नैतिकता हराएकाहरुले देश के बनाउलान् खै ?
सभामुख कृष्णबहादुर महरा जवरजस्ती करणीको आरोपमा पदमुक्त भएर हिरासतमा छन् । नेपाली कांग्रेसका पूर्वमन्त्री सांसद मोहम्मद अफताब आलम इट्टा भट्टामा मान्छे पोलेर मारेको आरोपमा पक्राउ परे । अर्का सांसद रेशम चौधरी टिकापुर नरसंहारका योजनाकार भन्दै केन्द्रिय कारागारमा जेल सजाय काटिरहेका छन् । भर्खरै राजपाका सांसद प्रमोदकुमार साह पनि बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परे ।
भ्रष्टाचार, घूसखोरी, नैतिक पतन गर्ने माननीयहरु बर्गेल्ती छन् ।
किन हाम्रा माननीयहरु बारम्बार स्खलित भइरहेछन् ? के अब हामीले जिताएर पठाएकाहरुमा सत्ताको उन्मादले नैतिकता हराउँदै गएको हो ? कि सत्तामा पुगेपछि सबैले अनैतिक, चरित्रहिन काम गर्नै पर्छ ?
आम जनता यतिबेला नेपाली राजनीति नेतृत्वमा देखिएको विचलनले हैरान मात्र भएका छैनन् । आफैंले भोट दिएर जिताएकाहरुले बाटो बिराएको देख्दा ‘कस्ता गतिछाडालाई जिताइएछ !’ भन्दै पछुताइरहेका छन् ।
हुन त सबै मानिस सबै कुराले पूर्ण कदापी हुन सक्दैन । स्वर्गयुगमा भगवानले पनि गल्ती गरेका थिए रे, अहिले कलियुगमा तिनै भगवानद्वारा सृजित हामी मानवजाती चैं ३२ सै लक्षण युक्त, इमान्दार, नैतिकवान कसरी रहला !
तर, आम जनतालाई नैतिकताको पाठ पढाउने, देश र जनताको लागि राजनीति गर्नेहरुले नै बाटो विराउँदै नैतिकहिन काम गर्नु भनेको चैं अपाच्य कुरा हो । माथि उल्लेखित पात्रहरुमात्र हैन समाजमा आफुलाई ठूलो समाजसेवी भन्नेदेखि शिक्षक, डाक्टर, इन्जिनियर अनेक पद धारण गरेकाहरु पनि कतैन कतै चुकेकै हुन्छन् । शिक्षकले विद्यार्थीमाथि यौन शोषण गरेको, डाक्टरले विरामीमाथि बक्रे दृष्टि गएको, हाकिमको महिला कर्मचारीमाथि गिद्देदृष्टि लगाउनेहरुको जमात हाम्रो समाजमा धेरै छ । नैतिकताकै कुरा गर्दा टेलिभिजनमा विहानविहान धार्मिक कार्यक्रम चलाउने आफुलाई महाज्ञानी धुरन्धर पण्डित भन्नेहरु हेल्मेट लगाएर भट्टी पसलमा गएर दारु सड्काउनेहरु पनि यहि समाजमा छन् । विहान सुर्योदय नहुँदै उठेर नुहाईधुवाई गरी तुलसीमठमा पानी चढाउने र दिनभर भन्दिरमा भजनकिर्तन गर्नेहरु आफ्नै छिमेकीको प्रगति हेर्न नसकेर डाहा गर्नेहरु पनि छन् ।
यसर्थ कसैले तपाई हाम्रा अगाडी आएर ‘म जस्तो इमान्दार, नैतिकवान, ज्ञानी कोही छैन’ भन्दै अर्ति उपदेश दिन्छ भने त्यो देखावटी मात्र हो । एउटा घरबाट त्यागेर फकिरको जिन्दगी ब्यतित गर्नेलाई त विहान बेलुका के खाने कहाँ सुत्ने चिन्ता हुन्छ । भने, घर परिवार, समाज, आफन्त नरनाता, ब्यापार ब्यवसाय तथा सामाजिक प्रतिष्ठा कमाएकाहरुमा स्वार्थ नहुने कुरै हुँदैन ।
राजनीति समाजमा सबैभन्दा प्रत्यक्ष देखिने क्षेत्र हो । कुनैपनि विचारधाराबाट प्रभावित भइ त्यसको सिद्धान्तमा अडिग रहेर देश र जनताका लागि काम गर्ने, आफ्नो भन्दा समाज र राष्ट्रको उत्थान र विकासकालागि सोच्ने काम गर्ने राजनीतिज्ञको हो । यसका लागि उसले कि आफैं सिद्धान्त, विचारधारा प्रतिपादित गरेको हुन्छ । कि, अरुको विचारधारामा अडिग रहेर काम गर्दछ ।
विश्वमा माओत्सेतुङ, लेलिन, स्टालिन, च्वेग्वेभारा, महात्मा गान्धीले आ–आफ्ना विचारधारामार्फत राजनीति गरेका थिए । नेपालमा वीपी कोइरालाले राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रको सिद्धान्त ल्याए । मदन भण्डारीले कम्युनिस्ट सिद्धान्तबाट प्रभावित भएर जनताको बहुदलिय जनवादको वकालत गरे । ०५२ सालमा माओवादको चर्को वकालत गर्दै शशष्त्र जनयुद्ध गरेका पुष्पकमल दाहालले ‘प्रचण्डपथ’ ल्याए । भलै उनको प्रचण्डपथको रेखासम्म कोरिएन ।
तर, पछिल्लो समय राजनीति गर्छु भन्नेहरुले निष्पक्ष भएर जनताको लागि राजनीति नगर्दा, पद र कुर्सीमा पुगेपछि सत्ता र शक्तिको उन्मादमा रमाउँदा उनीहरु स्खलित भएका छन् । महरा घरमा श्रीमती हुँदाहुँदै परस्त्री गमनमा स्खलित भए । आलम कुर्सी र सत्ताका लागि मानव हत्यासम्ममा पुगे । यी सबै घटना घट्नुमा हामी मानवभित्र मानवता हराउँदै गएर भएको हो । पद र पैसा भएपछि जेसुकै पाइन्छ भन्ने मानसिकता विकास भएर भएको हो ।
हिजो संघर्षको दौरान एक जोर फाटेको दौरा सुरुवात र चुट्टिएको चप्पलमा राजनीति गर्नेहरु सत्तामा जसै गए, त्यो सत्ताले उनीहरुमा दम्भ विकास गरिदियो । ‘अब म भन्दा माथि कोही छैन, म नै इश्वर हुँ, सृष्टिकर्ता हुँ’ भन्ने विचार पैदा गरिदियो । फलस्वरुप उसले आफ्नो दम्भ जोगाउनका लागि आफ्नो साखः गिर्न नदिनकै लागि अनैतिक काम गर्न थाल्यो । यहाँनिर उसलाई कतैबाट खबरदारी गर्ने अथवा उसलाई नैतिकता सिकाउने कोही भइदिएको भए यो अवस्था आउने नै थिएन ।
अब नेपाली राजनीतिले कोल्टे फेर्ने बेला आएको छ । नेपाली राजनीतिमा राजनीति कम, सड्यन्त्र, जालझेल, कपट ज्यादा भयो । राजनीति भनेको जनताका लागि गर्नुपर्नेमा जनतालाई विर्सिएर आफ्ना लागि राजनीति गर्नेहरुले स्वच्छ राजनीति गरेनन् । फलस्वरुप अहिलेको नयाँ पुस्तामा राजनीति भन्ने फोहोरी खेल हो भन्ने मानसिकता विकास भइसक्यो । युवाहरुको यो सोचलाई बदल्नका लागि अब राजनीतिको परिभाषालाई पनि बदल्नु पर्छ । यसका लागि महरा, चौधरी, आलम जस्ता राजनीतिको नाममा लाजनीति गर्नेहरुलाई बहिस्कार गर्नुपर्छ ।
नैतिकता नभएकाहरुले अब देश बनाउलान्, जनतालाई सुख सुविधा देलान् भनेर अबपनि जनताले सोच्छन् भने त्यो ठूलो मुर्खता हो । २०४६ साल यता यस्तै नैतिकहिनहरुले देशको राजनीति संहालिरहेका छन् । पटकपटक जनतालाई फोस्रो आश्वासन देखाएर सत्ताको भर्याङ चढेका पतितहरुले अब पुनः देश बनाउलान् भन्नु भनेको मुर्खता मात्र हो ।