मानव कल्याण समाज (सेवा घर) लाई ‘रियल हिरो २०७६’ द्वारा सम्मान

भाद्र १५, भक्तपुर । बेवारीसे सडक मानवहरुलाई उद्दार, उपचार र पालन पोषण गरिरहेको मानव कल्याण समाज (सेवा घर) सम्मानित भएको छ । भक्तपुरलाई बेवारिसे सडक मानव मुक्त बनाउने अभियानका साथ भक्तपुरमा सञ्चालित मानव कल्याण समाजको सेवाघरलाई ‘रियल हिरो २०७६’द्वारा सम्मानीत गरिएको हो । 

शनिवार काठमाडौंको सिनामंगलमा स्थित काठमाडौं विनायक शिक्षालयले आयोजना गरेको एक कार्यक्रमको बिच ‘रियल हिरो २०७६’द्वारा सेवा घरलाई सम्मान गरिएको छ । सो अवसरमा सेवा घरकी सञ्चालिका सुमित्रा चौलागाईलाई सम्मानपत्र प्रदान गरियो । 

सामाजिक क्षेत्रमा काम गर्ने उत्कृष्ट संस्थाहरुको मूल्याङ्कन गरी छनौटको आधारमा प्रत्येक वर्ष प्रदान गरिने रियल हिरो सम्मान यस वर्ष सेवा घरलाई प्रदान गरिएको हो । 

झण्डै एक दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशिल सेवा घरकी सञ्चालिका चौलागाई पछिल्लो समय पूर्ण रुपमा मानव सेवामा समर्पित छिन ।   

यस पुरस्कारले मानव कल्याण समाजलाई मानवीय कार्यमा अघी बढ्न थप जिम्मेवारी तथा उत्प्रेरणा प्राप्त भएको सेवा घर सञ्चालिका सुमित्रा चौलागाईले बताइन । ‘यो सम्मानले अझै धेरै जिम्मेवारी थपिएको महसुस भएको छ । भक्तपुर जिल्ला र काठमाडौं उपत्यका लगायत सिङ्गो ३ नम्बर प्रदेशलाई नै बेवारीसे सडक मानव मुक्त बनाई मानवीय सुन्दरताको समाज निर्माण गर्न अझै सक्रिय भएर लाग्नेछौं ।’ चौलागाईले भनिन् ।   

दुई वर्ष अघि स्थापना भएको सेवा घरमा विभिन्न कारणले घरपरिवार त्यागेका करिब ४० जना मानवहरुले आश्रय लिइरहेका छन् । स्थानीय दाता तथा शुभेच्छुकहरुको सहयोगबाट सञ्चालित सेवा घरले अहिलेसम्म करिब एक सय सडक मानवहरुको उद्दार गरिसकेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *