चिनियाँ राष्ट्रपति सी जिनपिङ आज नेपाल आउँदै, यस्तो त कार्यक्रम

असोज २५, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चीनका राष्ट्रपति सी जिनपिङ दुई दिने राजकीय भ्रमणका लागि आज शनिबार नेपाल आउँदैछन् । 

राष्ट्रपति सी जिनपिङ आज अपरान्ह ४ः३० देखि ५ः३० बजेको समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लनेछन् । त्यसलगतै राष्ट्रपति सीले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग शीतलविनासमा कारिब ६ः३० बजे भेटवार्ता गर्ने कार्यक्रम छ । सो अवसरमा दुई देशीबीचको सम्बन्धको विस्तारका विषयमा विचार विमर्श हुने बताइएको छ । 

त्यसपछि करिब ७ः३० बजे राष्ट्रपति सीको सम्मानमा राष्ट्रपति विद्या भण्डारीले सोल्टी होटलमा आयोजना गर्ने रात्रिभोजमा उनी सहभागी हुनेछन् र आजको कार्यक्रम सकिनेछ । 

आइतबार बिहान नेपाल–चीनबीच विविध विषयमा औपचारिक वार्ता हुनेछ । जसमा पर्यटन, प्रविधि, कृषि र बीआरआईका विविध पक्षमा छलफल हुने र बिहानको १०ः३० बजे द्विपक्षीय सम्झौतामा हस्तार हुने प्रारम्भिक कार्यक्रम तय भएको सरकारले जनाएको छ । त्यससँगै चिनियाँ राष्ट्रपतिसँग सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेतासहित राजनीतिक दलका नेताले भेटवार्ता गर्ने कार्यक्रम छ । उनी नेपाली समयअनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर करिब १२ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

सीको नेपाल भ्रमणका अवसरमा नेपालले ठूला भौतिक पूर्वाधारको सहयोगको प्रस्ताव गर्ने र चिनियाँ पक्षले सुरक्षा चासोका विषयलाई विशेष प्राथमिकता दिएको बुझिएको छ ।भ्रमणका अवसरमा नेपालले बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माणसहित एक दर्जन आयोजनामा सम्झौता गर्ने तयारी गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले रेलमार्गको मोडालिटी एवम् लगानीका विषयमा टुंगो लगाउने गरी सम्झौताको मस्यौदा तयार गरेको हो । 

त्यसैगरी काठमाडौँको टोखादेखि नुवाकोटको छहरेसम्म सुरुङमार्ग हुँदै रसुवाको स्याप्रुवेसीसम्म पुग्ने सडक पूर्वाधार निर्माणको प्रस्तावलाई पनि सम्झौता गर्ने गरी तयारी गरिएको छ । यो नेपाल र चीन जोड्ने दोस्रो राजमार्गको हो । नेपाल–चीन जोड्ने पहिलो नाका सिन्धुपाल्चोकको तातोपानी सीमा नाका(मितेरी पुल) देखि धुलिखेलसम्म सडक विस्तार गरेर डबल लेन बनाउने सम्झौतामा पनि समझदारी गर्ने नेपाल सरकारले प्रस्ताव छ । 

चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । नेपाल–चीनबीच गत वर्ष भएको पारवाहन तथा यातायात सम्झौताको प्रोटोकलअनुसार नेपालले चीनका चार सामुन्द्रीक र तीन सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने छ ।   

चीनका बन्दरगाह जोड्नका लागि सिन्धुपाल्चोकको तातोपानी, रसुवाको रसुवागढी, हुम्लाको यारी, मुस्ताङको कोरला, संखुवासभाको किामाथांका र ताप्लेजुङको ओलाङचुङगोला सीमानामा पूर्वाधार विकास र त्यससँग सम्बन्धित लिंक रोड निर्माणमा सरकारले सम्झौताको तयारी गरेको छ । 

यता चिनियाँ पक्षले बेल्ट एन्ड रोड (बीआरआई) परियोजना लिएर अगाडि बढिरहेको अवस्थामा सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रशारणलाई जस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिँदै आएको छ । यसै सिलसिलामा नेपाल पनि बीआरआई पक्ष राष्ट्र भएको सुरक्षा र यातातातको बहुआयामिक सञ्जाल विस्तारका लागि चिनियाँ पक्ष इच्छुक देखिएको छ । 

सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपाल भ्रमण गरेको २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखबाट हुन लागेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *