‘जसलाई आफ्नै छोराहरुले मार्न खोजेका थिए’
कार्तिक ६, काठमाडाैं । विसं. २००८ सालमा १३ वर्षमा पुग्दै थिइन् इन्दिरा उपाध्याय । खान्दानी थिए परिवार । नोकरचाकर थिए । न घर भन्या थाहा थियो, न त माइती नै । उनको काम त खाने, पढ्ने अनि खेल्ने मात्रै ।
त्यही साल हो । उमेर त्यही हो । समयले उनलाई एकाएक बेहुली पो बनाइदियो ! कसैकी बुहारी बनाइदियो । कसैकी पत्नी त कसैकी भाउजु पनि । १३ वर्षको उमेरमै इन्दिरा उपाध्यायबाट सापकोटा भइन् । उनको थर परिवर्तन भयो । घर परिवर्तन भयो । १८ वर्षीय भोटुराज सापकोटासँग उनको लगनगाँठो कसियो । अन्जान परिवारसँग परिचय मिसियो । छोरी मात्रै थिइन् अब बुहारीको बुहार्तन थपियो कलिलो मष्तिष्कमा । उनी हिँड्ने बाटै फरक भयो । जिम्मेवारी बढे । काम थपिए ।
१९९४ सालमा जन्म
२००८ सालमा विवाह
१४ वर्षमै आमा !
२० वर्षमा ४ सन्तान
सानै उमेरमा जिम्मेवारी ४ गुणा बढे तर, पश्चाताप केही नाइँ । समय नै उस्तो थियो नि त ! भनिन्थ्यो, सन्तान बेलैमा पाउनुपर्छ । हुर्काउनुपर्छ । बुढेसकालमा सहारा हुन्छन् । तर ती कथन, कथनमै सिमित भए इन्दिराको जीवनमा । छोराछोरी हुर्किएपछिका दिन सुखद् रहेनन् ।
इन्दिरा भन्छिन्–
‘श्रीमान् नेशनल ट्रेडिङको आठौँ तहको अफिसर हुनुहुन्थ्यो । घरपनि सम्पन्न थियो । छोराछोरी एसएलसी पास गर्दासम्म हुर्काइ दिएपछि उहाँले घर छोड्ने निर्णय गर्नुभयो । पारिवारिक कलह थियो कारण । आमाबुवा जिवित हुन्जेल आफूलाई केही चाहिँदैन भनेर म सहित छोराछोरी लिएर घरबाट निस्कनुभयो । पछि कसैले बोलाएर पनि दिएनन् । हामी पनि माग्न गएनौँ सम्पत्ति ।
हामी छोराछोरीको भविष्य सोच्न थाल्यौँ । श्रीमान् आइए पास गर्नुभएको थियो । मैँले ९ कक्षासम्म पढ्न पाएकी थिएँ । छोरी, त्यसमाथि जेठी । धेरै पढ्न कहाँ पाउनु ? आफूले पढ्न नपाएको तोड पनि सन्तानले धेरै पढुन् भन्ने मेरो इच्छा थियो । हामीले उनीहरुलाई खाइनखाइ पढायौँ, बढायौँ । हामीले छोरा र छोरीमा भेदभाव गरेनौँ । उनीहरुको शिक्षा दिक्षा, लालनपालनमा कुनै कसर छोडिएनः
छोरी अष्ट्रेलिया,
एक छोरोः रिटायर्ड अटोमोबाइल इन्जिनियर,
अर्को छोरोः दुग्ध विकासको रिटायर्ड इकोनोमिस्ट
कान्छो छोरोः अनुसन्धानको रिटायर्ड एसपी ।
सोचेका थियौँ– उनीहरुले बुढेसकालमा हेर्लान् । राम्रो शिक्षादिक्षा दिन्छाैँ । सहारा देलान् । छोराहरु ठुला भएपछि उल्टै हामीलाई हेप्न पो थाले । श्रीमान रोगी हुँदै परिवर्तन भएको छोराहरुको व्यवहार उहाँको निधनपछि उग्र बन्यो । तिमीहरु बाउ आमा नै होइनौं भन्थे ।
२०४२ सालमा उहाँको निधन भयो । कारण थियो दुवै किड्नी फेल । भारतसम्म लगेर बचाउने प्रयास गरेँ तर, सकिनँ । उहाँको निधनपछि म एक्ली भएँ । अब त छोराहरुको मनमा दया पलाउलाकी भन्ने सोचेकी थिएँ । उनीहरुले त उल्टै घरबाट खेद्न पो खोजे ।’
नेपाली समाजमा एउटा उखान छ नि– ‘साना भए मर्लान्, ठुला भए मार्लान् भन्ने पीर’ । त्यस्तै भै’दियो इन्दिराको जीवनमा । सायद छैठीका दिनमा भावीले सन्तान सुख लेख्नै भुलेछन् !
सन्तान साना हुँदा पाएको खुशी, तीनै सन्तान ठूला हुँदै गएपछि हराउँदै गयो, आफैंले जन्म दिएका सन्तानले नै मार्लान् भन्ने पीर पो थपियोे !
फर्किएला खुशी ? ‘छोराहरुसँग भेट नभएको वर्षौ भइसक्यो । कपुतले जन्म लिएका रहेछन् मेरो कोखबाट । सम्बन्ध तोडिदिएँ । सायद अब जोडिँदैन । अब त्यो खुशी फर्किँदैन । आफ्नैं आमालाई मार्न खोज्ने त्यस्ता सन्तानको मुख कसले हेर्छ ?’, उनी भन्छिन् ।
इन्दिराकै कोखबाट जन्म लिएकाहरुले कति पटक उनलाई मार्न खोजेका थिए रे ! दैनिकजसो घरबाट निस्किएर जा भन्थे । एक पटक त घरमा बम नै राखिदिएछन् । ‘कति रात त भोकै सुतें ।’ यति भन्दाभन्दै उनका गला अवरुद्ध भए । आँखा रसाए । तर, खसेनन् आँशु । सायद सम्हालिइन् । या त आँशु नै सुकिसके !
घाउ पनि त खाटा बसिसक्यो नी ! कति दुव्र्यवहार सुनाइन्, कति आफूमै लुकाइन्, ‘खोल्नै सक्दिन’ भन्दै टारिन् । लाग्यो होला, मिडियामा सुनाएर के नै हुँदो हो !
‘ठुला भएपछि आश्रममा बसौँला भनेर मैँले सन्तान जन्माएकी हुँ र ? उनीहरुलाई जन्माउँन, हुर्काउन, पढाउन कति हण्डर खानुपर्छ ? बिवाह गरिदिइ हालेँ । भएका श्रीसम्पत्ति भाग लगाइदिएकै छु । भएको यही एउटा घर पनि छोड् भन्छन् । म किन दिउँ ? पढाएर कमाउने बनाइदिएको के काम ? शिक्षित मान्छे यस्तै हुन्छन् त ? कर्तव्य यही हो ? बरु अशिक्षित नै ठिक’, एकै सासमा इन्दिराले आक्रोश पोखिन् ।
बोल्दै जाँदा पटक पटक भगवानलाई धन्यवाद टक्र्याउन छुटाउँदिनन् उनी । भन्छिन्–‘यो सब प्रभुको देन हो । यो उमेरसम्म आइपुग्दा मैँले हात फैलाउनु परेको छैन कसैसँग । म सक्षम नभइदिएको भए आज उनीहरुको लात खाएर बस्नुपथ्र्यो होला !’
(()) (()) (()) (()) (())
श्रीमान् गुमाएपछि इन्दिरालाई माइतीमा पनि हेला हुन थाल्यो ।
माइती घरः काठमाडौं, महाबौद्ध
पीताः गोपालप्रसाद उपाध्याय
माताः योगकुमारी उपाध्याय
सन्तानः १०
८ दिदीबहिनी
२ भाइ
जेठी इन्दिरा ।
बुवाले संसार छोडिसक्नु भएको थियो । आमा बुढी थिइन् । भाइ–बुहारी, दिदीबहिनी, देवर–देउरानी सबैले एक्ली, दुःख पाएकी भनेर हेप्थे । बाँकी दिदीबहिनी पनि एकल हुँदै गएपछि हेपाई अलि साम्य भयो । एउटा एउटा भाइ स्वर्गीय भइसके । अर्का भाइ डा. दिपकुमार उपाध्याय नेपाली काँग्रेसका ठूला नेता भएका छन् ।
(()) (()) (()) (()) (())
आउँदो मंसीरमा ८२ वर्ष पुग्दै छिन् इन्दिरा । यहाँसम्म आइपुग्दा संघर्षसँगै उपलब्धि पनि उत्तिकै हात पारेकी छिन् उनले । नेपाल गृहणी उद्योग, सहारा खाद्य उद्योग, विश्वास अचार तथा मसला उद्योग, भोटुः इन्दिरा समाज कल्याण केन्द्रकी संस्थापक हुन् उनी । यी मध्ये कति संस्था बन्द भए । कुनै अरुलाई ‘गरिखाऊ’ भनेर सुम्पिदिइन् ।
भोटुः इन्दिरा समाज कल्याण केन्द्र भने उनैले चलाइरहेकी छिन् आजसम्म । उक्त संस्थाबाट महिलाहरुलाई उद्यमशिलताको तालिम दिइन्छ भने त्यहाँ उत्पादित सामानहरु आड तयारी पोसाक (उद्योग) बाट बिक्री वितरण हुन्छन् । ४२ वर्ष भयो उनले यो संस्था हाँकेको । अहिलेसम्म १० हजार भन्दा बढी महिलालाई सीप सिकाइसकेकी छिन् ।
उनीमार्फत् कति गृहणीले रोजगार पाएका छन् । आत्मनिर्भर भएका छन् । उनले सीप निःशुल्क बेच्छिन् । उनकै भाषामा भन्नुपर्दा समाजसेवा । संस्थाको सदस्य बन्नका लागि भने ३ सय तिर्नुपर्छ ।
घट्टेकुलोमा संस्था छ, तालिम त्यहीँ हुन्छ । त्यहाँबाट उत्पादित सामानहरु डिल्लीबजार पिपलबोटमा रहेको उनको पसलबाट बिक्री हुन्छ । त्यहाँबाट वार्षिक ८–९ लाखसम्मको कारोबार हुन्छ । जम्मा यति ? ‘मैँले नाफा कमाउन संस्था खोलेकी होइन, समाजसेवाका लागि हो । महिलाहरुको लागि हो । उनीहरुलाई दिन र घरभाडा तिर्न खर्च पुगे भयो । मेरा लागि त घरको एक फ्ल्याट भाडामा दिएकी छु । महिनामा १० हजार आउँछ । त्यतिभए एक्लो ज्यानको खर्च टरिहाल्यो’–इन्दिरा भन्छिन् ।
यसअघि उनले नेपालबाट स्वीटर एक्सपोर्ट समेत गर्थिन् । २ सय ५० जना महिला काम गर्थे उनको संस्थामा । ५० प्रतिशत अग्रिम एडभान्स आउँथ्यो । ‘अहिले महिला नै कम, काम ल्याएर मात्र के गर्ने ? अनि छोडिदिएँ’, उनले संस्थाको विगत सुनाइन् ।
१२ वर्ष सिलाई तालिम पनि चलाएकी थिइन् उनले महिलाकै सीप विकासका लागि । तर, महंगो पथ्र्यो । तीन हजार तिर्नुपथ्र्यो सिक्नका लागि । सिकाउने प्रशिक्षक राखेकि थिइन् । तर, सरकार तगारो बन्यो । तालिम चलाएको थाहा पाएपछि सबैलाई रोजगारी दिनु रे । सम्भव छ त ? उनी आफैँ प्रश्न गर्छिन् ।
(()) (()) (()) (()) (())
इन्दिराको उमेरले डाँडो काटीसक्यो । चलनचल्तीको भाषामा भन्ने हो भने उनी ‘डुब्न लागेको घाम’ । तैपनि उनी अझै हरेक क्षेत्रमा सक्रिय छिन् । फुर्तिली छिन् । उनको जाँगर, उत्साह देख्दा लाग्छ ‘अझै जवान छिन्’ ।
तर चाउरिएका गाला, फुलेका कपाल, एक दुई ठाउँ फुक्लिएका दाँतले त्यसो भन्न अलि दिँदैन । सुहाउँदैन पनि होला ।
उनको सक्रिय जीवन साँच्चै लोभलाग्दो छ ।
उनी आफ्ना सबै काम आफैँ गर्छिन् ।
बिहान ४ बजे उठ्छिन् । कफि खान्छिन् । दिनभरी आफूले खाने खानाको रुटिन बनाउँछिन् । अनि नुहाउँछिन् । पूजाआजा गर्छिन् । हल्का फूल्का व्यायाम पनि गर्छिन् । विशेषगरी उनले टाउकाको व्यायाम गर्नै पर्छ । सुगर छ । खाना बार्नुपर्छ । जे पायो त्यही खानु हुँदैन । हरेक दिन हिँडेरै बजारको एक चक्कर लाउँछिन् । उनलाई चिकित्सकले नै हिँड्न सुझाएका जो छन् ।
साढे ९ बजे भित्र आफ्नो संस्थामा आइपुग्छिन् । सबैको काम हेर्छिन् । नजान्नेलाई सिकाउँछिन् । सुपरभिजन गर्छिन् । डिजाइन पनि आफैँले गर्छिन् । दिनचर्या यही हो उनको ।
६ बजे घर फर्किन्छिन् । घट्टेकुलोमै छ उनको घर । घर पुग्नेबित्तिकै रेडियो बोकेर भान्सातिर लाग्छिन् । देश दुनियाँको खुब चासो छ उनलाई । बिहान बेलुकै समाचार सुन्नुपर्छ । उनलाई छोराछोरीको भन्दा बढी देशको चिन्ता छ । खाना खाएर बाँकि रहेको समय बुन्दै, समाचार र भजन हेर्छिन् । सुत्ने समयको टुंगो छैन । जतिबेला निन्द्रा पर्छ उति बेला ।
(()) (()) (()) (()) (())
उनलाई यो समाजसँग अझै गुनासो छ ।
अहिले पनि खान नपाएर काम गरेकी भन्नेहरु छन् । छोराले हेरेको छैन खान पाउन्न, अनि काम गर्नु परिहाल्यो नि भन्छन् । ‘जसको बुद्धिले जे सोच्छन् त्यही भन्छन्, त्यहाँ रिसाउने कुरो भयो त ? मेरो सोखले गरेकी हुँ नि !’ आफैँ प्रश्न गर्दै भन्छिन् । टोले गुण्डा लाग्छन् रे । गरिखान दिँदैनन् । उनका आफ्नै भाइ दिपकुमार पनि ‘घर बेच’ भन्दै आउँछन् रे !
‘भएको एउटा भाइ पनि ‘घर बेच, पैसा आउँछ’ भन्छ । मैँले पैसा चपाउने ? घर बेचेर कहाँ जान्छे दिदी बुढेसकालमा भनेर पनि सोचेन । मेरा भाइ छोरा नै टोले हुन् । मिलेका छन् । द्रव्य पिशाचहरु !’ उनी आक्रोश पोख्छिन् ।
(()) (()) (()) (()) (())
संस्थाको नाम त समाज कल्याण राख्नुभयो, समाजको कल्याण कत्तिको गरिरहेको छ ?
जनमानसमा नै देखिने गरी संस्थाले कुनै परिवर्तन ल्याएको छैन । तर, महिला उत्थानमा भने ठूलो भूमिका निर्वाह गरेको छ । महिलाहरुको जीवनस्तर उकास्न सहयोग गरेको छ ।
डिल्लीबजारका महिला कैदीबन्दीहरुलाई पढ्न सहयोग गरेकी छु । म त्यहाँ हरेक हप्ता जान्छु, सिकाउँछु ।
गोकर्णेश्वरको ग्राम सुधार आधारभूत विद्यालयलाई २०५९ सालदेखि सहयोग गर्दै आएकी छु । बन्द हुने अवस्थामा थियो त्यो स्कूल । शिक्षक थिएनन् । बालबालिकाहरु दिनभर सडकमा हुन्थे । सबै अशिक्षित । बाउ आमा सबै काम गर्ने, भट्टीमा जाने, पैसा सिध्याउने । खानका लागि ऋण खोज्नुपर्ने । ऋण दिनेले जति दियो त्यसको पछाडि शुन्य थपिदिने चलन रैछ त्यो ठाउँमा । शिक्षाको ज्योति छरेर त्यही शुन्य थपेको देखाइदिन्छु भनेर विद्यालय चालु गरेकी हुँ । सरकारले दुई चार जना शिक्षकशिक्षिका दिएको छ, बाँकी हामी आफैँले थपेका छौँ ।
अहिले सबै साक्षर भए, निकै खुशी लाग्छ । ५९ सालदेखि अहिलेसम्म नै त्यहाँको व्यवस्थापन समितिको अध्यक्ष छु । गत वर्ष नै समय सकिएको थियो । ‘छोड्छु, अब काम गर्ने अवस्था छैन’ भनेकी थिएँ । स्कुलले मानेन । ‘मेचमा बसेर मात्रै भएपनि काम गरिदिनुस्’ भन्यो । विद्यालयले नै त्यस्तो भन्दा भन्दै कसरी छोड्नु ? बालबच्चाको भविष्य पनि त हेर्नुपर्यो ।
मैँले सकेजति सबै क्षेत्रमा सहयोग गरेकी छु ।
सानोमा सोच्नुभएको थियो समाज सेवा गर्छु भन्ने ? के थिए सपना ? कसरी जान्नुभयो सिलाई, बुनाई ?
त्यो जमानामा महिलाले के सोच्नु ? महिलाको पनि जीवन थियो र ? सपनै देख्न पाइनँ । सानै उमेरमा विवाह गरिदिए । बुहारी भएपछि घरधन्दामै ठिक्क । मेरो सानैदेखि सिलाई बुनाईमा रुची थियो । एउटा जापानीसँग एक हप्तामा काम सिकेकी हुँ ।
छोरीले त सपोर्ट गर्नुहुन्छ होला नि ? भेट हुन्छ ?
उही हो मेरो सहारा । अष्ट्रेलियामा छिन्, फोन गर्छिन् कहिलेकाहीँ । छोरीले उतै बस्न आग्रह गरेकी थिइन् । नेपालीकै सेवा गर्छु भनेर आएकी ।
यूएनले लाख रुपैयाँ तलब दिन्छु महिनाको आइज भन्दा पनि गइनँ म । पैसा मात्रै सबैथोक होइन नि ! एक गाँस खान र एक जोर लाउन पाए भयो । आफ्नो सीप नेपालमै समर्पित गर्छु ।
त्यस बेलाको मुलुक र अहिलेको मुलुकमा के परिवर्तन पाउनुहुन्छ ?
केही परिवर्तन देख्दिन म । देश अगाडी बढेकै छैन । हाम्रो नेतृत्वहरुले जिम्मेवारी लिन सकेकै छैनन् । अवस्था देखेर आँखाबाट आँशु आउँछ । खोइ कर्णालीका जनताले पेटभरी खान पाएका ? म त देश बनेको हैन खस्केको मात्रै देख्छु ।
राजनीतिज्ञहरु त हाम्रा कामदार हुन् । हामीले काम गर्नका लागि नेतृत्वमा पुर्याएका हौँ नि ! उनीहरुले हाम्रो अगाडी शिर झुकाउनुपर्छ । उनीहरुलाई भगवान मान्न जाने हामी नेपाली कति मुर्ख ?
अहिले वाक स्वतन्त्रता मात्रै भएर के भएको छ त ? झन् अनैतिक क्रियाकलाप बढेको छ । म राजासँग त नडराउने मान्छे । अहिले के डराउनु ? म त कहीँ भेट भयो कि झम्टी हाल्छु, जनप्रतिनिधिसँग । हिजोआज त कहीँ पनि बोलाउँदैनन्, आनन्दै ।
वृद्धवृद्धाहरुका लागि त सरकारले सेवा सुविधा थपिरहेकै छ नि, केही परिवर्तन आएन भन्न मिल्छ र ?
खै के परिवर्तन आएको छ ? के सुविधा छ ?
म एक पटक समाज कल्याण परिषद्मा जाँदा ८० वर्ष पुगेकालाई ५ हजार वृद्धभत्ता गर्न लागेका छौँ भनेर सरकारी अफिसरले भने । ‘तपाईँहरुले त्यो ठिक गर्नुभएन । ८० वर्ष पुग्या मान्छे, हिँडडुल गर्न सक्छ ? किनेर खान सक्ला ? त्यो पैसा के काम ? अरुले खाइदिन्छन् । उसलाई त सेवा पो चाहिन्छ । तपाईँले दिएको पाँच हजार केही काम छैन’ मैँले भनिदिएँ ।
मेरै उमेरका ज्येष्ठ नागरिकहरु कुन्ठित भएर बस्नुपरेको छ । केही गर्न सक्दैनन् । छोरा बुहारीले दिए खान्छन् नत्र त भोकै । त्यही त हो नि हाम्रो सामाजिक परिवेश । यही हो त परिवर्तन ? सरकारले भत्ता होइन वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा बढाउनुपर्छ ।
अबको योजना के छ ? कति वर्षपछि आराम गर्ने सोच्नुभएको छ ?
मेरो शरीरले साथ दिउन्जेल काम गर्छु । आराम गर्ने सोचै छैन । मात्र भगवानसँग एउटै प्रार्थना छ– ‘गर्दा गर्दै लगिदेऊ खत्रक्कै !’