‘फौजीलाई कुन हो दशैं, कुन हो चाड तिहार’

हरेक वर्षको दशैं आसपास एउटा गीत बज्छ– 

‘वर्षमा दिनको यो बडा दशैं कमेरो लाइएन 

देश र जनता भन्दामा भन्दै घर जान पाइएन 

धानकै बाला झुलाउँला मायालाई बोलाउँला’ 

अनि सामाजिक सञ्जालभरी प्रहरीको पोसाक लगाएका, हातमा बन्दुक बोकेका एउटा व्यक्तिको तस्विरसहितको सयौँ ट्रोल छरपस्ट हुन्छन् । ‘यीनी दाजुले यो वर्षको दशैंमा छुट्टी पाएनन् भने म नि भर जान्नँ, मैँले थाहा पाएदेखि आजसम्म यो दाईले दशैंमा छुट्टी पाएका छैनन्, यो दाईले यसपाली बिदा पाउला कि नपाउला’, –यस्तै यस्तै शब्दले भरिपूर्ण हुन्छ त्यो ट्रोलवाला तस्विर ।   

ती ट्रोल, तस्विर हेर्दै मुस्कुराउँछन् प्रहरी अधिकृत दीपक कोइराला । आफूलाई नचिने पनि आफ्नो कला चिनिएकोमा मक्ख पर्छन् । दंग पर्छन् उनी ।   

जनतालाई उनको दशैं कस्तो होला भन्ने चिन्ता जागिरहँदा २०६० सालतिर पत्रकारिता छोडेर सशस्त्र प्रहरी बलमा भर्ती भएका दीपकलाई ती चाडबाड भन्दा पनि राष्ट्र र जनताको सुरक्षाको सुर्ता छ । चिन्ता छ । सबै चाडबाड फौजी घरमै रमाइलो मान्ने उनी जनतालाई कसरी सुरक्षा दिने भन्नेमा केन्द्रित रहँदा यता जनता भने उनको खोजीमा छन् ।   

प्रहरी अधिकृत दीपकलाई राम्रोसँग कमैले मात्र चिन्छन् । तर फौजीको पीडालाई शब्दमा उतार्ने उनको कला, शैली तथा प्रस्तुतिलाई बिर्सन पनि सकेका छैनन् कसैले । आखिर को हुन्, को थिए त त्यो ट्रोलमा छाउने फौजी ? के उनी साँच्चै यो दशैंमा घर जान पाउलान् त ? कस्तो हुन्छ त फौजी र फौजी घरको दशैँ ? लगायतका विषयमा उनीसँग गरिएको कुराकानी संक्षेपः 

चारैतिर दशैंको माहोल छ, तपाईँलाई कत्तिको छुँदैछ ?   

दशैं हामी सबै नेपालीको महान चाड हो । म पनि एउटा नेपाली भएको नाताले मलाई यो पर्वले नछुने कुरै भएन । मलाई राज्यले एउटा जिम्मेवारी सुम्पिएको छ । त्योसँगै मेरो पारिवारिक जिम्मेवारी पनि छ । यी सबै कुराहरुलाई व्यवस्थापन गर्दै दशैं मनाउनु पर्छ ।   

यो वर्षको दशैंमा घर जाने अवसर जुर्ला जस्तो छ कि छैन ?   

घर जाने सम्भावना छैन । किनभने हामी अधिकृतहरुले म घर जान्छु भनेर भन्नु भन्दा पनि आफू बसेर अरुलाई पठाउनुपर्ने बाध्यता हुन्छ । आफूले घर जान्छु भनेर बिदा पास गर्ने भन्नेतिर ध्यान नै जाँदैन । मनमै आउँदैनन् त्यस्ता कुरा ।   

परिवारसँग बसेर दशैं मनाउन नपाउँदा खल्लो लाग्दैन ?   

एउटा चेलीलाई विवाह गरेर पराई घर जानु जतिकै कर्तव्य बोध हुँदो रहेछ एउटा फौजीलाई । विवाह गरेर गएकी चेलीले माइती सम्झेर माइतीसँग बसेर दशैं मनाउन पाइनँ भनेर गुनासो गरेर हुन्छ त ? उसले पराइ घरमै रमाउनुपर्छ । त्यहीँ एडजस्ट हुनुपर्छ, जसरी पनि ।   

सुरुसुरुमा दुःख लाग्छ । तर पछि एडजस्ट हुँदै जाँदा उनले त्यही घरलाई नै आफ्नो सारा संसार मान्छिन् । हामी फौजीको पनि यस्तै हो । जन्मघर भनेको माइती जस्तो अनि कर्म घर भनेको फौजी घर हुँदो रहेछ । त्यसकारण हामी यहाँ असाध्यै रमाउँछौँ । धुमधामले दशैं मनाउँछौँ ।  

यो वर्ष पनि छुट्टी मिलेन भन्नुपर्दा कतिको दुःख लाग्थ्यो ? परिवारबाट कस्तो प्रतिक्रिया आउँथ्यो ?   

परिवारबाट त्यस्तो कुनै पनि प्रतिक्रिया आएन । किनकि उहाँहरुले मेरो कर्तव्य बुझ्नु भएको थियो । मेरो बाध्यता उहाँहरुलाई थाहा थियो । उहाँहरु थाक्नु भइसक्यो । मलाई घर आउनु भन्दा भन्दा उहाँहरु वाक्क हुनु भइसक्यो । बरु हामी नै उहाँ भएकै ठाउँमा जाँदा ठिक होला भनेर यसपाली त परिवार नै काठमाडौंबाट म कार्यरत जिल्ला सिराहा नै आउनु भएको छ । यो वर्षको दशैं परिवारसँगै मनाउँदै छु ।   

फौजीमा लागेपछि कति वटा दशैं परिवारसँगै बसेर मनाउनु भयो, याद छ ?   

मैँले धेरै दशैं परिवारसँगै बसेर मनाउने अवसर पाएको छु । अहिले ४, ५ वर्ष जति भयो परिवारसँग बसेर दशैं मनाउन पाएको छैन । 

तपाई पत्रकार हुनुहुन्थ्यो, फौजीतिर कसरी लाग्नुभयो ?   

सबै मान्छेको आ–आफ्नै एउटा रहर हुन्छ । मेरो पनि पत्रकारिता तिर लगाव थियो । रहर थियो । त्यसकारण मैँले त्यही विषय अध्ययन गरेँ ।   

मेरो बुवा फौजी हुनुहुन्थ्यो । उहाँ अहिले नेपाली सेनाबाट रिटायर्ड हुनु भइसक्यो । मेरा सबै दाजुहरु पनि यतैतिर । त्यसकारण मलाई पनि यो पेसातिर शौख थियो । मोह थियो । मेरो सपना पनि थियो राष्ट्रको सुरक्षा गर्ने । त्यसैले म यतातिर आकर्षित थिएँ र २०६० सालतिर फौजीतिर लागेँ । अहिले पनि म शसस्त्र प्रहरी सेवामा छु ।  

गीत गाउने, लेख्ने अवसर चाहीँ कसरी जुर्यो ?   

म पत्रकारिता विषय अध्ययन गरेको मान्छे । शसस्त्र प्रहरी सेवामा गएँ । पत्रकारिता विषय पढेको भएर यता त्यस्तै काम गर्ने ठाउँमा मेरो नियुक्ति भयो । त्यसपछि कति कथा लेखियो, कति गीत लेखियो, चलचित्र निर्माण गर्दै गइयो ।   

तर त्यो मैँले व्यावसायिक रुपमा लेखेको भने होइन । आफ्नो कर्तव्य निर्वाहका क्रममा दर्शक, श्रोतालाई नयाँ नयाँ सामग्री पस्कने कोशिष गरेको मात्रै हुँ । तीनै गीतहरु अहिलेसम्म पनि चर्चित छन् । निकै खुशी लाग्छ ।   

दशैं नजिकिँदै गर्दा तपाईँका गीतहरु भाइरल हुन्छन्, उतिकै बन्छन् ट्रोल । यतिबेला कस्तो महशुस हुने रहेछ एउटा कलाकारलाई ?   

जतिबेला मैँले धेरै मिहेनत गरेको थिएँ । त्यतिबेला मेरो बारेमा कुनै चर्चा भएन । म भाइरल पनि भइनँ । कुनै ट्रोल पनि बनेन । तर टेलिभिजनहरुमा मेरो बाहेक अरु कुनै गीतहरु बज्दैनथ्यो दशैंको माहोलमा ।   

अहिले कलाकारिता छोडेर आफ्नो व्यावसायिक जीवन सुरु गरेको लगभग ३–४ वर्ष भयो । म त्यो ठाउँबाट सरुवा भएर अर्को ठाउँमा आइसकेको छु अहिले । ३–४ वर्षको अवधिमा दर्शकहरुले पक्कै पनि मलाई खोज्नुभयो ।  

अहिले सामाजिक सञ्जालमा मेरो आफ्नै तस्विरमा कसैले के भन्नु भएको हुन्छ, कसैले यो रिटायर्ड भइसक्यो होला, यो हवल्दार साबले यसपाली बिदा पाउँछ कि पाउँदैन होला भन्नुहुन्छ । म एउटा शसस्त्र प्रहरी बलको अधिकृत हुँ तर सबैले मलाई हवल्दार भनेर लेख्नुभएको हुन्छ ट्रोलमा । तर म खुशी छु । किनकी मलाई नचिने पनि मेरो कला र पेसालाई सबैले चिन्नुभएको रहेछ ।   

म ती ट्रोलहरु हेरिरहन्छु, मुस्कुराइ रहन्छु, हाँस्छु । मलाई रमाइलो लाग्छ तर म खासै प्रतिक्रिया चाहीँ दिन्नँ । मेरो बारेमा यतिको चासो राखिदिनु हुँदो रहेछ भनेर हर्षित हुन्छु । 

ती चर्चित फौजी गीतहरुमा तपाईँले आफ्नै भोगाइ, पीडा उतार्नु भएको त होइन ?   

साहित्य र सिर्जना गर्ने मान्छेले कहिले पनि आफ्नो जीवनको भोगाइबारे मात्रै लेख्छ भन्ने छैन । कला भनेको कल्पना हो । ती गीतहरुमा मेरो पीडा भन्दा पनि म जस्ता मान्छेहरुको अवस्था, पीडा कल्पना गरेर गीतमा उतारेको हुँ ।   

कति सुनेका कुरा छन् भने कति देखेका कुरा छन् ती गीतमा । हाम्रो बुवा आमा, हजुरबुवा हजुरआमाहरुको कुरा सुन्दा, उहाँहरुको भोगाइ अर्थात् एउटा नेपाली फौजी र उसको परिवारको थेट वास्तविकतालाई मैँले मेरो शब्दमा उतार्ने प्रयास मात्र गरेको हुँ । अब काठमाडौं फर्किएपछि फेरि नयाँ प्रस्तुति, कोशेलीहरु दर्शक तथा शुभचिन्तक माझ लिएर आउने छु । मेरो कला मरेको छैन । जोस जाँगर त्यतिकै छ । त्याे मेरो प्रतिबद्धता नै भयो मेरो प्रशंसकलाई ।   

फौजीघरमा फौजीको दशैं कस्तो हुन्छ ?   

फौजीको दशैं पनि निकै रमाइलो हुन्छ । कोही घर गएका हुन्छन् । कोही आलोपालो गरी जान्छन् । सुरक्षाको दृष्टिकोणले सबैजना आफ्नो फौजीघर छोडेर जान पनि मिल्दैन । हामी जो–जो फौजी घरमा हुन्छौँ, घटस्थापनाको दिनमा मन्दिरमा जमरा राख्छौँ । पूजा आजा गर्छौँ । अनि नवमीको दिनमा बोका काटेर बलि पनि दिन्छौँ । दशैंका बेला एउटा घरमा हुने सम्पूर्ण संस्कारहरु हामी पूरा गर्छौँ ।   

त्यस्तै विजया दशमीको दिनमा जमरा र टिका थापिन्छ । फौजी घरको सबैभन्दा ठूला ज्येष्ठ सदस्य, सबैभन्दा सिनियर को छ, उसले सबै जनालाई टिका लगाइदिन्छन् । त्यसपछि नाचगान गरिन्छ । ‘धानकै बाला झुलाउँला’ भन्ने गीतमा जस्तो थियो त्यस्तै हुन्छ हामी फौजीको दशैं ।   

घर जान नपाएका साथीहरुलाई के भन्न चाहनुहुन्छ ? 

 मैँले केही भन्नै पर्दैन । न त सान्त्वना नै दिनुपर्छ । मेरा प्रत्येक शब्दमा सान्त्वना छन् । ‘भन्नेलाई भन्दिए भो बिर्स घरबार, फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार’, ‘फौजी सबै घर गए देशको रक्षा कसले गर्छ’, यी पनि एउटा पनि सन्देश नै हुन् । त्यसैले फौजी साथी हो, हामी फौजी घरमा रमाउने हो । र दशैँ मनाउने हो ।   

बाल्यकालको दशैं कस्तो थियो र जिम्मेवारी थपिएपछिको दशैं कस्तो हुने रहेछ ? थोरै स्मरण गरौँ न ? 

बाल्यकाल मेरो दोलखा जिल्लामा बित्यो । मेरो जन्म त्यहीँ भएको हो । दशैंको बेला रोटेपिङ हालिन्थ्यो । लिंगे पिङ हालिन्थ्यो । रुखमा बाबियोको डोरी बाटिन्थ्यो । सबै जना कमेरो लिन बेसी झर्ने भन्थे । बेसी झरेर ल्याएको कमेरो घरमा छ्यापिन्थ्यो । ढिकिमा ड्याङ ड्याङ धान भुटिन्थ्यो । यतापट्टि चिउरा कुटिन्थ्यो । त्यो भुस नै भएको चिउरा खानलाई कति मज्जा आउँथ्यो । भोलिपल्ट लुगा किन्नु छ भनेपछि रातभरि निन्द्रा लाग्दैन थियो । दशैंको नाना, दशैंको खाना र दशैंको गाना यी तीन चिजबाट हामी कहिले चाहीँ भाग्न सकेका छौँ र ?   

अहिले त्यो सम्झिँदाखेरी त दशैं आजकाल कहाँ नै आउँछ र ? आजकाल दशैं मान्छेको घर–घरमा होइन, मोबाइलमा आउँछ । सामाजिक सञ्जालहरुमा आउँछ ।  जिम्मेवारी थपिएपछि हामीले दुनियादारी अनुसार गरेकै गर्नुपर्ने हुन्छ । गरेकै पनि हुन्छौँ । मैँले हिजोको दिनमा बुवा आमासँग नाना माग्थेँ भने अहिले मैँले उहाँहरुलाई नाना दिनुपर्छ । सबै व्यवहारहरु आफैँले निभाउनुपर्ने हुँदा दशैंमा रमाइलो गर्नुभन्दा पनि यसलाई कसरी टार्ने भन्नेतिर लागिन्छ । त्यति सहज पनि त छैन । थोरै पैसाले त टर्दैन अहिलेको दशैं ।   

तपाईँ त बुवाको इच्छा बमोजिम फौजी बन्नुभयो, छोराछोरीलाई चाहीँ के बनाउने सोच्नुभएको छ ?   

छोरा मेरा सानो छ । मन्टेश्वरीमा पढ्छ । अब ऊ फौजी हुने बेलासम्म देश, काल, परिस्थिति के–कस्तो हुन्छ, त्यही अनुसार चल्दै जाने हो । जेठी छोरी लगभग २०–२१ वर्षकी भइन् । अहिले फिजियोथेरापीमा डाक्टर पढ्दै छिन् इन्डियामा । अर्की छोरी नौ कक्षामा पढ्छिन् । छोराछोरी यस्तो बनिदिउन्, यस्तो बनिदिए हुन्थ्यो भन्ने छैन मलाई । उनीहरुलाई जे बन्ने इच्छा छ त्यही बन्छन् । राष्ट्र सेवामा इच्छा देखाउँछन् भने पनि म खुशी नै हुनेछु । प्रोत्साहन दिनेछु ।   

दर्शक, शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?   

मलाई मन पराएर, मलाई खोजिदिएर मेरो बारेमा ट्रोल बनाएर सामाजिक सञ्जाल पुरै रंगाइदिनु भएकोमा, मेरो बारेमा चिन्ता लिइदिनु भएकोमा यहाँहरु सबैलाई म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यहाँहरुको त्यो म प्रतिको माया, सोच म मुक्त कण्ठले प्रशंसा गर्दछु ।   

यहाँहरुले मलाई खोजिरहनु भएको मलाई ज्ञात छ । राष्ट्र सेवामा लागिरहँदा मेरो कर्तव्य निर्वाहका क्रममा म केही समय ओझेलिएको मात्र हुँ । म केही समय छायाँमा बसेको मात्र हुँ । म फेरि एउटा सुनौले घाम बनेर मेरा नयाँ नयाँ कृतिहरु लिएर यहाँहरु माझ आउनेछु । त्यतिबेला यहाँहरुले मलाई हेर्न पाउनुहुनेछ । पक्कै पनि म यहाँहरुबाट टाढा जाने छैन । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *