सत्ययुगदेखि चलेकाे ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ (फोटो फिचर)

असोज २७, काठमाडौं । कोजाग्रत पूर्णिमाको भोलीपल्ट राजधानीको हाँडीगाउँमा हुने जात्रा सम्पन्न भएको छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने नेपाली उखानलाई परिभाषित गर्ने सत्यनारायणको जात्रा मनाइएको छ ।   

कोजाग्रत पूर्णिमाको भोलिपल्ट हाँडीगाउँमा मनाइने सत्यनारायणको जात्रामा स्थानीयहरुको उत्साहजनक उपस्थिति रहेको थियो । काठमाडौं हाँडीगाउँका राजपरिवारका दिदीबहिनीबीच प्रसुति सम्बन्धमा दैवी शक्तिमा दिदीको भनाइ बहिनीले नमान्दा जन्मिएको जात्रा नै हाँडी गाउँको जात्रा हो । 

सत्यनारायण जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।  जात्रामा ब्रम्हा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ । यो जात्रालाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ । जात्राका लागि कोजाग्रत पूर्णिमामा स्थानीय गुठीयार शिवपुरी ध्यानमग्न विष्णुको आत्मा लिन बासबारीमा राती  जाग्राम बस्ने प्रचलन छ । 

जात्रामा खटको टुप्पोमा हिमालको प्रतीकका रुपमा बेतको गोलाकार चक्कालाई सेतो कपडाले बेरिएको हुन्छ । बीच भागमा पृथ्वीको प्रतीकका रुपमा घुमाउन मिल्ने गरी बास र बेतले कलात्मक ढंगले मन्दिर बनाइएको छ । यो जात्रामा भक्तजनले रथको गजुरको पुजाआजा गर्ने प्रचलन छ ।   

यो जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ पनि उल्टो घुमाइने र मैनको फूल प्रयोग गर्ने गरिन्छ । यस्तो प्रचलन कुनैपनि जात्रामा नहुने भएकाले यो जात्रालाई ‘कहीँ नभएको हाँडीगाउँको जात्रा’ भनिएको हो । हाँडीगाउँको जात्रा ‘सत्ययुग’देखि नै चल्दै आएको जनविश्वास रहिआएको छ । 

सत्ययुगमा एक महिला गर्भ रहेको १२ वर्षसम्म सुत्केरी नभएपछि भगवान् नारायणलाई खुसी पार्न कहीँ नभएको जात्रा र कहीँ नभएको फूल चढाउने वाचा गरी सुत्केरी गराइएको र त्यसपछि जात्रा मनाउन थालिएको किंवदन्ती छ । 

तस्विरहरु, मुकुन्द कालिकोटे तथा सामाजिक सञ्जालबाट 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *