‘महराले क्लिन–चिट पाए सांसद पद सुरक्षित रहन्छ’

असोज १५, काठमाडौं । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निष्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् ।   

उक्त घटनाबारे पहिलो सुचना दिने व्यक्ति र पीडित दुवै एकै व्यक्ति भएको सुनाउँदै पौडेलले अहिले अनुसन्धानलाई अन्तै मोड्न खोजिएको आशंका व्यक्त गरे ।   

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले झुठा बकपत्र मुद्दा लागेको केशमा बाझिनेगरि बयान दिए मुलुकी ऐनको फौजदारी संहिताको दफा ४४ अनुसार पीडितले जाहेरी दिएपछि, बयान परिवर्तन गर्दा उसलाई पनि सजाय हुने नियम रहेको सुनाए । तर, अहिले पीडितले किटानी जाहेरी नदिएकोले ‘होस्टाईल’ नहुने पौडेलको भनाइ छ ।   

शाहीले पहिलो भिडियोमा महरा आफूकहाँ आएको र अर्को भिडियामो नआएको र महरा पिता सरहको मान्छे भनेर बोलेको कुरा नै अस्वभाविक भएको उनको तर्क छ । महराले स्वयम्ले आफू शाहीको कोठामा पुगेको भनेर स्वीकार गरिसकेकोले अब शाहीले महरा पिता सरहको मान्छे भन्नुको अर्थ नभएको पनि उनको टिप्पणी छ ।   

उनले महरा–शाही प्रकरण नेपालको राजनीतिक इतिहासमै अनौठो घटना भएको सुनाए । उनले भने, ‘संसद अहिले चालु छैन । संविधानको धारा ९१ मै सभामुख र उपसभामुख फरक लिङ र फरक पार्टीको हुने व्यवस्था छ । अब त्यही हुनुपर्छ ।’ 

महराले राजीनामा दिएपछि सभामुखको पद स्वतः खाली भएको स्पष्ट पार्दै उनले भने, ‘संसदको विन्टर सेसन सुरु भएपछि जानकारी गराएर सभामुखको निर्वाचनमा संसद जान्छ ।’   

त्यस्तै बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सभामुखको राजीनामा नै स्विकृत भएकोले उक्त पद रिक्त भएको बताए । महराले ‘क्लिन–चिट’ नै लिएपनि अब सभामुखमा फर्किने सम्भावाना नभएको भट्टराईको दाबी छ ।   

उनले मन लाग्यो भन्दैमा कसैको ईज्जत, प्रतिष्ठा र मानमा धावा बोल्न नपाईने स्पष्ट पार्दै यदि शाही डिप्रेसनको विरामी हो भने त्यसबारेमा पनि चिकित्सकले परीक्षण गरेर पुष्टि गर्नुपर्ने बताए । उनले भने, ‘महिलाको पनि ईज्जत छ, पुरुषको पनि ईज्जत छ । रोशनीजीको कुन चाहीँ स्टेटमेन्ट सही हो ?’   

शाहीले महरामाथि लगाएको आरोप पुष्टि भयो भने कसुरअनुसार सजाय हुने पनि उनले स्पष्ट पारे ।  उनले भने, ‘यौन दुव्र्यवहार, गाली गलौज, बलात्कार यी सबैमा कसुरअनुसार सजाय हुन्छ, बलात्कारको केसमा अधिकतम १५ वर्ष सम्म सजाय हुन्छ, सामान्य यौन दुव्र्यवहार हो भने ३ वर्ष र कुटपिट छ भने १ वर्षसम्म सजाय हुन्छ । कुन खालको अपराध हो, त्यो हरेर सजाय हुन्छ ।’ 

त्यस्तै संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले यदि यो प्रकरणमा महराले क्लिन–चिट पाए महराको सांसद पद सुरक्षित रहने बताए । निर्दोष सावित भएपछि सांसद पद सुरक्षित हुने भएकोले सभामुखको निर्वाचनमा पार्टीले उम्मेद्धवार बनाएर सभामुख बन्न पनि सक्ने उनको तर्क छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *