‘पत्रकारिता लोभको भाँडो हो, जसलाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छन्’ वरिष्ट पत्रकार भैरव रिसाल
असोज १८, विराटनगर । नेपाली समाज र पत्रकारितालाई जिवन्त राख्न हिजो देखि आजसम्म निरन्तर भुमिका निर्वाह गर्ने कर्मयोगीहरु सायदै पाइन्छ । भनिन्छ पत्रकारिता जीवनमा कार्य सम्पादनका निम्ति उमेरको हद हुँदैन । पञ्चायती शासनकाल देखि बहुदलीय प्रजातान्त्रिक व्यवस्था हुँदै आज गणतान्त्रिक व्यवस्थामा पनि आधुनिक प्रविधिसँग आफ्नो विगतका भोगाई निरन्तर प्रयोग गरिरहेका एक अग्रज पत्रकार हुन् भैरव रिसाल ।
९० औं वसन्त पार गरिसकेका रिसालमा आज सम्म पनि उही युवावस्थाको जोस र जाँगर भेटिन्छ । भक्तपूरको गुण्डुमा जन्मिएका रिसालको पत्रकारीता ऐतिहासिक घटना परीघटनाहरुसँग संगालिएका छन् । उनीसँग ४७ वर्षे पत्रकारीता जीवनका भोगाइहरु अझै आला छन् । उनी अझै पनि लेखन यात्रालाई निरन्तर अगाडि बढाउने क्रममा हिमाल खबर, कान्तिपुर दैनिकमा लेख्दैछन् । ‘एउटा पत्रकारको जीवन नै कलम, कापी र अक्षरमा समर्पित हुँदोरहेछ’–भैरव रिसाल भन्छन् ।
२०१३ सालदेखि हालखबर दैनिक हुँदै रासस पत्रिकाबाट पत्रकारिता यात्रा आरम्भ गरेका रिसाल उमेरले थकाइ मारे पनि लेखाईमा थकाई मारेका छैनन् । त्यो बेला पत्रिका पढने मान्छे अत्यन्त कम हुन्थ्यो । ‘आजभोली पत्रपत्रिका बिहान निस्कन्छ उ बेला बेलुका निस्कन्थ्यो ताकी शिक्षक, जागिरेले पढ्न सकोस्’ रिसाल आफ्ना अनुभव सुनाउँछन् । ‘४ वा ५ पैसामा पत्रिका विक्रि हुन्थ्यो, दुई सय कपि पत्रिका विक्रि भयो भने एक अर्कामा खुशीयाली मनाउने गथ्र्यौं ।’ उनी भन्छन् ।
विगतको साँगुरो पत्रकारिता
नेपालमा पत्रकारिता मुद्रणबाट सुरुवात भएको हो । गोर्खापत्र दैनिक देव समशेरले १ सय १७ वर्ष अगाडी सुरु गरेका थिए । त्यो समयको पत्रकारिता साँघुरो थियो । नेपालको सुचना प्रविधि झ्याली पिटेर कटुवाल कराएर सुरु भएको अवस्था थियो । पहाडमा सुचना दिने व्यक्तिलाई वर्षको एक पाथी अन्न दिने चलन थियो ।
अहिलेको जस्तो कम्प्युटर थिएन तर, अफिसले उनलाई एउटा साइकल दिएको थियो । ‘त्यो साइकल अहिलेको व्यक्तिगत हेलिकप्टर जस्तो अनुभुति हुन्छ ।’ उनी भन्छन् । जिल्लाको सुचना प्राप्त गर्न जिल्लाबाट आउने मान्छे पर्खनु पर्ने अवस्था थियो । ‘आकाशवाणीबाट मैले समाचार सम्प्रेषण गर्दा ३ सय अक्षरको शब्द मात्र प्रेषण गर्न सकिन्थ्यो । कहिलेकाँही ठट्टा गर्दा आफुलाई ३ सय शब्दको पत्रकार पनि भन्ने गर्दछु ।’ रिसाल भन्छन् ।
जीवन्त छैन अहिलेको पत्रकारिता
अहिले पत्रकारिता क्षेत्र अत्यन्त फराकिलो र व्यापक छ । संसारमा जसरी पत्रकारिताको विकास भयो, त्यसले पत्रकारितालाई गुणस्तर भन्दा सस्तो लोकप्रियता मात्र दियो । प्रविधिको विकासले फड्को मारेको छ । सुचना प्राप्त गर्नका लागि कम्प्युटर, मोबाइल साथै इन्टरनेटका माध्यमहरु छन् । तर विडम्बना पत्रकारहरु रिपोर्टिङमा दौडन अल्छी गर्छन् ।
‘फोनको माध्यम मार्फत रिपोर्टिङ गर्छन् । अहिलेको पत्रकारितामा जिउँदोपन कम्जोर छ र नाफामुखी छ ।’ उनी भन्छन् । वि सं २०१३ सालमा एउटा पत्रकारले समाजमा जस्तो प्रभाव पार्न सक्थ्यो आजको यो पुस्ताको पत्रकारितामा त्यो प्रभाव छैन । ‘त्यो समय पत्रिकामा लेखेका सामाग्रीहरु सबै विश्वास गर्थे, अहिले पाठक स्रोतामा विश्वास गुम्दै गएको छ । सत्य तथ्य पत्रकारको जीवन हो तर अहिलेको अवस्थामा त्यो भेटिन ।’ उनी भन्छन् । रिसालको भनाईमा एउटा पत्रकारले लेखेको एकएक अक्षरको महत्व हुन्छ जुन अक्षरले सिंगो समाज र राष्ट्रको नेतृत्व गर्दछ ।
भैरब रिसालको अनुभवमा अबको पत्रकारिताले आधुनिक प्रविधिको विकासलाई सक्दो प्रयोग गनुपर्छ । विशुद्ध पत्रकारिताको मर्म अनुरुप सत्य, तथ्य सुचना प्रवाह गर्न सक्नुपर्दछ । पत्रकारिता प्रतिको सामाजिक वितृष्णाहरुलाई अन्त्य गरि अगाडि बढ्न सक्नु पर्दछ । पत्रकारितालाई विस्वस्त साथै जिवन्त राख्न पैसाको लेनदेनबाट आफुलाई टाढा नै राख्नु पर्छ । अहिलेको पत्रकारितामा राजनीति गाडिएको छ, यसले पेशाप्रति निष्पक्षताको क्षयीकरण भएको छ ।
अन्तिममा पत्रकारिताका लिजेण्ड रिसाल भन्छन्–‘पत्रकारिता लोभको भाँडो हो, जसलाई राजा देखि रैती सम्मले लोभ गरेका हुन्छन् तर, यसको दुरुपयोग कहिल्यै नगर्नु ।’