संसदमा टाँसियो महराको राजीनामाको सूचना, सभामुखको पद अब रिक्त

असोज १५, काठमाडौं । संघीय संसद सचिवालयमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट दिएको राजीनामाको सूचना टाँसिएको छ।   

सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएसँगै सभामुखको पद रिक्त भएको सचिवालयले जनाएको छ।   

उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको सचिवालयका सचिव भरतराज गौतमले जानकारी दिए ।   

प्रकाशित सूचनामा भनिएको छ, ‘उपसभामुखको आदेशअनुसार प्रतिनिधि सभा नियमावली, २०७५ को नियम २११ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको छ।’ 

उपनियम २ मा उपनियम (१) बमोजिम दिइएको राजीनामा अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउनेछ प्रावधान रहेको र बैठक चालू नरहेको अवस्थामा सूचनापत्रमा प्रकाशन गरिनुपर्ने उल्लेख छ।   

यौन दुर्व्यहारको आरोप लागेसँगै महराले उपसभामुख डा शिवमाया तुम्बाहाम्फेसमक्ष छानबिन प्रक्रियालाई सघाउने भन्दै मंगलबार पदबाट राजीनामा दिएका थिए।   

संघीय संसदको सचिवालयस्थित स्वास्थ्य शाखामा कार्यरत एक महिला कर्मचारीले महरालाई शारीरिक दुर्व्यवहार गरेको आरोप लगाएपछि महराले पदबाट राजीनामा दिएका हुन्। यद्यपी अहिले भने ती महिलाले आफ्नो बयान फेरिरहेकी छिन् । कसैले दबाब दिएर सभामुखविरुद्ध बोल्न लगाएको उनको दाबी छ । अहिले उनी स्वयम् महराको बचाउमा लागेकी छिन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *