सञ्चार माध्यमले मेरो बदनाम गर्न खोज्यो, त्यसका विरुद्ध लड्छुः सांसद कँडेल

कार्तिक ७, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले आफ्नो नाममा भारतीय भूमिमा एक इञ्च पनि जमिन भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् ।   

आफूमाथि सञ्चार माध्यमले भारतीय नागरिक भएको आरोप लगाएपछि बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता कँडेलले आफू भारतीय नागरिक भएको पुष्टि गर्न समेत चुनौती दिए ।   

नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी हजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनाव बाहेक कतै पनि मतदान नगरेको उनको दाबी छ । ‘मेरो नाममा भारतीय नागरिकता त के, मेरो नाममा भारतमा एक इञ्च पनि जमिन भएको पुष्टि गरेर देखाउन चुनौती दिन चाहन्छु,’ नेता कँडेलले भने, ‘संस्था (विद्यालय) बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु । तर, झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्याउँदा अत्यन्तै दुःख लागेको छ ।’ 

उनले आफूले भारतीय सवारी चालक अनुमतिपत्र भने लिएको स्वीकार गरे । आफूले बाल्यकालदेखि स्नातक तहसम्म भारतमा अध्ययन गरेको र शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमतिपत्र लिएको कँडेलको भनाइ छ ।   

भारतदेखि तेस्रो मुलुक जाने अधिकांश नेपालीले ति मुलुकको सवारी चालक अनुमति पत्र लिने गरेको स्मरण गराउँदै उनले सवारी चालक अनुमति पत्र लिँदैमा कोही पनि अन्य मुलुको नागरिक नहुने दाबी गरे ।   

कँडेलले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफू विरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको जानकारी दिए ।   

सन् १९५० को सम्झौताका आधारमा नेपालीले पनि भारतमा सामाजिक संघसंस्था सञ्चालन गर्न पाउने भएकाले आफू आफ्नो हजुरआमाले खोलेको क्याम्पस (तत्कालीन विद्यालय) को अध्यक्ष भएको प्रष्ट्याए ।   

उनले आफूलाई अपहरणकारी भएको दाबी गर्ने सञ्चार माध्यमविरुद्ध कानुनी उपचारमा जाने पनि बताए । एक महिना अगाडिमात्रै आफू भारतीय र नेपाली सुरक्षा अधिकारीको संयुक्त बैठकमा सहभागी भएको तस्बिर देखाउँदै उनले भने, ‘म अपहरणकारी भएको भएँ के यसरी दुबै देशका सुरक्षा अधिकारी सहभागी भएको कार्यक्रममा उपस्थित हुने हिम्मत राख्थे ? ममाथि हुँदै नभएको आरोप लगाइएको छ । कानुनी उपचारमा जान्छु ।’ 

कांग्रेस नेता कँडेल पत्रकार सम्मेलनमा आफूमाथि सञ्चार माध्यमले लगाएका अनेक आरोपको खण्डन गर्ने लिखित दस्तावेजहरुका साथ उपस्थित भएका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *