‘सबैले मलाई अग्लो छौ भनेर रिजेक्ट गरे’

असोज २७, काठमाडौं । अमिताभ बच्चन फिल्ममा आउँदा बङ्गलादेश पूर्वी पाकिस्तान थियो । चर्चित ‘बिटल्स’ ब्यान्डमा फुट आएको थिएन, हकी अझै भारतको सबैभन्दा लोकप्रिय खेल थियो । भारतीय राष्ट्रिय काँग्रेस अझै विभाजित भएको थिएन र त्यही वर्ष मानवले चन्द्रमामा पाइला राखेको थियो । 

ती दिन ख्वाजा अहमद अब्बास फिल्म ‘सात हिन्दुस्तानी’का लागि अभिनेताको खोजीमा थिए । एक दिन ख्वाजा अहमद अब्बासकहाँ कसैले एक अग्लो युवकको तस्बिर लिएर आयो । 

तस्बिर हेर्नासाथ ख्वाजाले भने, ‘योसँग मलाई भेटाउनु ।’ 

त्यसको तेस्रो दिन साँझ ६ बजे एक व्यक्ति उनको कोठामा प्रवेश गरे । उनी अलि बढी नै अग्लो देखिन्थे । उनले चुडीदार पाइन्ट र नेहरु ज्याकेट लगाइरहेका थिए । 

फिल्म खेल्न पिताको स्वीकृति जरुरी 

ख्वाजा अहदम अब्बासले त्यो क्षणको कुराकानीको पूरा विवरण आफ्नो आत्मकथा ‘आई एम नट एन आइल्यान्ड’मा लेखेका छन्: 

‘बस्नुस् । तपाईंको नाम ?’ 

‘अमिताभ’ (थर भनेनन्) 

‘पढाइ ?’ 

‘दिल्ली विश्वविद्यालयबाट बीए ।’ 

‘तपाईंले पहिले कहिल्यै फिल्ममा काम गर्नुभएको छ ?’ 

‘अहिलेसम्म कसैले पनि मलाई आफ्नो फिल्ममा लिएनन् ।’ 

‘के कारणले होला ?’ 

‘ती सबले मलाई तिनको फिल्मको हिरोइनको तुलनामा म धेरै नै अग्लो छु भने ।’ 

‘हाम्रो फिल्ममा त्यस्तो समस्या आउँदैन । हाम्रो फिल्ममा हिरोइन छैनन् । यदि हुन्थे भने पनि म तिमीलाई नै लिन्थेँ ।’ 

‘के तपाईंले मलाई आफ्नो फिल्मको लागि लिँदै हुनुहुन्छ रु र त्यो पनि कुनै ‘टेस्ट’बिनै ?’ 

‘त्यो धेरै कुरामा निर्भर गर्छ । पहिले म तिमीलाई कथा सुनाउँछु । त्यसपछि तिमीलाई भूमिका भन्छु । यदि तिमीलाई मन पर्यो भने तब म तिमीलाई कति पैसा दिन सक्छु भन्नेछु ।’ 

त्यसपछि अब्बासले फिल्मका लागि उनले पाँच हजार भारु पाउने बताए । उनी थोरै असहज भए । त्यसैले अब्बासले उनीसँग सोधे, ‘के तिमीले योभन्दा बढी कमाइरहेका छौ ?’ 

उनले जवाफ दिए, ‘हो । मेलै कलकत्ताको एक फर्ममा मासिक १६ सय भारु पाइरहेको थिएँ । म त्यहाँबाट राजीनामा दिएर यहाँ आएको हुँ ।’ 

अब्बास आश्चर्यचकित भए र भने, ‘तिम्रो मतलब तिमीले यो फिल्म पाउने आसामा मासिक १६ सय भारुको आफ्नो जागिर छोडेर आएको ? यदि मैले यो भूमिका दिइनँ भने ?’ 

त्यो अग्लो व्यक्तिले भने, ‘जीवनमा यस्तो चान्स त लिनुपर्छ ।’ 

अब्बासले त्यो भूमिका उनलाई दिए र आफ्नो सेक्रेटरी अब्दुल रहमानलाई बोलाएर कन्ट्रयाक्ट ‘डिक्टेट’ गर्न थाले । उनले त्यो व्यक्तिसँग यस पटक उनको पूरा नाम र ठेगाना सोधे । 

‘अमिताभ’ उनले केही रोकिएर भने, ‘अमिताभ बच्चन, छोरा डाक्टर हरिवंशराय बच्चन ।’ 

‘रोक,’ अब्बासले भने, ‘यो सम्झौतामा तबसम्म हस्ताक्षर हुन सक्दैन जबसम्म तिम्रो पिताको स्वीकृति प्राप्त हुँदैन । म उनलाई चिन्छु । उनी र म सोभियत ल्यान्ड नेहरु अवार्ड कमिटीमा छौँ । तिमीले दुई दिनसम्म थप पर्खनुपर्छ ।’ 

ख्वाजा अहमद अब्बासले त्यसपछि डाक्टर बच्चनलाई लिएर एक टेलिग्राम पठाए र सोधे, ‘के तपाईं आफ्नो छोरालाई अभिनेता बनाउन राजी हुनुहुन्छ ?’ 

दुई दिनपछि डाक्टर हरिवंशराय बच्चनको जवाफ आयो, ‘मलाई कुनै आपत्ति छैन । तपाईं अगाडि बढ्न सक्नुहुन्छ ।’ 

त्यसपछिको घटना इतिहास बन्यो । 

आनन्द फिल्मबाट चर्चामा 

सात हिन्दुस्तानी खासै चलेन । त्यसको अर्को वर्ष ऋषिकेश मुखर्जीले उनलाई आफ्नो फिल्म ‘आनन्द’मा एक रोल दिए । आनन्दबाट सम्पूर्ण भारतको ध्यान अमिताभको अभिनयमा गयो र उनले सन् १९७२ मा फिल्मफेयर अवार्डको सर्वश्रेष्ठ सहायक अभिनेताको पुरस्कार पाए । 

हालै फिल्म पत्रकार अनुपमा चोपडाको ‘१०० फिल्म टु सी बिफोर यू डाई’ भन्ने किताब ल्याएकी थिइन् । त्यस फिल्ममा ‘आनन्द’ फिल्मको पनि उल्लेख छ । फिल्मको अन्त्यमा राजेश खन्ना मर्छन् र अमिताभ बच्चन शोक मनाइरहेको देखिन्छन् । 

राजेश खन्नाको जीवनी ‘अनटोल्ड स्टोरी अफ इन्डियाज फस्र्ट सुपर स्टार’ लेख्ने यासेर उस्मान भन्छन्, ‘त्यो सिनको सुटिङ अघि अमिताभ बच्चन त्यसलाई कसरी फिल्माङ्कन गर्ने भनेर चिन्तित थिए । उनीसँग अभिनयको त्यति अनुभव थिएन । अमिताभ आफ्ना मित्र महमुदकहाँ गए । महमुदले उनलाई सल्लाह दिँदै भने, ‘तिमी राजेश खन्ना साँच्चै मरे भनेर सोच । त्यसपछि केही सोच्ने पर्दैन । सिन आफै बन्छ ।’’ 

त्यसपछि अमिताभले डाइलग बोलेका थिए, ‘आनन्द मरेको छैन । आनन्द कहिले मर्दैन’ र यसपछि अमिताभ अचानक भारतको पहिलो पङ्क्तिको अभिनेतामा सामेल भए । 

१६ फिल्मपछि पहिलो हिट 

तर व्यावसायिक सफलताका लागि अमिताभले १६ थप फिल्म पर्खनुपर्यो । यो सफलता उनले ‘जन्जिर’ फिल्मबाट पाए । उनले रोमान्टिक फिल्मको बोलवाला रहेको समयमा उक्त फिल्ममा अभिनय गरेका थिए । 

हालै अमिताभ बच्चनको जीवनी ‘अमिताभ बच्चन अ केलेडोस्कोप’ लेखेका प्रदीप चन्द्रा सम्झन्छन् भन्छन्, ‘यदि १६ फिल्म फ्लप हुँदासम्म तपाईंले फिल्म पाइरहनुभएको छ भने तपाईंको स्थान ‘बनिसकेको’ मान्न सकिन्छ । यदि तपाईंको स्थान बनेको हँुदैनथ्यो भने तीनवटा फिल्म फ्लप भएपछि तपाईंलाई मानिसले वास्ता गर्न छाड्छन् । कहिलेकाहीँ तपाईंलाई समयले साथ दिन्छ ।   

‘जन्जिर’ सुरुमा देवानन्दलाई प्रस्ताव गरिएको थियो तर फिल्ममा कुनै रोमान्टिक ‘कोण’ नभएको र त्यस्तो गीत नभएको भनेर उनले फिल्म छाडेका थिए । त्यसलाई राज कुमार र धर्मेन्द्रले पनि छाडेका थिए । बच्चनले मात्र यो फिल्मले उनलाई चर्चित बनाउने बुझे र त्यो सही सावित पनि भयो ।’ 

  

सेटमा एक घण्टाअघि नै पुग्छन् बच्चन 

७० को दशकको मध्य र ८० को दशकभरी अमिताभको लोकप्रियता चरम अवस्थामा थियो । सन् १९८० मेमा इन्डिया टुडेले अमिताभलाई ‘एक स्टार नभएर उद्योग’को संज्ञा दिएको थियो । 

अहिले ७० वर्ष उमेर कटेर पनि बच्चन हिन्दी फिल्म उद्योगका स्तम्भ हुन् । उनी थप परिपक्व हुँदै गएका छन् र यसले उनको अभिनयमा थप निखार आएको छ । यस अर्थमा उनले पाएका चार राष्ट्रिय पुरस्कारमध्ये तीन ६० कटेपछि पाउनु संयोग होइन । 

अभिताभ बच्चनको लोकप्रियताको बारेमा बोल्दै उनको जीवनी लेख्ने प्रदीप चन्द्र भन्छन्, ‘अमिताभ अघि अभिनेताहरु सेटमा १२ बजे पुग्नुछ भने चार बजे पुग्थे । कोही रक्सी खाएर आएका हुन्थे । कोही प्रसंशकको भीड लिएर आउँथे । तर अमिताभ बच्चन भने ७ बजेको सुटिङ छ भने ६ बजे आइसक्थे । त्यस्तै सुपरस्टार भएर पनि उनी अन्य कलाकारलाई उत्तिक्कै सम्मान गर्छन् । यी कुराले उनलाई अरूबाट अलग देखाउँछ ।’ 

रेहान फजल/बीबीसी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *