‘मेरो गीत गाएर मेरै आँगनीमा भैली खेल्नुहुन्छ, तर मलाई चिन्नुहुन्न’

–‘हरियो गोबरले लिपेको 

लक्ष्मी पूजा गरेको   

हे औँसी बाह्रो   

Image result for लोचन भट्टराई

गाई तिहारो भैलो… 

तिहारै आयो, लौ झिलीमिली–२ 

ए ! सुन हजुर भैलीनी आए आँगन’ 

झण्डैँ २२ वर्षअघि (वि.सं २०५४) रिलिज भएको चलचित्र ‘स्वर्ग’ मा समाविष्ट यो गीत तिहार लागेसँगै घरघरमा गुञ्जिन थाल्छ । विशेषगरी लक्ष्मी पूजाका दिन दिनैभरी, रातैभरी घन्किन्छ यो गीत । भैली खेल्नेको पहिलो रोजाईँमा पर्ने यो गीत हर–कोहीको मुखैमा झुण्डिएको छ ।   

हरेक वर्ष तिहार आउँछ, यो सामान्य कुरा हो । तर २०५४ सालदेखि हरेक तिहारमा यो गीत बज्नु, श्रोताको नजरमा पर्नु यो सामान्य होइन । कमै बन्छन् यस्ता सदाबहार कालजयी गीतहरु । यो गीतमा मौलिकता छ । मादल, सारंगी जस्ता मौलिक बाजाहरु यसमा प्रयोग भएका छन्, जसले यसलाई जीवन्त बनाएको छ ।   

५ मिनेट २० सेकेण्डको गीति भिडियोमा नायिका गौरी मल्ल लगायतका कलाकारहरुको नृत्य देख्न सकिन्छ । शिव श्रेष्ठ पनि झुल्किन्छन् अन्तिमतिर, अनि दुईजनाको हेराहेरमा सकिन्छ गीत ।   

यी गीतका शब्दहरु चर्चित निर्माता तथा साहित्यकार यादव खरेलले रचना गरेका हुन् । शम्भुजित बाँस्कोटाकाे संगीत रहेको यस गीतमा सुमधुर स्वरकी धनी गायिका लोचन भट्टराई र नूतन प्रधानले आवाज दिएका छन् ।   

०००                      ०००                           ००० 

चर्चित गायिका लोचन भट्टराईका अधिकांश गीतहरु जीवन्त छन्, ती मध्ये ‘तिहारै आयो लौ झिलिमिली’ पनि एक हो । हरेक वर्ष तिहारमा उनका घरमा भैली खेल्न आउनेहरुले यो गीत गाउँछन्, बजाउँछन् । तर कसैलाई यो थाहा हुँदैन कि– ‘जसले यो गीत गाएकी थिइन्, स्पिकरमा उनैका गीत बजाएर उनैका अगाडी हामी नाचिरहेका छौँ ।’   

हरेक वर्ष तिहारमा आफूले गाएको गीत आफ्नै घरको आँगनमा बज्छ, मख्ख पर्छिन् लोचन । रमाईलो मानेर सुन्छिन् । दक्षिणा दिन्छिन् । भैलीलाई बिदाई गर्छिन् । तर भैलीका अगाडी उनले कहिल्यै भनिन्– ‘यो गीतको आवाज मेरो हो ।’   

‘मैँले भैलीका अगाडी कहिल्यै भनिनँ कि त्यो गीत मेरो हो । मैँले गाएकी हुँ । मलाई यस्तै सस्पेन्सिभ नै राम्रो लाग्छ । आफू चिनिनु भन्दा पनि आफूले गाएका गीत अझ अमर भएर बाँचिरहोस् । यसमै रमाइलो लाग्छ मलाई’, लोचन भन्छिन् ।  

२२ वर्षअघि लोचन धेरैजसो चलचित्रका गीतहरु गाउँथिन् । संगीतकार शम्भूजित बाँस्कोटा र रचनाकार यादव खरेल उनका प्रशंसक थिए । बाँस्कोटाले अलिकति मिठो, सिरियस, रिदमिक खालका गीतहरु गाउनु पर्यो कि लोचनलाई नै रोज्थे ।   

उनी भन्छिन्– ‘संगीतकार शम्भु दाई र यादव दार्ई मेरो स्वर एकदमै मन पर्छ भन्नुहुन्थ्यो । सायद उहाँहरुको इच्छा पनि थियो होला मलाई नै गाउन लगाउने । यही कारणले यो गीत म सम्म आइपुगेको हुन सक्छ । उहाँहरु जस्तो ठुलो व्यक्तित्वका संगीत, शब्द, गाउन पाउनु मेरो अहोभाग्य हो ।’ 

रचनाकार यादव ठूला फिल्म मेकर हुन् । उनले धेरै फिल्महरु निर्माण गरिसकेका छन् । उनी कविकार हुन्, गीत पनि लेख्छन् । ‘गैरी खेतको शिरै हान्यो, यस्तै रहेछ यहाँको चलन, यस्तो पनि हुँदो रैछ जिन्दगीमा कहिले–कहिले’, यी सबै यादवकै रचना हुन् ।   

०००                      ०००                           ००० 

त्यो समयमा चलचित्रका गीतहरु प्राय मुम्बईमा रेकर्ड गर्ने चलन थियो । नेपालमा त्यति रेकर्ड हुँदैनथ्यो । लोचनले पनि धेरैजसो फिल्मका गीतहरु मुम्बईमा गएर रेकर्ड गराएकी थिइन् । ‘तिहारै आयो लौ झिलिमिली’ गीत भने नेपालकै स्टुडियो ‘म्युजिक नेपाल’ मा रेकर्ड गरिएको गायिका लोचन बताउँछिन् ।   

रेकर्डिङका दिन सम्झँदै लोचनले भनिन्, ‘यो गीतको ट्रयाक पहिले नै तयार भइसकेको थियो । यो गीत लाइभमा होइन ट्रयाकमा गाइएको थियो । गीत रमाईलो भएका कारण रमाईलो मुडमा थिएँ म पनि । रमाईलो गरी गाइयो यो गीत ।’ 

पछिल्लो समय चाडपर्व लक्षित गीतहरुमा मौलिकता हराउँदै गएको पाइन्छ । कमै गीत मात्रै हुन्छन् सदाबहार । ती कमैमा समेटिन्छ तिहारको यो गीत । यो गीतको लोकप्रियताको कारण के हुन सक्छ ? लोचन भन्छिन्– ‘यो परम्परागत गीत हो । यसमा लोक मेलोडी मिश्रित छ । मादल, सारंगीजस्ता मौलिक बाजाहरुको प्रयोग गरिएको छ । शब्द, संगीत र आवाज मिलेको तथा मौलिकता समेटिएकै कारण यो चर्चामा आएको हुन सक्छ ।’ 

०००                      ०००                           ००० 

भैली भन्नेबित्तिकै माथिको गीतको लय परापूर्व कालदेखि नै प्रचलनमा रहेको लोचन बताउँछिन् । सानोमा आफूले पनि भैली खेल्ने गरेको स्मरण गर्दै उनले भनिन्, ‘हल्का लयहरु परिवर्तन हुने मात्रै हुन् । स्वर अनुसार फरक सुनिन सक्छ । सानोमा हामी पनि भैली गाउँथ्यौँ । खेल्थ्यौँ । सानोमा आवाज मिलेन होला तर यस्तै किसिमले गाउँथ्यौँ ।’ 

केटाकेटी उमेरमा परम्परागत संस्कारलाई अगाडी बढाउने, तिरन्तरता दिने भन्दा पनि ‘पैसा आउँछ’ भन्ने आश हुन्थ्यो । त्यो समयमा पैसा महंगो थियो । एउटा घरबाट एक रुपैयाँदेखि अधिकतम पाँच रुपैयाँसम्म आउँथ्यो । सेलरोटी, फलफुल, चामल पनि दिन्थे भैलीलाई ।   

‘पैसा साथी–साथीमा भाग लगाइन्थ्यो । बाँकी सरसामानको पिकिनिक जस्तै हुन्थ्यो । तिहारपछि सबै साथीभाई जम्मा भएर भाँडाकुडा लिएर भैली खेल्दाको चामल बारीमा लगेर, पकाएर खान्थ्यौँ । रमाइलो गथ्र्यौैँ’, उनी सुनाउँछिन् ।   

उनले भैली खेलेर ड्रेस समेत किनेकी छिन्– ‘धेरै जना गए पैसा कम हुन्छ भन्ने लाग्थ्यो । त्यसैले हामी मिल्ने मिल्ने साथीहरु ६–७ जना मात्रै जान्थ्यौँ । एक पटक २६ रुपैयाँ भागमा परेको थियो । मैँले त्यो पैसाले स्काई ब्लु कलरको पाइन्ट र टिसर्ट किनेकी थिएँ ।’ 

त्यो समयमा भैली भनेपछि महिलाले मात्रै खेल्थे भने देउसी पुरुषले मात्रै । अहिले जस्तो देउसी र भैलोमा महिला, पुरुष दुवैको सहभागिता हुँदैन थियो । अहिलेजस्तो राति अबेरसम्म खेल्न पनि पाइँदैनथ्यो त्यो बेला ।   

‘लक्ष्मी पूजा भन्दा पनि कतिखेर भैली खेल्न जाउँ जस्तो हुन्थ्यो । बाबा आमाले राति अबेरसम्म नखेल भन्नुहुन्थ्यो । दिनुहुन्थेन । साँझ पर्न लागेपछि खेल्न सुरु गथ्र्यौँ, ८ बजेपछि घर फर्किहाल्थ्यौँ’, बालापनका तिहार स्मरण गर्दै उनले भनिन् ।   

हेर्नुहाेस गीत 

https://youtu.be/gPYRNCHsl6M 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *