रत्ननगरमा शुल्कमा आधारित फोहोर संकलन
कार्तिक ३, चितवन । फोहोर व्यवस्थापन टाउको दुखाईएको विषय बनिरहेका बेला चितवनको रत्ननगर नगरपालिकामा शुल्कमा आधारित फोहोर संकलनको काम सुरु भएको छ ।
यस अघि नगरपालिका आफैले संकलनको काम गर्दै आएकोमा कार्तिकदेखी निजी संस्थालाई फोहोर संकलनको जिम्मा दिईएको छ । फोहोर संकलन र व्यवस्थापनको काम खर्चिलो बन्दै गएपछि सो नगरपालिकाले निजी संस्थालाई काम गर्ने जिम्मेवारी दिएको हो । फोहोर संकलन र व्यवस्थापनको लागि श्री माता कंकालीमाई उद्योग प्रा.लि. काठमाडौंसंग सम्झौता भएको छ ।
फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसंग १६ बुँदे सम्झौता भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुवराज पोखरेलले जानकारी दिए । प्रा.लि.ले कार्तिक १ गतेबाट फोहोर संकलनको काम सुरु गरेको छ । प्रा.लि.ले बार्षिक १० लाख ६६ हजार रुपैयाँ नगरपालिकालाई बुझाउने गरी फोहोर संकलनको जिम्मेवारी दिइएको उनले जानकारी दिए । रत्ननगरमा दैनिक करिब २५ टन फोहोर संकलन हुन्छ । नगरपालिकाले संकलित फोहोर पञ्चकन्या सामुदायिक वनमा रहेको डम्पीङ साइडमा लगेर राख्ने गरेको छ ।
डम्पीङ साइडमा राखिएको फोहोरलाई बर्गीकरण गर्ने, सडने र नसडने फोहोर छुट्याएर सडने फाहोरबाट कम्पोष्ट मल र नसड्ने फोहोर पुन प्रशोधन गरी बिक्री गर्ने गरी सम्झौता भएको छ । रत्ननगरमा सरसफाई शुल्क वापत बार्षिक २२ लाख रुपैया संकलन हुने र फोहोर संकलनको लागि करिब एक करोड रुपैया खर्च हुदै आएको छ । मेयर नारायण वनले फोहोरलाई नयाँ ढंगबाट व्यवस्थापन गर्ने गरी निजी संस्थालाई जिम्मेवारी दिइएको बताए ।
प्रा.लि.का कार्यकारी निर्देशक सागर रावलले राम्रो काम गरेर रत्ननगरमा उदाहरणीय बन्ने दावी गरे । प्रा.लि.ले लिने सरसफाई शुल्क आवासीय गाउँका घरले प्रति महिना २५ रुपैया, बजारका घरहरुले ३० रुपैया, सल हाउजिङ कम्पनी,विद्यालय, औषधी पसल, पोल्टी फर्म, छापाखाना, बैंकले बजार क्षेत्रमा भए १०० र गाउँमा भए ७५ रुपैया, छात्रावास, ल्याव, सुपर मार्केट, कवाडी पसल, व्यूटिपार्लर, तरकारी पसल, डिपार्टमेन्टल स्टोर बजार क्षेत्रमा भए २०० र गाउँमा भए १५० रुपैयाँ, हार्डवेयर पसल, होस्टेल, फ्रेसहाउस, मासु पसल बजार क्षेत्रमा भए ३०० र गाउँमा भए २२५ रुपैया तिर्नु पर्ने हुन्छ ।
त्यस्तै उद्योग, व्यवसाय ३०० देखि ६०० सम्म, होटल तथा रेष्टुरेष्ट २०० देखि १२ सय सम्म, सिनेमाहल, पोलिक्लनिक ५००, अस्पताल तथा निर्सिङहोम एक हजार,९) पार्टी प्यालेस तथा क्याटरिङ २ हजार , ठेला व्यापारीले मासिक १० रुपैयाँ सरसफाई शुल्क वापत तिर्नु पर्ने छ ।