पर्यटन वर्ष–२०२०ः व्यवसायिक पर्यटनको आवश्यकता
एलिना मगर
देश संघीयतामा गएको धेरै समय भएको छैन । संघियतासँगै प्रायः प्रदेशहरुले समृद्धिको आधार पर्यटनलाई मानेका छन् । पर्यटनलाई मुख्य एजेण्डाको रुपमा उठान गरेको सुन्न पाइन्छ । यो शुभ संकेत हो । दिगो पर्यटन विकासको मुख्य तत्व व्यवसायिक पर्यटन अबको आवश्यकता हो । पर्यटन व्यवसायिकरणका लागि सरकारी तवरले जनमानसलाई उत्प्रेरित गर्नुपर्ने हुन्छ । जबसम्म पर्यटनबाट आर्थिक लाभ लिन सकिन्न तबसम्म पर्यटनको मुख्य मर्म पूरा हुन्न ।
विगतका वर्षदेखि नै नेपालमा पर्यटक भित्र्याउन पर्यटन लक्षित कार्यक्रम एवम् पर्यटन वर्षहरुको आयोजना हुँदै आइरहेको छ । सरकारले मात्र नभएर नीजि क्षेत्रले पनि आ–आफ्नो तवरबाट प्रचार–प्रसार एवम् गतिबिधिहरु गर्दै आएको इतिहास हामी देख्न सक्छौं । यसैगरी नेपाल सरकारले सन् १९९८ मा भिजिट नेपाल एयर र सन् २०११ लाई नेपाल टुरिजम एयरका रुपमा क्याम्पेनिङ गरेको थियो । २०१८ को आंकडाअनुसार करिब १२ लाख विदेशी पर्यटक नेपाल भित्रिएको देखिन्छ । विभिन्न संघ–संस्थाहरुले पनि पर्यटकको संख्या वृद्धिमा जोड दिइरहेका छन् । सरकारले देशमा २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल पर्यटन वर्ष–२०२० घोषणा गरेको छ ।
यसले देशमा पर्यटकको संख्या वृद्धिमा केही हदसम्म सहयोगी भूमिका खेल्दछ भन्ने आशा गर्न सकिन्छ । देशका केही सीमित स्थानबाहेक अन्यत्रले पर्यटनबाट यथोचित लाभ लिएको देखिदैन । पर्यटकको संख्या वृद्धिमा जोड दिने कार्यक्रम आवश्यक छ । त्यसबाहेक पूर्व क्षेत्रको कुरा गर्दा पर्यटकको संख्या वृद्धि कार्यक्रम, पूर्वाधारमा लगानी र जनशक्ति उत्पादन यी तिनै वटा पाटोलाई समानान्तर रुपले अघि बढाउन आवश्यक देखिन्छ । पर्यटन वर्ष लक्षित कार्यक्रमले आयोजक देशका जनतालाई पर्यटनमैत्री र पर्यटन व्यवसायी बन्न उत्प्रेरणामूलक कार्यक्रमको योजना बनाइनु पर्दछ ।
प्रदेश नं. १ मा विविधतायुक्त आकर्षण विद्यमान छ । यस क्षेत्रमा तराई, पहाड तथा हिमालको स्वाद पर्यटकलाई दिन सकिन्छ । पर्यटन गन्तव्यसम्म पुग्न सहज पहुँच (यातायात) को राम्रो प्रबन्ध छ । अन्य केही स्थानहरुसँगको सडक सञ्जाल विस्तारमा जोड दिनुपर्ने हुन्छ । यसले पनि पर्यटनका अवयवलाई बढोत्तरी गर्दछ । हामीसँग सम्भावनाको खानी हुँदाहुँदै पनि हामीले यसलाई ‘क्यास’ गर्न चुकिरहेका छौं । यस क्षेत्रमा आउने पर्यटक को हुन् त यसको अध्ययन गरी टार्गेट ग्रुप छनौट गर्नुपर्ने हुन्छ । तर, हामी पर्यटकको नजरबाट भन्दा पनि आफ्नो सोचले क्रियाकलाप गरिरहेका छौं । हामीसँग भएका मौलिकता र आकर्षणलाई बिक्रीयोग्य बनाउन सकेका छैनौं । यसले पर्यटनप्रति सामाजिक भावना ओतप्रोत भएको छ भन्ने दर्शाउछ । व्यवसायिक कोणबाट हामीले पर्यटकीय क्रियाकलाप गर्न नसकेकाले पछि परिरहेका छौं । हामीले व्यवसायिक सोचको विकास गर्नुपर्ने देखिन्छ । सामाजिक उत्तरदायित्वमा व्यवसायिकता थपेर दुवैलाई समायोजन गरी प्रोडक्ट तयार गर्ने हो भने यसबाट आर्थिक लाभ लिन सकिन्छ । यसका लागि भने नीजि क्षेत्र र युवावर्गको चासो जगाउनु अत्यावश्यक छ ।
पछिल्लो समयमा पर्यटन शिक्षाप्रति युवाहरु आकर्षित भइरहेका छन् । तर, ती युवाहरुलाई यसै क्षेत्रमा लगानी गरेर काम गर्न सक्ने वातावरण दिन नसक्दा पलायन भइरहेका छन् । यसले देशको उन्नतीमा क्रमिक रुपले क्षति गरिरहेको छ । यस क्षेत्रमा प्रायः पर्यटनकर्मीले पर्यटनलाई सहायक पेशाका रुपमा अवलम्बन गरेका कारण पनि व्यवसायिक पर्यटनको विकास हुन नसक्नु एउटा कारक हो । यस क्षेत्रमा पर्यटनमा नीजि लगानीको कमी भइरहेको छ । नीजि क्षेत्रलाई पर्यटनमा लगानीका लागि प्रोत्साहनको जरुरत देखिन्छ । लगानीकर्ताको लगानीको सुरक्षाको सुनिश्चितता गर्न सहजीकरण गर्नुपर्ने हुन्छ ।
पर्यटनमा लगानीको कमी हुनका कारण नीजि क्षेत्र मात्र हकदार भने होइन । नीजि क्षेत्रले लगानी गरेपछि तत्काल प्रतिफलको अपेक्षा गर्दछ । पूर्वमा पर्यटकको आगमन तुलनात्मक रुपमा कम देखिन्छ । यसैले पूर्व क्षेत्रमा ठूला लगानी गरेर अपेक्षाकृत प्रतिफल प्राप्त नहोला भन्ने त्रास लगानीकर्तामा छ । जसले गर्दा लगानीकर्ता अन्यत्र मोडिरहेका छन् । सरकारले पर्यटनमा लगानीका लागि सहजीकरण गर्नुपर्दछ । लगानीकर्ताको लगानी सुनिश्चितताको पहिलो उपाय भने यस क्षेत्रमा पर्यटक भित्र्याउने एकिकृत योजना बनाउनुपर्दछ । जसले पर्यटकलाई यस क्षेत्रमा आकर्षित गर्न सामूहिक प्रचारमा बल पुग्दछ ।
यदि यस प्रदेशले पनि पर्यटनलाई समृद्धिको आधार मानेको हो भने पर्यटनलाई मुख्य एजेण्डा बनाएर ‘क्रस कटिङ थिम’ बाट योजनाहरु बनाइनु पर्दछ । योजनाहरुले पर्यटनमा सकारात्मक वा नकारात्मक असर के पर्न सक्छ त्यसप्रति सचेतक भएर योजनाहरु अघि बढाइनुपर्ने देखिन्छ । पर्यटन विकासका लागि आवश्यक पर्ने पूर्वाधार जस्तै, बाटाघाटा, बिजुली, खानेपानी, प्रचारप्रसार लगायतका प्रबन्ध सरकारी पक्षले गर्नुपर्ने हुन्छ । पर्यटनलाई एजेण्डा मान्ने तर, योजनाहरु चाहिँ पर्यटनलाई आधार नबनाइकन अघि बढाउने हो भने पर्यटन विकासको सपना बेकार हुन्छ ।