प्रधानमन्त्रीको दोस्रो डायलासिस सकियो, अवस्था बुझ्न ग्राण्डी पुगे प्रचण्ड

कार्तिक १४, काठमाडौं । धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो डायलासिस सकिएको छ । प्राप्त जानकारी अनुसार आज दिउँसो उनको डायलासिस सकिएको हो ।   

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल पुगेका प्रधानमन्त्रीको सबै चरणको उपचार सकिएको बताइएको छ । बुधबार पनि उनको डायलासिस गरिएको थियो ।   

रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेपछि डायलासिस गरिएको हो । दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउने चिकित्सकको भनाइ छ ।   

उनको अवस्था अहिले सामान्य रहेको बताइएको छ । उनलाई भेट्न बिहानैदेखि नेकपा नेताहरुको ओइरो लागेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि यतिबेला ग्राण्डी अस्पताल पुगेका छन् । अस्पताल पुगेर झण्डैँ एक घण्टा बिताएका उनले प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिए ।   

उनका अनुसार केही समय आराम गरेर प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुँदैछन् । डाक्टरको भनाइ उद्धृत गर्दै अध्यक्ष दाहालले भने, ‘उहाँको दुई पटक डायलासिस भइसकेको छ । फेरि पनि गर्नुपर्ने हुन सक्छ । अवस्था हेरेपछि मात्रै निश्चित हुन्छ । अहिले अवस्था सामान्य छ ।’ 

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पनि आज बिहान ग्राण्डी अस्पताल पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । 

यस्तै नेता भीम रावल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि आज दिउँसो अस्पताल पुगेका थिए । यद्यपी प्रधानमन्त्रीको उपचार जारी रहेका कारण उनीहरुले भेट्न पाएनन् । रावल र श्रेष्ठ चिकित्सकसँग प्रम ओलीको स्वास्थ्यबारे जानकारी लिएर फर्किसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *