहरुमा जन्तर १ थान, तिल्हरी १ थान, सुनको जुनतारा १ थान, ब्रासलेट १ थान, औँठी १ थान, पिंजडा १ जोर, बेरुवा औंठी १ थान रहेका छ ।
दुबै जनालाई हिरासतमा लिएर चोरी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेका प्रहरीले जनाएको छ ।