ग्राण्डी अस्पताल पुगेका नेताले किन भेट्न पाएनन् प्रधानमन्त्री ?

कार्तिक १४, काठमाडौं । नियमित स्वास्थ्य जाँचका लागि धापासीस्थिति ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको दोस्रो डायलासिस जारी रहेको स्रोतले बताएको छ ।   

उनको आइसियुमा उपचार हुँदैछ । प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिन बिहीबार मध्यान्ह् ग्राण्डी अस्पताल पुगेका सत्तारुढ नेकपाका नेताहरुले उनलाई भेट्न पाएनन् ।   

बिहीबार बिहान उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीलाई भेटेका थिए । दिउँसो ग्राण्डी अस्पताल पुगेका नेता भीम रावल र प्रवक्ता नारायणकाजी श्रेष्ठले भने भेट्न पाएनन् ।   

उपचार जारी रहेका कारण प्रधानमन्त्रीसँग भेटघाट गर्न नपाएको प्रवक्ता श्रेष्ठले बताए । त्यहाँस्थित सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपचारमा भएका कारण भेट नभएको तर चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्यबारे जानकारी लिएको प्रतिक्रिया दिएका छन् ।   

उनका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य छ, उनी पूर्ण रुपमा स्वस्थ छन् । भीम रावलले पनि डायलासिस जारी रहेका कारण भेट्न नपाएको प्रतिक्रिया दिए । डायलासिस पछि उनको अवस्था हेरी डिस्चार्ज हुने या अस्पतालमै रहने तय हुने उनको भनाइ छ ।   

यद्यपी प्रधानमन्त्रीको प्रेस सल्लाहाकार कुन्दन अर्यालले भने आजै डिस्चार्ज हुने बताइरहेका छन् ।   

प्रधानमन्त्री ओली भाइटिका देखि नै अस्वस्थ थिए । उनी तिहारमा आयोजित सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रममा प्रधानमन्त्री उपस्थित भएका थिए । दौडधुप बढी भएका कारण शरीरको तापक्रम पनि बढेको स्रोतको भनाइ थियो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *