तीजमा रंगीयो पशुपतीः रातो सारी, रातो टीका रातैछ लाली (फाेटाे फिचर)

भाद्र १६, काठमाडौं । रातो सारी, रातो टीका रातैछ लाली । हिन्दुधर्मावलम्बी महिलाको श्रृंगारमा बढि प्रयोग हुनेवस्तु । हरितालिका तीजको अवसरमा आराध्यदेव पशुपती प्राङगण रंगीन भएको छ ।   

तीजको ब्रत बसेका विवाहित, अविवाहित महिलाहरु आज दिनभर भगवान शिवको पुजाआजा गर्नेगर्दछन् । देशभरका शिवालयहरुमा तीजको ब्रत बसेका महिलाहरुको भीड लाग्दा पशुपतीमा छुट्टै माहौल बन्दछ । आज पशुपतीनाथको दर्शन गर्न आएका महिलाहरु आ–आफ्ना समुहमा मिलेर तीजका गीत गाउने तथा नाच्ने गर्दछन् ।   

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने तीजलाई माइती र चेलीको भेटघाट गर्ने अवसरका रुपमा पनि लिइन्छ । तीजमा विवाह गरेर श्रीमानको घर गएकी दिदिबहिनीलाई माइत बोलाएर मिठामिठा परीकार (दर) खुवाएर खुसी तुल्याउने संस्कार छ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । 

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत छ । 

आज पशुपतीमा महिलाहरुको भीड थामिन सक्नुको छ । पशुपतीनाथको दर्शन र पुजाआजाका लागि दर्शनार्थीलाई सहज होस् भन्नका निमित्त बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खोलिएको छ । मन्दिरका चार वटै ढोकाहरु भक्तालुहरुले दर्शन गरि नसकुन्जेल खुल्ला रहने छन् ।   

थप फोटोहरु, तस्विरः सिआर बस्नेत 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *