धानमा बाला नलाग्ने समस्या कायमै, वर्षेनी ठगीँदै किसान
असोज ४, चितवन । आफूले उत्पादन गरेका कृषि उपजले उचित मूल्य पाउन नसकेका चितवनका किसानहरु अहिले धानमा बाला नलाग्ने समस्याका कारण चिन्तित बनेका छन् ।
अघिल्लो वर्ष गरिमा जातको धानको बीउ ल्याएर रोपाईँ गर्दा राम्रै उत्पादन गरेका किसानहरु यस पटक सोही जातको धानको बीउबाट उत्पादन नहुँदा चिन्तामा परेका हुन् ।
चितवनको राप्ती, खैरहनी र रत्ननगरका किसानहरुले लगाएको धानखेतीमा बाला नलाग्ने समस्या देखिएको हो । गरिमा जातको धान लगाएका किसानहरुको खेतमा अहिले धानको गाँज मात्रै छ । बाला लाग्ने सुरसार नै छैन ।
चितवन कठार १० खरखुट्टेका किसान कृष्ण प्रसाद अर्याल धान झुल्ने बेलापनि भु्रण पनि नलाग्दा आश्चर्यमा छन् । उनको १४ कठ्ठामा लगाएको धान वाला लागेर झुल्ने बेला भइसक्दा भ्रुण समेत लागेको छैन । बाला नलागेपछि चिन्तित परेका अर्याललाई अर्को वाली लगाउन हतारो पनि छ ।
अर्यालसहित केही किसानहरुले गरिमा नामको धान लगाएका थिए । अरु धान भन्दा छिटो उत्पादन हुने भनेर यो जातको धान त लगाए तर अहिले सम्म भ्रुणको समेत अत्तोपत्तो छैन । धानका गाँजा भने मज्जाकै छन् ।
‘आलु लगाउनकै लागि छिटो उत्पादन हुन्छ भनेर गरिमा जातको धान लगाईयो अहिले सम्म फल्ने अत्तोपत्तो छैन । प्याकेटमा गरिमा लेखेर भित्र अरुनै धान हालेर हामीलाई झुक्यायो’, किसान अर्याल भन्छन् । उनले पर्सा स्थित विनम एग्रोभेट बाट ८ किलो धानको बीउ ल्याएका थिए । गरिमा जातकै धान अघिल्लो वर्ष राम्रो संग फलेको अर्यालले सुनाए ।
सावित्री भन्दा गरिमा धान छिटो उत्पादन हुने किसानहरु बताउँछन् । विज्ञहरुसँग यसबारे बुझ्दा धान नै फरक परेको बताएको किसान अर्याल सुनाउँछन् ।
खैरहनी १० र ११ का किसानहरुले प्रशान्त एग्रोभेट, साझा, विनम एग्रो भेट, महिला साना किसान कृषि सहकारी संस्थाबाट गरिमा जातको बीउ खरिद गरेका थिए । व्यापारीले झुक्याएपछि यहाँका किसानहरुले वडा कार्यालयबाट सिफारीस बनाई नगरपालिकामा पत्र बुझाएका छन् । क्षतीपूर्तीका लागि पहल गरि दिन भन्दै किसानहरुले खैरहनी नगरपालिकामा पत्र बुझाएका हुन् ।
चैते वालीमा पनि फरक जातको धान परेपछि भुस मात्रै उत्पादन भएको थियो । त्यो बेला धानको बीउ उत्पादन गर्ने सर्लाहीको एक व्यापारीले चितवनका किसानहरुलाई क्षतीपूर्ती तिरेका समेत थिए । धान खेतीका लागि चितवन उर्वर भूमि मानिन्छ ।
चितवनको राप्ती, खैरहनी र रत्ननगर धान उत्पादनको पकेट क्षेत्र समेत मानिन्छ । भरतपुरको पश्चिम क्षेत्र र माडीमा पनि धान उत्पादन हुदै आएको छ ।