महरालाई कारबाही हुनैपर्छः कांग्रेस नेता सिंह
असोज १५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलात्कारको आरोप लागेका सभामुख कृष्णबहादुर महरालाई कारवाही गर्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेता सिंहले सरकारले जनविश्वास आर्जन गर्न सभामुखलाई कारवाही गर्नुपर्ने धारणा राखेका हुन् । सभामुखको व्यक्तित्व प्रस्तुत गर्न महरा चुकिसकेको उनको आरोप छ ।
निर्मला पन्त बलात्कार प्रकरणमा सरकारले हत्यारा पत्ता लगाउन नसकेर जनविश्वास गुमाएको स्मरण गर्दै उनले भने, ‘निर्मला प्रकरणमा सरकारले जनविश्वास गुमाइसकेको छ । यदि महरालाई पनि कारवाही नहुने हो भने दुई तिहाई बहुमतको सरकारको साख गिर्छ । प्रहरीलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिनुपर्छ ।’
कानुन सबैका लागि समान भएको स्पष्ट पार्दै उनले दोषीलाई ढाकछोप गर्न नहुने भन्दै दोषी देखिए कारवाही गर्न सरकारलाई सुझाव समेत दिए ।
महिलालाई दुव्र्यवहार गर्नेलाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाउँदै उनले नेकपाको नेता भएपछि जे मन लाग्यो त्यही गर्न पाउने ? कानुनभन्दा माथि हुने नेकपाका नेता–कार्यकर्ता ? भन्दै प्रश्न गरे । महराले सभामुख पदबाट मात्र नभई सांसदबाट पनि राजीनामा दिनुपर्ने उनको भनाइ छ ।
सोमबार सभामुख कृष्णबहादुर महरामाथि संसद सचिवालयकै एक महिला कर्मचारीले यौन दुर्व्यवहारको गम्भीर आरोप लगाएकी थिइन् । तीनकुनेस्थित कोठामा आएर उनले आइतबार राति मदिराले मातेको सुरमा दुर्व्यवहार गरेको ती महिलाको दाबी छ।
लगतै मंगलबार पार्टीको सुझाव बमोजिम सभामुख महराले पदबाट राजीनामा दिइसकेका छन् । सांसद पदबाट भने उनी अलग भएका छैनन् । विपक्षी दल तथा नेकपाकै कतिपय नेता कार्यकर्ताहरुले सांसदबाट पनि अलग हुनुपर्ने धारणा राखेका छन् ।
यद्यपी पीडित भनिएकी महिलाले अहिले पुनः बयान फेरिसकेकी छिन् । आइतबार साँझ कुटपीट समेत गरेको आरोप लगाएकी महिलाले त्यसको करिब २४ घण्टापछि मंगलबार कुरा फेरेकी हुन्। मिडियाले जथाभावी लेखेको भन्दै आफ्नै बयानको खण्डन गरिरहेकी छिन् ।
सोमबार हाम्राकुरा अनलाइनबाट उनको भिडियो कुराकानी सार्वजनिक भएको थियो । जसमा उनी आफैँले महराले दुव्र्यवहार र कुटपिट गरेको दाबी गरेकी थिइन् । बोली फेरेको भन्दै कतिपयले भने उनी पैसामा बिकेको समेत आरोप लगाइरहेका छन् ।
महराको राजीनामापछि अहिले घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । महरा पीडक र महिला पीडित हुन् या होइनन् अनुसन्धानपछि खुल्नेछ ।