एनआरएनएको निर्वाचनमा पराजीत भएपछि कूल आचार्यले उठाए गम्भिर कुरा

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन भएसँगै पराजीत भएका कूल आचार्यले गम्भिर कुरा उठाएका छन् ।   

संघको विश्व सम्मेलनले कुमार पन्तको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षका अर्का उम्मेद्धवार कुमार पन्तसँग १ सय ४७ मतले पराजित भएका आचार्यले संघ भित्र ठूलो आर्थिक अनियमितता भएको जिकिर गरेका छन् ।   

निर्वाचनमा पराजय व्यहोरेपछि आचार्यले आफ्नो फेशबुकमार्फत मतदाताहरुलाई धन्यवाद दिँदै संघ भित्र शुशासन नभएको, आर्थिक पारदर्शीता नभएको आरोप लगाएका छन् । उनले एनसिसि बेलायतकै निर्वाचनमा विवाद निम्त्याइएको समेत जिकिर गरेका छन् । उनले सदस्यता रजिष्ट्रेसनमा चरम अनियमितता गरेको दावि गरेका छन् ।   

अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गर्ने काम गरिएको आचार्यको भनाई छ । यसैगरी उनले धेरै फर्जी मतदाताहरु तयार गरिएको, चुनाव सम्पन्न भई सके पछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक नगरिएको बताएका छन् । 

आचार्यले फेशबुकमा यस्तो लेखेका छन् 

‘एनआरएनएका प्रतिनिधि साथीहरु, संसारभरि रहनु भएका एनआरएनएसँग आवद्ध मित्रहरु, सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरु, नमस्कार !’   

गैर आवासीय नेपाली संघको काठमाडौँमा सम्पन्न नवौं विश्व सम्मेलनमा मलाई साथ, सहयोग र समर्थन दिनु हुने सम्पूर्ण आदरणीय मतदाता, प्रतिनिधि, अग्रजहरु, शुभेच्छुक संघसंस्था लगायत मिडियाका मित्रहरुप्रति आभार व्यक्त गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । तपाईंहरु सबैको स्नेह पाउँदा म अत्यन्त खुसी छु र आफुलाइ भाग्यमानी ठानेको छु । मैले १५ वर्षको उमेरमा श्रद्धेय पिताजीलाई गुमाएँ । मेरा मातापिताको सामाजिक भावनाबाट प्रेरित भएर सामाजिक कामको शुरुवात गरें । एनआरएनए साँच्चै दुख परेका तथा देश बाहिर बसोबास गरिरहेका नेपालीलाई सेवा गर्ने संस्था हो भनेर अरु कतै नलागीकन काम शुरु गरें । 

गएको १२ वर्ष देखि निरन्तर संघमा काम गर्दैगर्दा संसारभरि रहनु भएका साथीहरुको माया ममता पाएँ । धेरै सिक्ने मौका पाएँ । सिकेर केहि गर्ने प्रयत्न पनि गरें । फलस्वरूप एनआरएनएको केन्द्रीय उपाध्यक्षसम्म पुगें । मेरो काम देखेर आदरणीय अग्रजहरु तथा संसारभरिका साथीहरुले मलाई प्रोत्साहन दिनु भयो । सबैको आग्रहलाई स्वीकार्दै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरें । जब निर्वाचन प्रक्रिया शुरु भयो, एनसीसी बेलायतमै विवाद उत्पन्न गर्ने प्रयास गरियो । सो विवाद मिलाएर काठमाडौँ आउंदै गर्दा सचिवालयको अनियमितता देखेर दुख लाग्यो । सँधै सबै कामहरु रातरात अनियमित रुपले अगाडी बढाइयो । सदस्यता रजिस्ट्रेशनमा चरम अनियमितता गरिएको जगजाहेर गर्न चाहन्छु । नियमसंगत हुनु पर्ने कामहरुमा पनि अनुनय विनय गर्नु पर्ने अवस्था आयो । फेरी पनि संस्थाको बृहत् हितलाई ध्यानमा राखेर मैले संयम अपनाएँ । 

अन्तिम मतदाता नामावली प्रकाशन नगरिकनै उम्मेदवारी दर्ता गर्ने काम गरियो । धेरै फर्जी मतदाताहरु तयार गरियो । चुनाव सम्पन्न भई सके पछि पनि कति मत खस्यो भन्ने विवरण सार्वजनिक गरिएन । विना मुचुल्का मतगणना शुरु गरियो । बहालवाला निर्वाचित जनप्रतिनिधि जापानको प्रतिनिधि बनेर मतदान गरेको घटना सहित नेपाल फर्कीसकेका सैयौं व्यक्तिहरुलाई मतदाता नामावलीमा समावेश गरी योजनावद्ध ढंगले मतदान प्रक्रियामा सहभागी गराइयो । यी सबै अनियमतिताहरुलाई सहंदै, मेरो छाती ठूलो बनाउंदै , विभिन्न कानूनी प्रक्रियामा जान सक्ने अवस्था हुँदाहुँदै पनि म एनआरएनएको बृहत्तर हितकालागि अस्वभाविक भएपनि प्रक्रिया स्वीकार्दै भविष्यमा पनि निरन्तर रुपमा क्रियाशिल हुने प्रतिवद्धता व्यक्त गर्दछु । 

सबै एनआरएनहरुलाई समेट्ने गरी बलियो गैर आवासीय नेपाली संघ बनाउन मैले जोड दिंदै आएको छु । यो अभियानमा मलाई साथ र समर्थन दिनु हुने सबै मित्रहरु तथा अग्रजहरू प्रति म हार्दिक आभार व्यक्त गर्दछु । हाम्रो तर्फबाट केही कमी, कमजोरी भएको भए साथीहरुसँग क्षमायाचना गर्दछु । आगामी दिनमा पनि तपाई सबै साथीहरुको यसै गरी माया र सहयोग पाइरहने विश्वास लिएको छु । 

संघको केन्द्रीय कार्य समितिमा निर्वा्चित मेरा मित्र कुमार पन्त लगायत सम्पूर्ण निर्वाचित साथीहरुलाई हार्दिक बधाई दिंदै सफल कार्यकालका लागि शुभकामना दिन चाहन्छु । मेरो टिममा रहेर मेरो चुनावी अभियानमा सघाउनु हुने मेरा परिवारजन, युके तथा संसारभरिका मित्रहरु र सीमित श्रोत साधनका बावजुद दिनरात खट्नु हुने नेपालस्थित साथीहरुप्रति म हृदयदेखि नै आभार व्यक्त गर्दछु । 

कुल आचार्य 

अध्यक्ष पदको उम्मेदवार, एनआरएनए आइसीसी मितिस् १८ अक्टोबर २०१९ काठमाडौँ   

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *