ममताकाे स्नेही काखमा व्यक्तिको आँखा पुग्यो, राज्यको पुगेन

असोज ३०, विराटनगर । ललितपुरको कुसुन्ती हाइटस्थित घरबार बिहिन तथा अनि आमा बुवाको मायाबाट बञ्चित भएका अवोध नानीहरुलाई संरक्षण दिँदै आइरहेको एउटा संस्था छ ।   

परिवारको माया र घरको छाना दिएको एउटा पवित्र संस्था हो नेपाल स्नेही काख, जहाँ ३७ महिला र १८  जना पुरुषहरु छन् ।   

संस्थाले आफ्ना परिवारको बारेमा जानकारी नभएका, आफन्त कोही नभएका मानिसहरुलाई संरक्षण दिएर राखेको छ भने दशजना बच्चाहरुको अभिभावकत्व बहन गर्दै आइरहेको छ ।   

धेरै अर्धचेतका छन्, कोही आधा उमेरका त कोही २४–२५ वर्षका । ति सबैका आमा हुन् संस्थाकी अध्यक्ष श्रीनेहा पोख्रेल । जसले आमाको न्यानो माया र छहारी दिएर मानवताको एउटा परिचय दिएकी छिन् । उनी एक थ्रिएटर आर्टिस्ट पनि हुन् । 

सन् २०१० देखि सामाजिक कार्य सुरु गरेकी श्रीनेहाले सुरुवाती यात्रा आफ्नै घरबाट थालेकी हुन् । ‘धापाखेलमा एउटा लोग्ने मान्छेले कुलोको पानी खाइरहेको दृष्यले मेरो मन कुँडियो । यही घटनाले मेरो जीवनका बाटोले यात्रा मोडिएर आज नेपाल स्नेही काखसम्म आइपुगेको छ’, विगत सम्झिन्छिन् स्नेहा ।   

विवाह नगरी आमा बनेकी श्रीनेहा 

श्रीनेहा अविवाहित हुन् । करिब एक वर्ष अगाडि एक बालकलाई पशुपति मन्दिरको फोहोरको डंगुरमा फालिएको थियो । त्यो अबोध बालक जसले आमाको माया र न्यानो काख नपाए पनि श्रीनेहाको मानवता र स्नेहले भरिएको न्यानो काख पाएको छ । मुटुमा छेद बालकको नाम भविष्य राखिएको श्रीनेहा बताउँछिन् ।   

बुधबार पनि एक कार्यक्रम आयोजना गरी सामूहिक बलात्कारमा परि जन्मिएका जुम्ल्याहा नानीबाबुको पास्नी उनले सम्पन्न गरिन् । ‘अविवाहित हुँ । थ्रिएटरमा नाटक गरेजस्तो सहज त कहाँ हुन्छ र ? विस्तारै कोशिस गर्दैछु । अब त मुटु पनि यी नै नानीबाबुहरुका निम्ति धड्किन्छ’, उनी भन्छिन् ।   

व्यक्तिगत सहयोगको भरमा चल्दैछ संस्था   

९ वर्षदेखि संचालनमा आएको नेपाल स्नेही काख आजसम्म व्यक्तिगत सहयोगको भरमा चलिरहेको छ ।   

श्रीनेहा आफैँ थ्रिएटर आर्टिष्ट भएकै कारण पनि कहिले नाटक गरेर हातमुख जोडेकी छिन् भने कहिले थ्रिएटरका साथीहरुले सहयोग गर्दै आइरहेका छन् । कहिलेकाहीँ बजारमा, कहिले ठमेलमा, कुनै कार्यक्रममा खाजाको स्टल राखेर मःम, चिया बेचेर पनि आर्थिक स्रोत जुटाउने गरेको श्रीनेहाले बताइन् ।   

‘धेरै जस्तो जन्मदिन, एनिभर्सरी साथै तिथि परेको बेला धेरै नै सहयोग आउने गरेको र सोही सहयोगको आधारमा संस्था चलिरहेको छ,’ उनले बताइन् । हाल बिरामीबाट निको भएका दिदीबहिनीहरुले माला बनाएर बजारमा बिक्रीका लागि लाने गरेको र त्यहीँबाट आएको पैसाले पनि केही आर्थिक पाटोमा टेवा पुगेको उनले जानकारी दिइन् ।   

डा.कमल बासकोटा, बिजु श्रेष्ठ, मनिसा थापा लगायतका व्यक्तित्वहरुले आजसम्म संस्था प्रति अभिभावकत्व वहन गर्दै आईरहेको श्रीनेहाले बताइन् ।   

व्यक्तिको आँखा पुग्यो, राज्यको पुगेन 

संस्थाका लागि आजसम्म जे जसरी चल्दैछ यो संस्था आफैँले र यो सामाजिक क्षेत्रलाई बुझिदिने अरुको दुःखमा मलम लगाउन चाहने व्यक्तिहरुले बाहेक आजसम्म राज्यको आँखा यो संस्थामा नपरेको संस्थाकी अध्यक्ष श्रीनेहा बताउँछिन् । उनी भन्छिन्, ‘जिम्मेवारी त कोहि एक व्यक्ति विशेषको मात्र पनि होइन । यदि राज्यले पनि यस्ता सामाजिक संस्थाहरु तर्फ ध्यान राखिदिए समृद्धिका ढोका खुल्ने थियो ।’ 

सरकारले अलिकति सहायता दिने हो भने कयौँ मानसिक, शारिरिक समस्याले परिवारबाट अलगिएकाहरुका लागि एउटा बाँच्ने आधार निर्माण हुने थियो । मायाले आधा रोग निको हुन्छ भने आर्थिक स्तरमा मजबुत भै दिए एउटा दक्ष जनशक्तिको उत्पादनमा टेवा पुग्ने थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *