गाउँपालिकाको कोशेलीः सुत्केरीलाई ‘रातो भाले’

असोज १७, बागलुङ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले सुत्केरीलाई ‘रातो भाले’ दिने भएको छ । गाउँपालिकाले पाचौँ गाउँसभामार्फत स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई घरमै पुगेर रातो भाले उपलब्ध गराउने नीति लिएको छ ।   

गर्भवती भएपछि नियमित स्वास्थ्य जाँच गर्ने, जाँच गर्दा पोषण झोलासमेत उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ । घरमा हुने सुत्केरीलाई स्वास्थ्य संस्थामा सुरक्षितरूपमा सुत्केरी गराउनका लागि प्रोत्साहित गर्न पोषण झोला र सुत्केरीलाई रातो भाले कार्यक्रम ल्याइएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । 

स्वास्थ्य स्वयंसेविका वा आफैँ गर्भवती महिलाले गर्भ परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्नासाथ संस्थाले गर्भवतीको रेकर्ड राख्नेछन् ।   

null

रेकर्डसँगै गेडागुडीको बीउबिजन भएको पोषण झोला उपलब्ध गराउनेछन् । पोषण झोलामा रहेको गेडागुडी तथा सागपातको बीउ लगाएर सुत्केरी अवस्थामा खुवाउन सल्लाहसमेत दिइने बरेङ गाउँपालिकाका स्वास्थ्य संयोजक पदमबहादुर पुनले बताए ।   

पुनका अनुसार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट कार्यविधि बनाई दशैँ–तिहारलगत्तै सुत्केरीलाई रातो भाले लगेर भेट्न जाने कार्यक्रम लागू हुनेछ ।   

दश लाख बढी जनसङ्ख्या रहेको गाउँपालिकामा रातो भाले कार्यक्रमका लागि चालू आर्थिक वर्षका लागि १० लाख बजेटसमेत विनियोजन गरिएको बरेङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ शर्माले बताए ।   

‘यदि साकाहारी भएको र मासु नखाने सुत्केरीका लागि रातो भालेको साटो घ्यूको समेत व्यवस्था गरिनेछ ।’ उनले भने ।   

स्वास्थ्यचौकीमा नियमित स्वास्थ्य परीक्षण गर्न नजाने र बरेङ घर भई पोखरा काठमाडौँ बस्नेलाई कार्यक्रममा समावेश नगरिने बरेङ गाउँपालिकाले जनाएको छ । सुत्केरीलाई भेट्न गाउँपालिकाको समूह घरमै रातो भाले लिएर जाँदा स्थानीय सरकार दैलोमा रहेको महसुससमेत हुने गाउँपालिकाको अपेक्षा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *