दाजुभाईलाई खुवाउन छाडे दिदीबहीनीले आफ्नै हातको परिकार

बालपनको तिहार   

जतिबेला म भर्खर बुझ्ने भएको थिएँ । मैले मेरा भाईहरुलाई तिहारमा टीका लगाउन सुरु गरेँ । म मेरो भाइहरुको सबैभन्दा ठूली दिदी । मेरो ममीले मामाहरुलाई जसरी टीका लगाइदिनु हुन्थ्यो म पनि त्यसैगरी टीका लगाउँथे । किनकी ममीले नै सिकाइदिनु हुन्थ्यो ।   

मलाई अझै पनि ताजै लाग्छ, दशैँ सकिएको केही समयपछि लगत्तै गाउँघरको रौनक नै फेरिन्थ्यो त्यतिबेला ।   

दशैँमा हल्का फुलेका फूलहरु तिहारमा झकमक्क भइसक्थ्यो । खेतहरुमा धानका बाला लहरै हुन्थे, अनी बारीमा कोदो लटरम्मै हुन्थ्यो । कोदोबारीको डिलमा सयपत्रीले बार लागेको हुन्थ्यो । घरको आंगनीमा निस्किएर बारीमा हेर्दा स्वर्गीय आनन्द मिल्थ्यो ।   

दशैँ सकिएपछि तिहारको तयारी सुरु हुन्थ्यो ।   

अझ भनौँ दशैँको पूर्णीमाको दिनदेखि नै तिहारका लागि जोगार हुन्थ्यो । किन भने दशैँको टिकाको दिन लगाएको टीका पूर्णीमाको दिन जतनसाथ उतारेर राखिन्थ्यो । दशैँको टीकाको दिन लगाएको टिका निधारबाट खस्न दिनुहुँदैन भनिन्थ्यो । अनी त्यही टीकालाई काली टीका बनाएर तिहारको भाइटिकाको अघिल्लो दिन दाजुभाईलाई निम्ता स्वरुप लगाउनु पर्दथ्यो ।   

यसरी गरिन्थ्यो तयारी   

गाउँघरका आमा, दिदीबहीनी, काकीलगायत महिलाहरु सबै मिलेर वन जानुहुन्थ्यो । घण्टौँ हिँडेर भारी÷भारी सालको पात टीपेर ल्याउनुहुन्थ्यो । तर, कति पनि थकाई महशुष गर्नुहुन्थेन उहाँहरु । आफ्ना दाजु भाईप्रतिको प्रेमका खातिर उहाँहरु खुशी खुशी दुःख गर्नु हुन्थ्यो । उहाँहरु भन्नुहुन्थ्यो ‘यही दुःखमा नै हामीलाई रमाईलो लाग्छ ।’ सालको पात टिपेर ल्याएपछि दुना–टपरी गाँस्नमा उहाँहरुको व्यस्तता बढ्थ्यो ।   

ममीहरुको पालामा भाइटीकाको दिन दाजुभाईलाई दुना टपरीमै खानेकुरा दिनुपर्छ भन्ने मान्यता जो थियो । त्यसैका लागि उहाँहरु थरी थरीका दुना, टपरी, बोगता थुप्रै गाँस्नु हुन्थ्यो । मलाई पनि रहर लाग्थ्यो । आँगनमा फिजाएको पातसँग म पनि रमाउँथे । उहाँहरुले जस्तै गाँस्ने कोशिष गर्थें तर विग्रिन्थ्यो । टाढाबाट ल्याएको पात बिगारेकै कारण धेरै पटक गाली पनि खाइन्थ्यो । अन्ततः विस्तारै सिकिन्थ्यो ।   

तिहार नजिकि सकेको हुन्थ्यो । तिहारका लागि चाहिने सामग्री यमपञ्चक सुरु हुनु अगावै तयार गर्नुपर्छ भन्ने परम्पराका कारण सबै तयारी अगाडी नै गरिन्थ्यो ।   

सामान खरिदका लागि घरबाट करिब ३ घण्टा हिँडेर धोवी हाट (बजार) जानु पथ्र्यो जुन हप्तामा एक दिन बुधबार मात्रै लाग्थ्यो । ममीहरु सबै मिलेर कुन दिन जाने भन्ने योजना बनाउनु हुन्थ्यो । गाउँभरीका सबै जम्मा भएर हाट जाँदा औधी रमाईलो । ममीहरुका पछि लागेर हामी पनि जान्थ्यौँ । 

तिहारका लागि आवश्यक खिर्चिमिर्चि जस्तैः ओखर, सिन्दुर, दाजुभाईका लागि कपडा यस्तै यस्तै किन्नु हुन्थ्यो । तर, अहिलेका जस्ता बजारमा पाइने भाई मसला नाम गरेका विभिन्न सामग्री उहाँहरुले किनेको मैले देखिन ।   

खुवाने ओखर कागतिहारभन्दा अघि नै फुटाईसक्नु पर्ने परम्पराका कारण किनेर ल्याइएका ओखर काग तिहारभन्दा अघि नै फुटाएर त्यसको गुदी खुवानका लागि तयार गरेर राखिन्थ्यो ।   

आफ्नै हातले बन्थ्यो दाजुभाईका लागि परिकार   

मेरो मानसपटलमा अझै ती दिनहरु ताजै छन् । औँसिका दिन ममी मावाला (मामाघर) जानुहुन्थ्यो । भाई र म पनि सँगै जान्थ्यौँ । मावलामा ममीको दिदीबहीनी पनि आइसक्नु भएको हुन्थ्यो । मामाघरमा छुट्टै रौनक हुन्थ्यो । हामीलाई भने मामाघर यसै पनि रमाइलो लाग्थ्यो ।   

त्यसको भोलिपल्ट उहाँहरु दाजुभाईका लागि फूल टिप्ने, माला उन्नेजस्ता काममा व्यस्त हुनुहुन्थ्यो । लगातार काम गरिरहँदा पनि उहाँहरुको अनुहारमा कुनै थकान देखिँदैन थियो । उल्टै दाजुभाईका लागि मिहेनत गर्न पाउँदा उहाँहरुमा खुशी र उमंग देखिन्थ्यो ।   

हामी भने, ओल्लो घर पल्लो घरमा देउसी भैलो खेल्न र डुल्नमा रमाउँथ्यौँ । जब भाईटीकाको दिन हुन्थ्यो । ममीहरु सबेरै उठेर नुहाई धुवाई सकेर परिकार बनाउनमा लाग्नु हुन्थ्यो । मामाहरुका लागि विभिन्न परिकारहरु पाक्थे । जुन ममीहरुले आफ्नै हातले बनाउनु भएको हुन्थ्यो । जस्तै सेल, अनरसा, मिठाई, गेडागुडीका विभिन्न परिकार, अचार अनेक थरीका परिकार पाक्थ्यो जुन अन्य समयमा कहिले पकाईंदैन थियो । टीका लगाएर सोही परिकार आफ्ना दाजुभाईलाई खुवाउने गर्नुहुन्थ्यो ।   

रेडिमेटतिर उन्मुख तिहार 

अहिले मेरा ममीका पिँढीलाई पनि सजिलो भएको छ । पहिले आफ्ना दाजुभाईका लागि भन्दै जुन प्रेम र सद्भावका साथ मिहेनत गर्नु पथ्र्यौ, अहिले गर्नु पर्दैन । अहिले न त घन्टौँ हिँडेर सालको पात टिप्न जानु पर्छ नत हाट बजारमा नै । हाम्रा पुस्ताले त दुना टपरी गाँस्दैनौँ नै ममीहरुलाई पनि अहिले हात दुखाएर टपरी गाँस्नु पर्ने बाध्यता छैन । किनकी अहिले आफ्नै घर आँगन अगाडिका पसलमा रेडिमेट पेपर प्लेटहरु थरिथरीका पाइन्छन् ।   

अहिले आँगनमा गुन्द्रि ओच्छ्याएर दाजुभाईको संख्या गन्दै (काका, ठूलोबुबाका छोराहरुसहित) माला उन्नु पर्दैन । किनकी आफ्नो घरको एक वा दुई जना दाजुभाईका लागि पसलबाट किनेर ल्याए पुग्छ ।   

अहिले न त खानेकुराका परिकारहरु नै पकाई बस्नु पर्ने झन्झट हुन्छ । पसलमा भाई मसलाका नाममा रंगिविरंगी कागजले सजाइएका मिठाई तथा खानेकुराहरु प्रसस्तै पाइन्छ । भाई टिकाका दिन दाजुभाईका लागि नभई नहुने ओखर फुटाई रहनु पर्दैन । अहिले पसलमा प्याकेटका प्याकेट रेडिमेट गुदी पाइन्छन् ।   

पहिलेका तिहारमा दाजुभाईका लागि जसरी दिदीबहीनीले प्रेमपूर्वक मिहेनत गर्थे अहिले ती सबै रेडिमेट कुराहरुले पूर्ति गर्दै गएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *