उपनिर्वाचनमा धरानको मेयरमा कांग्रेसबाट तिलक राई, पार लगाउलान् त कांग्रेसलाई !
असोज २४, धरान । स्थानीय निकायको निर्वाचनमा पराजीत उम्मेद्वारलाई नै उपनिर्वाचनको उम्मेद्वार बनाउने नेपाली कांग्रेस धरानले निर्णय गरेको छ । आज शुक्रबार बसेको पार्टीको धरान उपमहानगर कमिटिको पूर्ण बैठकले ०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेका तारा सुब्बासँग पराजीत उम्मेद्वार तिलक राईलाई नै पुनः उम्मेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।
आगामी मंसिर १४ गते धरानमा हुन लागेको उपनिर्वाचनमा मेयर पदको लागि नेपाली कांग्रेसले तिलक राईलाई पुनः उम्मेदवार बनाउने भएपछी नेकपालाई बलियो उम्मेद्वार छान्न समेत सकस परेको छ ।
तिलक राई स्थानीय निकायको निर्वाचनमा स्वर्गिय तारा सुब्बासँग ४७७३ मतले पराजित भएका थिए । स्व. सुब्बाले २०९७५ मत ल्याउँदा राईले १६२०२ मत हासिल गरेका थिए । कांग्रेस धरान उपमहानगर सभापति समेत रहेका तिलक राई किरात राई यायोक्खामा समेत आबद्ध छन् ।
यसअघि, मेयरको उम्मेद्वारमा कांग्रेस जिल्ला सचिव तथा प्रवक्ता सुजेन्द्र तामाङ र महाधिवेशन प्रतिनिधि पर्वत राईको नाम चर्चामा थियो । सुजेन्द्र तामाङले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा खाँदै खाएको अधिकृतको जागिरबाट राजिनामा दिएरै उम्मेद्वारी सार्वजनिक गरेका थिए ।
तर, पार्टी भित्र मेयरको प्रतिष्पर्धामा उठ्ने आकांक्षी धेरै भएपछि पार्टीले निरन्तरको छलफल गर्दै आज उम्मेद्वार सर्वसम्मत गरेको हो । अब नगरको निर्णय क्षेत्रीय समिति, जिल्ला समिति हुदै केन्द्रीय समितिमा पुग्नेछ । केन्द्रीय समितिले नै सर्वसम्मत उम्मेदवारको नाम पठाउन निर्देशन दिएको छ ।
पछिल्लो समय सत्तारुढ नेकपाको कार्यशैलीले जनतामा निराशा जमाईरहेको बेला उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्नो पकड जमाउने देखिएको छ । तथापि, धरानमा अहिलेसम्म नेपाली कांग्रेसले चारतारे झण्डा गाड्न नसकिरहेको अवस्थामा उपनिर्वाचनमा तिलक राईले कांग्रेसलाई पार लगाउनेमा शंका पनि छ ।
नेपाली कांग्रेस धरान भित्र आन्तरिक रुपमा किचलो छ । खासगरी निवर्तमान धरान उपमहानगर सभापति किशोर राई र तिलक राई विचको टकरावले कांग्रेसलाई कमजोर बनाएको स्वयं कांग्रेसीहरुले भनिरहँदा उपनिर्वाचनमा कांग्रेस उदाउन गाह्रो भएपनि असंभव भने छैन ।