गगन थापाले सुधारे देउवाको बोलीः भने– अपराध गर्नेले दण्ड पाउनुपर्छ

कात्तिक २, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले मोहम्मद अफताब आलम पक्राउ प्रकरणमा सभापति देउवाले राखेको धारणा व्यक्तिगत भएको भन्दै कांग्रेसकाे बचाउ गरेका छन् ।  

हिजो शुक्रबार एक कार्यक्रममा सभापति देउवाले आफ्ना निलम्बित सांसद आलम पक्राउको विषयमा धारणा राख्दै कांग्रेसविरुद्धको सरकारको षडयन्त्र दाबी गरेका थिए ।   

‘आलमलाई प्रहरी लगाएर पक्राउ गरी सरकारले कांग्रेसविरुद्ध षडयन्त्र गर्यो । १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थाल्यो’, देउवाले भनेका थिए ।   

सभापति देउवाको उक्त अभिव्यक्तिको आलोचना हुन थालेपछि नेता थापाले शनिबार सामाजिक सञ्जाल फेसबुकमा ‘बाँकी सबै धारणा व्यक्तिगत हुन्’ भन्दै कांग्रेसको बचाउ गरेका हुन् ।   

‘जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ’, उनले फेसबुकमा लेखेका छन्, ‘दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ।निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो। यही हो काँग्रेसको धारणा।बाँकी सबै व्यक्तिगत धारणा हुन्।’‬ 

यद्यपी अहिले सभापति देउवाले पनि आफ्नो बोली फेरिसकेका छन् । आज एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्छ । १२ वर्ष पुरानो मुद्दामा मैँले यही संकेत गरेको हुँ तर कानुनी राज्यमा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’ 

हत्या तथा प्रमाण नष्ट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका निलम्बित सांसद आलम निलम्बनमा परिसकेका छन् । उनीमाथि म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

२०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोप लागेका उनी आइतबार पक्राउ परेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *