विश्व अण्डा दिवस: अण्डाको फाईदै फाईदा, तर छैन चेतना

असोज २४ चितवन । अण्डाबाट हुने फाईदा आम जनतामा पुर्याउन सकिएको छैन । अण्डाका फाईदै फाईदा रहेपनि यसको महत्व बुझाउन आवश्यक रहेको सरोकारवालाहरु बताउँछन् । मानव स्वास्थ्यका लागि अण्डाको उपभोग ज्यादै महत्वपूर्ण मानिन्छ । अण्डाबाट अनेक फाईदा हुने भएपनि यसमा जनचेतनाको कमी रहेको डाक्टरहरु तथा पोल्ट्री व्यवसायीहरुको भनाई छ ।   

आम जनतामा अण्डाको महत्व बुझाउन २४ औं विश्व अण्डा दिवसको अवसर पारेर शुक्रवार चितवनको रत्ननगरमा सचेतना मुलक कार्यक्रम गरिएको छ । बीर अस्पतालका डाक्टर डुण्डीराज पौडेल अण्डा पोषणले भरिपूर्ण रहेको बताउँछन् । जुन मानव स्वास्थ्यका लागि लाभदायी हुन्छ । दैनिक २ वटा अण्डा भित्र रहेको पहेलो भाग खाँदा केही असर नगर्ने तर, धेरै खानु पर्दा भित्री भाग निकालेर खानु स्वास्थ्यका लागि लाभदायी हुने डाक्टर पौडेलको भनाई छ ।   

‘अण्डा मानव स्वास्थ्यका लागि पोषिलो चिज हो ।’ डाक्टर पौडेल भन्छन्–‘पोट्रिन, भिटामिन, क्याल्सीयम यसबाट प्राप्त हुन्छ,स्वास्थ्य जाँच गराएर आवश्यकता अनुसार उपभोग गर्न हुन्छ ।’ अर्का डाक्टर भुमिनन्द देवकोटा पोषणका लागि संघर्ष गर्नु परेको यथार्थ रहेको भन्दै सहज र सरल रुपमा प्राप्त हुने अण्डाको उपभोग गर्न सुझाव दिन्छन् । ‘नेपालीहरु पोषणका लागि संघर्षरत छन् ।’ डाक्टर देवकोटा भन्छन्–‘सरल र सुलभ चिज अण्डा हो, यसको महत्वबारे तल्लो स्तरबाट जनचेतना आवश्यक छ ।’   

जापानमा प्रति व्यक्ति प्रति वर्ष ३ सय देखी ३ सय १५ वटा अण्डा उपभोग गर्ने गरेको भन्दै नेपालमा यसको उपभोग ज्यादै न्युन रहेको उनले बताए । अण्डाकै कारण मानिसको आयू समेत लम्विने उनको अनुभव छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश नम्वर ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले पोल्ट्री व्यवसायमा लागत मुल्य घटाउन सरकार सहयोग गर्न तयार रहेको वताए । मन्त्री लामाले निजी क्षेत्र सँग मिलेर लागत घटाउन सरकार प्रतिवद्ध रहेको बताए ।   

‘पोल्ट्रीका लागि आवश्यक प्रमुख कच्चा पदार्थ मकै वाहिरबाट आयात गर्नु पर्ने अवस्था छ ।’ मन्त्री लामाले भने–‘सामुहिक रुपमा मकै खेती गर्ने गरी जग्गा लिजमा लिनुस सरकार त्यसमा मेसिनरी, प्राविधिक सहयोग गर्न तयार छ ।’ कम्तीमा १ सय विगाहा जमिन लिजमा लिएर मन्त्रालय आउन मन्त्री लामाले व्यवसायीहरुलाई आग्रह गरे । नेपाल पोल्ट्री महासंघका केन्द्रिय उपाध्यक्ष टिकाराम पोखरेलले कुखुराका लागि आवश्यक मकै र भटमास बाहिरबाट आयात गर्नु पर्दा पोल्ट्री क्षेत्रको विकास हुन कठिनाई भएको बताए । ‘नेपालमै १२ महिना नै मकै खेती हुने जमिन छ’ पोखरेलले भने–‘पोल्ट्रीको विकासका लागि सरकारले निति बनाउन आवश्यक छ ।’   

कुखुरा व्यवसायी संघ पूर्वी चितवनका अध्यक्ष भीमनारायण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, कुखुरा व्यवसायी संघ पूर्वी चितवनका निवर्तमान अध्यक्ष एवंम् कार्यक्रम संयोजक रघुनाथ भट्ट, संघका महासचिव राममणी थपलिया लगायतले मन्तव्य राखेका थिए । लायन्स फुडल्याण्डमा औपचारीक कार्यक्रमपछि अण्डाका परिकारहरुको प्रर्दशनी समेत गरिएको थियो ।   

प्रर्दशनसँगै कार्यक्रममा उपस्थितका लागि अण्डाका विभिन्न १५ परिकारको स्वाद चाख्ने व्यवस्था पनि मिलाईएको कुखुरा व्यवसायी संघ पूर्वी चितवनका पूर्व अध्यक्ष ज्ञान वहादुर विसुरालले बताए । औपचारीक कार्यक्रम अघि वकुलहर अस्पतालबाट र्या्लि निकालिईएको थियो । त्यसअघि अस्पतालका विरामीहरुका लागि अण्डा वितरण समेत गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *