राष्ट्रपति सी भ्रमणः नेपालको विकासमा हातेमालो गर्ने सुनौलो अवसर
२३ वर्षपछि मित्रराष्ट्र चीनका राष्ट्रपति सी जिनफिङले नेपालको राजकीय भ्रमण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय निमन्त्रणामा २ दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङको योे भ्रमणले नेपाल र चीन दुई देश विचको पुरानो सम्बन्धलाई अझ मजवुत बनाएको छ । यसका साथै विश्वकै शक्तिशाली मुलुकका शक्तिशाली राष्ट्रपतिको नेपाल भ्रमणले नेपाललाई शान्ति र समृद्धशाली मुलुक बनाउने सवालमा एउटा नयाँ अध्याय शुरु भएको मान्न सकिन्छ ।
धेरैले भन्नुहोला, एउटा देशको राष्ट्रपति आउँदैमा मुलुकले काँचुली कसरी फेर्छ ? स्वभाविक प्रश्न हो । राष्ट्रपति सी जिनफिङ आउँदैमा मुलुकले काँचुली फेर्ने, रातारात चमत्कार हुने पक्कै हैन । तर, एउटा समृद्धशाली, विश्वकै शक्तिशाली देशको कार्यकारी राष्ट्रपतिको आगमनले सकारात्मक सोच र विचार चाँही पक्कैपनि प्रवाहित गर्दछ । राष्ट्रपति सी जिनफिङको दुई दिने भ्रमणमा नेपालको विकासका लागि सडकमार्ग, रेलमार्ग, सुरुङमार्ग, जलविद्युत, पर्यटन क्षेत्रमा समेत लगानी गर्ने सहमती भयो । राष्ट्रपति सी जिनफिङले ५६ अर्ब बराबरको प्याकेज त ल्याए नै त्यो भन्दा बढि नेपाली राजनीतिक दल र नेपाली जनताहरुलाई आँटेको काम जसरी पनि पुरा गर्नुपर्छ भन्ने सन्देश दिए । राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यतामा सोल्टी होटलमा आयोजित रात्रिभोजलाई संवोधन गर्दै सीले ‘काम काम र काम’ लाई नै प्राथमिकता दिए विकास गर्न सकिने बताए ।
उनले चीनले दुई दशकमा हासिल गरेको अभुतपूर्व सफलता र विकासको मेरुदण्ड भनेकै लगनशीलता, इमान्दारिता बताइरहँदा नेपालको विकासमा देखिएका कमजोरी पनि औल्याइदिए । ‘नेपालमा काम गर्न विभिन्न समस्याहरु छन्, आयोजनाहरु समयमा पुरा नहुने वा विचमै बन्द हुने अवस्था छ ।’ राष्ट्रपति सी जिनफिङले यसो भनिरहँदा सोल्टी होटलको रात्रिभोजमा गएका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा शिर्षस्थ नेताहरुले पक्कै बुझे होलान् । सीले नेपालमा बढ्दो भ्रष्टाचारलाई समेत बुझेका रहेछन् । काम नगर्ने प्रवृत्ति प्रति उनी कठोर छन् । स्वागत डिनरमा सीले शुशासनका कुरा गरिरहँदा मुलुक हाक्ने जिम्मेवार नेतृत्वले पक्कैपनि सीको भाषणलाई मनन गरे होलान् ।
विश्वको शक्तिशाली देशको कार्यकारी राष्ट्र प्रमुख आएर नेपालको विकासमा हातेमालो गर्न र सहकार्य गर्न आब्हान गर्नु र नेपाली जनतालाई उत्प्रेरित गर्नु सबैभन्दा ठूलो कुरा हो । विकासका लागि खबौंको प्याकेज लिएर आएका सीले खाली हात आएर ‘देश विकास गर्न यसरी सकिन्छ’ भन्ने आइडीया मात्र दिँदा पनि त्यसले समृद्धशाली मुलुक निर्माणमा टेवा दिन्छ ।
अहिले आधुनिक चिनले ‘वान वेल्ट वान रोड’को अवधारणा अगाडी सारेको छ । एशियाली देशको विकास र समृद्धिका लागि चीनले सन् २०१३ मा अघि सारेको ‘वान वेल्ट वान रोड’ अवधारणा नेपालका लागि कत्तिको ठिक र कत्तिको बेठिक छ त्यो बहसको छुट्टै पाटो होला तर, आधुनिक चीनका नेतृत्वकर्ताले अगाडी सारेको निती प्रति एशियाली राष्ट्र मात्र हैन युरोपियन देशहरुको पनि आकर्षण देखिएको छ । अहिले ‘वान वेल्ट वान रोड’मा विश्वका ५० भन्दा बढि देशहरुले हस्ताक्षर गरिसकेका छन् । नेपालले दुई वर्ष अघिनै ‘वान वेल्ट वान रोड’ अवधारणामा आधिकारिक रुपमा हस्ताक्षर गरिसकेको छ । अब त्यसबाट प्रत्यक्ष फाइदा कसरी लिन सकिन्छ नेपालले सोच्ने बेला आएको छ । अब राज्य सञ्चालकहरुले आफ्नो काम गर्ने शैली परिवर्तन गर्ने बेला आएको छ । अब ‘सरकारी काम कहिले जाला घाम’ काम भन्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बेला आएको छ ।
हुन त दुई दशकसम्म राजनीतिक अस्थिरतामा देश रुमलिँदा विकासका स–साना कृयाकलाप पनि भएनन् । राजनीतिक स्थिरता भइदिएको भए सायद एक दशक यता नेपालले अभूतपूर्व विकास गर्नपनि सक्थ्यो । आन्तरिक द्वन्द्वले भएका विकासका पूर्वाधार ध्वस्त भए, निर्माणाधिन संरचनामा खिया लागे । लाखौं दक्ष जनशक्ति यहि समयमा बैदेशिक रोजगारीमा पलायन हुनुपर्यो । कृषि, उद्योग, पर्यटन, जलस्रोत सबै क्षेत्र तहसनहस भइसकेको अवस्थामा हामीले १० वर्षको जनयुद्धलाई शान्तिप्रकृया मार्फत संविधान निर्माण गरी एक खालको स्थायी शान्ति हासिल गरिसकेका छौं । र, अब भने २०५२ साल देखि २०७४ सालसम्म भोगिएको राजनीतिक अस्थिरताबाट मुलुकले ब्यहोरेको घाटा पुर्ति गर्ने बेला आएको छ ।
हामीलाई थाहा छ, हामीसँग ठूला आयोजनामा लगानी गर्ने आफ्नो पुँजी छैन । दिर्घकालिन योजना जो १०÷२० वर्षमा मात्र पुरा हुन्छन् त्यस्ता योजना नेपालीको मात्र लगानीले निर्माण गर्न संभव छैन । चलायमान भएको अर्थतन्त्रबाट राष्ट्रिय गौरबका आयोजनाहरु बनाउन नसकेपनि बाह्य लगानी भित्र्याउनु पर्दछ । विश्वका अल्पविकसित मात्र हैन धेरै विकसित देशहरुमा बाह्य लगानीबाटै दिर्घकालिन योजना बनिरहेका छन् । छिमेकी मुलुकको मेट्रो रेलको कुरा गर्दा जापान सरकारले लगानी नगरिदिएको भए भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मेट्रो रेल निर्माण गर्न तयार हुन्थेनन् । हङकङ पनि अहिलेका आधुनिक हङकङ बन्नुमा विदेशी लगानी नै मुख्य आधार थियो । भुटान, माल्दिभ्स, बंगलादेशको जिडिपी कुनै बेला नेपालको भन्दा कमजोर थियो, अहिले उनीहरु नेपालभन्दा माथि जानुमा बैदेशिक लगानी नै मुख्य आधार स्तम्भ हो ।
एशियाकै तेस्रो ठूलो आर्थिक शक्ति भएको मुलुकलाई त बैदेशिक लगानी आवश्यक पर्दछ भने, हामी त आर्थिक बृद्धिदरको दोहोरो अंक समेत हासिल गर्न नसकेको मुलुक पर्यौं । त्यसकारण अब मुलुकलाई बनाउने हो भने चीन, भारत, जापान, अमेरिका, युरोप जस्ता विकसित र शक्तिशाली देशहरुबाट लगानी भित्र्याउनुको विकल्प छैन ।
विदेशी लगानी भित्र्याउन विद्यमान कतिपय कानुनहरु परिवर्तन गर्न आवश्यक देखिन्छ । खासगरी लगानीको सुरक्षा, दोहोरोकर, सेवा र मुनाफाका विषयमा देखिएका जटिलता समय सापेक्ष परिवर्तन नगरे ठूलो धनराशीको दिर्घकालिन परियोजनामा बैदेशिक लगानी भित्र्याउन अझै गाह्रो छ । राज्यले यसतर्फ पनि सोच्न आवश्यक छ ।
मुलुकको विकास गर्न प्राथमिकतामा राखिनुपर्ने मुख्य कुरा यातायात, जलस्रोत, पर्यटन र कृषि क्षेत्र हुन् । यी क्षेत्रमा स्वदेशी लगानी र सिपले मात्र पुग्दैन । मुलुकको ७७ वटै जिल्लामा यातायात सेवा पुर्याउन सकिएला तर, अन्तरदेशिय कनेक्टिभिटी (विआरआई) भूमि र समुद्री नेटवर्क मार्फत एशियालाई अफ्रिका र युरोपसँग जोड्ने महत्वाकांक्षी योजनाका लागि हाम्रो अर्थतन्त्रले सक्दैन ।
नेपालको लगानीले साना जलविद्युत बन्लान् तर, मुलुकको अपार जलस्रोतबाट निस्केको उर्जालाई अन्तराष्ट्रिय क्षेत्रमा प्र्याउने ल्याकत हाम्रो अर्थतन्त्रमा छैन । पर्यटन क्षेत्रमा साना लगानीले आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिएला तर, विदेशी पर्यटक लोभ्याउन त बाह्य लगानी नै चाहिन्छ । धनियाँ समेत विदेशबाट मगाउनु पर्ने अवस्थाको कृषि क्षेत्रलाई आधुनिकीकरण गरी सामुहिक कृषि परियोजनाबाट युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्न पनि ठूला लगानी नै चाहिन्छ । त्यसकारण अब मुलुकलाई सम्पन्न बनाउने हो, सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्ने हो भने ठूला राष्ट्रहरुसँग मुलुकको राष्ट्रियता, अखण्डता र अस्तित्व कमजोर नहुने गरी सहकार्य गरी अगाडी बढ्नुको विकल्प छैन ।
यतिबेला कतिपयले राष्ट्रपति सीको भ्रमणलाई लिएर सरकारको आलोचना गरिरहेका छन् । बढि खर्च गरेको, राजधानीको जनजिवन अस्तब्यस्त हुने गरी सवारी साधन नै ठप्प बनाएको भन्दै आलोचना गर्नेहरुले यो बुझ्न जरुरी छ कि, मुलुक बनाउन अब ठूला र शक्तिशाली देशहरुसँग नै हातेमालो गर्न जरुरी छ । सरकारले गरेका सबै कुरामा नकारात्मक धारणामात्र राख्ने हो भने हामी समृद्धिको यात्रामा जान सक्दैनौं । राष्ट्रपति सीको भ्रमणले नेपाललाई बैदेशिक लगानी जुटाउने सुवर्ण अवसर सृजना गरेको छ । अबपनि पुरानै संरचनामा देश चल्न सक्दैन । जनतामा विकास र समृद्धिको भोक छ । त्यसलाई पुरा गर्नका लागि नयाँ सोच र भिजन सहित सरकारले राष्ट्रपतिको निमन्त्रणामा राष्ट्रपति सी जिनफिङलाई स्वागत गरेको हो । यसलाई अन्यथा नलिउँ ।
अन्तमा, चिनियाँ राष्ट्रपति सी जिनफिङको राजकीय भ्रमणले नेपाललाई आधुनिक नेपाल निमार्णको लागि एउटा अवसर जुराइदिएको छ । विकास र प्रविधिमा विश्वकै ध्यानाकर्षण गराउन सफल आधुनिक चीनसँग मात्र हैन छिमेकी मुलुक भारतसँग पनि समान दृष्टिकोण बनाएर हातेमालो गर्ने बेला आएको छ । मागेर देश बन्दैन । देश बनाउनका लागि त दुई पक्षकै फाइदा हुने अवसर सृजना गर्नुपर्छ । सीको भ्रमणले हामीलाई दिएको सन्देश पनि त्यहि हो । सहकार्य गरौं । हातेमालो गरौं ।
भगवती चौधरी, पूर्वराज्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रिय सदस्य हुन् ।